|

काठमाडौं :  भाव तरंग कुन बेला चल्छ कसैलाई थाहा हुने कुरा पनि होइन। गजलकार तथा गीतकार भुपेन्द्र महत एकपटक  अमेरिकामा एनए भन्ने कार्यक्रममा पुगेका थिए।  त्यो यात्रामा उनले आफूले भोगी आएको जिन्दगीबारे समीक्षा गरे।

कहाँ पुग्नुपर्ने, कहाँ आइएछ? के गर्नुपर्ने थियो जिन्दगीमा के गरिँदै छ? दिलमा एउटा निधारमा अर्कै। जिन्दगी रंगीन बनाउने सपना देख्दादेख्दै बेरङ जिन्दगीसँग उठबसको शिलशिला। नियतिको लेखाबाट कुनै छुटकारा पाउन सकिँदैन रहेछ। 

एउटा जिन्दगी। हजारौं उल्झन। यी नै उल्झनहरूलाई शब्दका माध्यमले जोडेर महतले लेखे, 

 जिन्दगीले हिसाब माग्छ। घटाऊँ भने तिमीलाई

बन्धकीमा छ यो मुटु अटाऊँ भने तिमीलाई। 

उनी गम्छन्, ' सायद यो मैले सन् २०१० तिर लेखेको हुनुपर्छ।'

यो गजलले आफ्नो गजल लेखनमा झन् उत्प्रेरणा दिएको महतले बताउँछन्। लेखन लत हो कि जस्तो लाग्छ। कहिलेकाँही रहर हो कि जस्तो पनि लाग्छ उनलाई। 

लेखनमा प्रेरित चाहिँ राष्ट्रकवि माधवप्रसाद घिमिरेकी छोरी मञ्जु अधिकारीले गरेकी थिइन्। उनी विश्व निकेतनमा पढ्दा अधिकारी नेपाली पढाउँदा अलिक रोचक तरिकाले पढाउथिन्। साहित्यमा रस र अध्ययनको अभिरुचि त्यही क्लासबाट भएको हो उनको। अभ्यास पनि त्यहीँबाट सुरु भएको उनको। 

उनी उच्च शिक्षा पढ्न थाले। त्यसबेला नाटक पनि लेखेर मञ्चन गरे उनले। 'निर्मित खाडल', 'पाप क्यासेटबाट कराउँछ' नाटक मञ्चन गरे। त्यसपश्चात् उनी नेपाली सेनामा भर्ती भए। 

सेनामा समयको अभावले उनको लेखन सुस्त हुँदै गयो। तर, जिन्दगीले मोड लियो। उनी अमेरिका हानिए। सन् २००१ मा। उनको पहिलो एल्बम अभिप्सा सार्वजनिक गरे।  जहाँ दुई गजल र दश गीत समावेश थिए। यो कुरा सन्  २००५ को हो। 

उनको सुरुवाती यात्रा गीत लेखनमा थियो। तर गजलले चिनिए। उनले कैयौं गायकसँग सहकार्य गरे। तर 'जिन्दगीले हिसाब माग्छ' भन्ने गजलले उनलाई गीतकारको रूपमा परिचित गरायो। 

सन् २०१०मा भृकुटीमण्डपमा पुस्तक मेला थियो। उनी त्यहाँ आएका थिए। त्यहाँका केही स्रष्टाले उनलाई गजलसंग्रह निकाल्न हौसला दिए। उनले 'अलिकति जून देऊ' गजल संग्रह विमोचन गर्ने सोच बनाए। 

अघिल्लो दिन संगीतकार दीपक जंगमसँग रेडियो कान्तिपुरमा  भेट भयो। महतले जंगमलाई आफ्नो गजल कार्यक्रमको निम्तासँगै आफ्ना केही गजल थमाइदिए। केही थान गजल बोकेर जंगम आफ्नो बाटो लागे। भोलिपल्ट जंगम महतको गजल विमोचनमा पुगे। 'दीपक सर मेरो गजल विमोचनमा आउनुभएको थियो। यसको मतलव मेरा गजल उहाँलाई मन परेछ। मैले अडकल लगाएँ।' उनले ती दिन सम्झिए। 

विमोचनमा जंगमले महतका गीतसँग सहकार्य गर्ने उद्घोष गरिदिए। उक्त गजल संग्रहभित्रको 'जिन्दगीले..... संगीत गर्ने काम जंगमले गरे। स्वर अजर जंगमले गरे। त्यस गजल एल्बममा ४ वटा गजल र २ गीत थिए। 

यो एल्बममा रहेको उक्त गीतले अजर र महतको सहकार्य दर्शकले मन पराएपछि दुवैजनाले 'आकाश मिचिएको शहर' सार्वजनिक गरे। जसमा ५ वटा गजल समावेश छन्। उनले नेपालका चर्चित गायकहरूसँग सहकार्य गरेका छन्। हालसम्म  पाँचवटा एल्बम गरिसकेका महतले सोलो गीतको गणना गर्न छोडेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.