|

विराटनगर : प्रहरीले आइतबार विराटनगरबाट ७ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एकजना भारतीय मुलका नागरिक छन्। विराटनगर-१४ ओमसाइराम टोल बस्ने ३० वर्षीय ज्योतिकुमार साह र भारत अररिया १७ जोगवनी साँहुटोल बस्ने १९ वर्षीय विक्कीकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले ३९ प ७३९६ नं. को मोटरसाइकल प्रयोग हुण्डीको रकम गन्तब्यमा पुर्‍याउने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी राजकुमार खिउँजुले जानकारी दिए। प्रहरीले ज्योतीकुमारको साथबाट चार लाख र सोही मोटरसाइकलमा सवार रहेका विक्की कुमारको साथबाट तीन लाख रुपैयाँ बरामद गरेको थियो।

‘पक्राउ परेका दुवै जना भरिया रहेको खुलेको छ,’ डिएसपी खिजउँ भने, ‘हुण्डीमा प्रयोग भएको भएको रकम जोगवनीमा लिएर विराटनगर आउने क्रममा पक्राउ परेका हुन्।’ उनीहरूले सम्बन्धित ठाउँमा हुण्डीको रकम पुर्‍याएबापत प्रति व्यक्ति १ लाखको एक सय रुपैयाँ पाउने गरेको बयानको क्रममा प्रहरीलाई बताएका छन्।

मोरङ प्रहरीले यसअघि असोज २७ गते १० लाख रुपैयाँसहित अवैध हुण्डीको कारोबार गर्ने सुनसरी बर्जु गाउँपालिका-३ का २४ वर्षीय उमाकान्त रायलाई पक्राउ गरेको थियो। उनी विराटनगरस्थित गणपती मनि ट्रान्सफरको आडमा हुण्डीको कारोबार गर्ने गरेको प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको थियो। उनी उक्त मनि ट्रान्सफरका लेखा फाटमा कार्यरत थिए।

विराटनगरमा सहकारीको आडमा हुने गरेको हुण्डीको कारोबार यो घटनाले मनि ट्रान्सफरबाट हुने गरेको देखियो। मनि ट्रान्सफरको आडमा हुण्डीको कारोबार गर्ने उमाकान्तलाई पक्राउ गरेको एक हप्तापछि मोरङ प्रहरीले विराटनगर-७ बाट हुण्डीको कारोबार गर्ने अर्का विराटनगरका ४९ वर्षीय विनोदप्रसाद साहलाई ७ लाख १८ हजार ८ सय रुपैयाँसहित पक्राउ गर्‍यो।

प्रहरीले उनलाई कात्तिक ३ गते हुण्डी कारोबारको पैसाँसहित पक्राउ गरेको थियो। सोही दिन विराटनगर भन्सार कार्यालयको २ नं. ढाटबाट नेपालतर्फ पैदल आउँदै गरेको भारती माधुगढजालौन उमरी उत्तर प्रदेशका २४ वर्षीय आसुतोष सोनीलाई पनि भारु २ लाखसहित हुण्डी कारोबारमा प्रयोग भएको रकमसहित पक्राउ परेका थिए। 

उल्लेखित घटनाले प्रदेश १ को राधजानी रहेको शहर विराटनगरमा अवैध हुण्डीको कारोबार फस्टाएको देखाउँछ। हुण्डीको पैसाँ बोकेर सम्बन्धित ठाउँमा पुर्‍याउने भरियालाई मात्र पक्राउ गरिरहदा अवैध हुण्डीको कारोबार गर्ने मुख्य नाइकेलाई प्रहरीले पक्राउ गर्न नसक्दा महानगर क्षेत्रमा हुण्डि कारोवार सक्रिय रहेको उल्लेखित घटनाले पनि पुष्टि गरेको छ ।

अवैध धन्दा हुण्डीको कारोबार गर्ने गिरोहरूले १ लाख रुपैयाँ पठाउँदा ३ हजारदेखी ५ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको प्रहरीका अनुसन्धान अधिकारीहरू बताउँछन्। मनि ट्रान्सफरबाट अहिले ५० हजारभन्दा बढी पठाउन नपाउने र बैंकबाट १० लाख भन्दा बढी पैसाँ पठाउँदा पैसाँको स्रोत देखाउनुपर्ने भएकोले अवैध धन्दा गर्नेहरू हुण्डीको प्रयोग गर्दछन्।

हुण्डीबाट कारोबार गर्दा स्रोत देखाउन नपर्ने राजस्वसमेत छली गर्ने भएकोले विराटनगरमा ठूलो संख्यामा हुण्डीको कारोबार हुने गरेको  प्रहरीको भनाई छ। हुण्डीको कारोबार गर्नेको नेटवर्क अन्तर्राष्ट्रिय स्तरसम्म कनेक्सन हुने गरेको छ।

प्रहरीले हुण्डी कारोबार संलग्न भरियालाई मात्र पक्राउ गर्दै आएको छ। ‘हुण्डीमा संलग्न गिरोहको कनेक्सन यस्तो पकट हुन्छ । भरियाले हुण्डीको कारोबार गर्नेसँग मुख्य मान्छेसँग चिनजान हुन सक्दैन,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘त्यही भएर पनि पक्राउ गर्न सकि रहेका छइनौँ।’

मोरङ प्रहरीले चालु आर्थिक वर्षको एक महिनामा २७ लाख  ३८ हजार ८ सय रुपैयाँसहित पाँचजना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ। गत असोज २७ देखि कार्तिक २२ गते एक महिनाको अवधिमा २ जना भारतीय मुलका नागरिकसहित पाँच जना हुण्डी कारोबारीलाई पक्राउ गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.