काठमाडौं जान मानेनन्, हेलिकोप्टर रित्तै फर्कियो

|

डडेल्धुरा :  डडेल्धुरा अस्पतालले आइताबार बेलुकी अनशनरत प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै विज्ञप्ति जारी गर्‍यो। उक्त विज्ञप्तिमा केसीको स्वास्थ्य बिग्रिएपछि थप उपचारका लागि स्थानान्तरण गर्न भनिएको थियो। 

आठ दिनदेखि डडेल्धुरामा डा. केसी अनशन बसिरहेका छन्। निजी घरबाट डडेल्धुरा अस्पताल सारिएका डा. केसीको ब्लड प्रेसर घट्न लागेको, मुटुको चालमा वृद्धि भई समस्या देखिएको, रगतमा अक्सिजनको मात्रा घटेको, मिर्गौलामा समस्या देखिएको अस्पतालले जनायो। 

शारीरिक अवस्था बिग्रिँदै गएको जनाउँदै अस्पतालले भौतिक सुविधा नभएको जनाउँदै स्थानान्तरण गर्न आवश्यक भएको बतायो।

‘अस्पतालमा थप उपचारका लागि आवश्यक पर्ने आइसियू सेवा, एबिजी सेवा, दक्ष जनशक्ति उपलब्ध नभएकाले केसीको स्वास्थ्य स्थितिको गाम्भीर्यतालाई मध्यनजर गरि सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक देखिएको छ’ अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख थियो। केसीको स्वास्थ्य जटिल बन्दै गएकाले अस्पतालले क्षमताभन्दा बाहिर गएको परिस्थितिलाई व्यवस्थापन गर्न नसक्ने जनायो। 

बिहानै आयोे हेलिकोप्टर

केसीको स्वास्थ्य अवस्था बिग्रिएकाले सुविधासम्पन्न ठाउँमा लैजान भनेपछि जिल्ला प्रशासन कार्यलयले सेनाको हेलिकोप्टर पठाइदिन भन्दै गृह मन्त्रालयमा अनुरोध गरेको थियो।

प्रशासनको अनुरोधलाई स्वीकार गर्दै गृहले सोमबार बिहान नेपाली सेनाको एनए ०५५ हेलिकोप्टर डडेल्धुरा आयो। बिहान ८ बजेपछि अमरगढी नगरपालिका–१ दहमा रहेको नेपाली सेनाको रणबम गण ब्यारेकमा आइपुग्यो। हेलिकोप्टर सुर्खेतबाट यहाँ आएको थियो।

हेलिकोप्टर डडेल्धुरा पुगेसँगै प्रहरी प्रशासनले डा.केसीलाई लन बल प्रयोग गर्न खोज्यो। तर त्यो प्रयास असफल भयो। डा.केसीले काठमाडौं जान मानेनन्। 

प्रधानमन्त्रीलाई भने गुण्डा 

आफूले अघि सारेका माग पूरा नभएसम्म डडेल्धुराबाट अन्यत्र नजाने अडान केसीको छ। सोमबार बिहान प्रहरी प्रशासनले बल प्रयोग गरेर काठमाडौं लैजाने प्रयास गरेपछि केसीले प्रहरी–प्रशासनको ‘गुन्डागर्दी चल्दैन’ भन्ने अभिव्यक्ति दिएका हुन्।

‘म ठीक छु। यहाँ प्रहरी प्रशानको गुन्डागर्दी चल्दैन। र ओलीको पनि गुन्डागर्दी चल्दैन यहाँ,’ उनले भने,‘प्रहरी जनताको सेवक हुनुपर्नेमा ओलीको सेवक?’

‘म यहाँबाट जाँदै जान्न। यहाँका जनताले मेरो उपचार गर्नुपर्छ भनेपछि मात्रै जान्छु होला नत्र म जाँदैजाँदैन।’ अनशनरत केसीले थपे,‘मलाई अप्ठ्यारो भएपछि त म भनिहाल्छु नि लैजानु भनेर।’

चक्काजाम 

हेलिकोप्टरबाट केसीलाई काठमाडौँ लगिने खबर केसीका समर्थकहरुले पाएसँगै डडेल्धुरामा बिहानै चक्काजाम गरे। बिहान ८ बजेपछिदेखि १२ बजेसम्म यातायात ठप्प पारियो। 

डडेल्धुरा अस्पतालदेखि करिब तीन सय मिटर यता तुफानडाँड चोकमा टायर बालेर चक्काजाम गरिएको थियो। बन्दका कारण डडेल्धुरा भएर तराइ जाने र बैतडी, दार्चुला, बझाङ जाने यात्रुहरु मारमा परे। लगभग चार घण्टाको चक्काजाम पछि यातायात संचालनमा आयो।

केसीले नमानेपछि सर्वदलीय बैठक

अनशनरत डा.केसीले काठमाडौं जान नमानेपछि प्रमुख जिल्ला अधिकारी राजप्रसाद पौडलेले सर्वदलीय सर्वपक्षिय बैठक आह्वान गरे। दिउँसो जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा सर्वदलीय सर्वपक्षिय बैठक बस्यो।

यहाँका जनप्रतिनिधि, जिल्ला स्थित राजनीतिक दलका प्रमुख, नागरिक समाज, सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य संघ, पत्रकार महासंघलगायको उपस्थितिमा बैठक बस्यो। डा केसीको समर्थकको विरोध पछि प्रमुख जिल्ला अधिकारी पौडेलले सर्वपक्षीय बैठक समेत राखेका हुन्।

प्रहरी जिल्ला अधिकारी पौडेलले बैठकको सुरुमा केसीलाई लिनको लागि हेलिकोप्टर जिल्लामा आएको जानकारी गराए। त्यसपछि बैठकमा सहभागि प्रतिनिधिहरुलाई केसीलाई काठमाडौँ लैजाने नलैजाने विषयमा धारण राख्न भने। पालैपालो सबैले धारण राखे।

जिल्ला प्रशासन कार्यालयको पहलमा बोलाइएको सर्वपक्षीय बैठकले ‘डा.केसीलाई इच्छाविपरीत लान मिल्दैन’ भन्दै उनको माग सम्बोधनका लागि सबैले पहल गर्नुपर्ने निष्कर्ष निकाल्यो। 

सरकारले आठ दिन हुँदा समेत कुनै प्रतिक्रिया नजाएकोमा बैठकमा सहभागीले आक्रोश पोखे। उनीहरुले केसीका माग तत्काल सम्बोधन गर्न सरकारले अग्रसर हुनुपर्छ धारण राखेका थिए।

मुख्यमन्त्रीको फोन 

मुख्यमन्त्री त्रिलोचन भट्टले फोनमार्फत् सर्वदलीय बैठकमा सम्बोधन गरे। उनले केसीले उठाएका मागप्रति आफू सकारात्कम रहेको बताए। 

केसीको स्वास्थय सबैभन्दा मुख्य कुरा भएकाले सहज वातावरणमा उनलाई काठमाडौं पठाउनमा सहयोग गरिदिन सर्वदलीय बैठकमा गरे। उनले उठाएका माग सम्बोधनका लागि प्रदेश सरकारले पहल गरिरहेको समेत उनले बताए। 

‘डा. केसीले सुदूरपश्चिका समेत मागहरु उठाएका छन्। उहाँका मागहरु सकारात्मक छन्,’ मुख्यमन्त्रीले भने, ‘उहाँका मागहरु सम्बोधनका लागि सम्बन्धित मन्त्रालय, प्रधानमन्त्रीज्यूसँग पनि कुरा गर्नेछु।’

हेलिकोप्टर रित्तै फर्कियो

अनशनरत केसीलाई लिन डडेल्धुरा आइपुगेको नेपाली सेनाको हेलिकोप्टर रित्तै फर्कियो। स्वास्थ्यमा समस्या र अस्पतालमा उपचार सामग्री नभएको अस्पतालले जनाएपछि काठमाडौं लैजाने तयारी गरिएको थियो। त्यसका लागि आज बिहान सेनाको हेलिकोप्टर डडेल्धुरा पुगेको थियो। 

आठ दिनदेखि डडेल्धुरामा आमरण अनशनरत डा गोविन्द केसीलाई सुविधासम्पन्न अस्पताल पठाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुराले गरेको पहल विफल भयो। डा.केसीलाई काठमाडौं लैजाने सरकारको प्रयास पनि सफल हुन सकेन। 

भिडियो

डा. केसीलाई मनाउन डडेल्धुराका प्रमुख जिल्ला अधिकारीले प्रयास गरेका थिए। तर, डा केसीले उनलाई समेत भेट्न मानेनन्।

डा.केसीको जीवनरक्षाका लागि आफूले सुविधासम्मन्न अस्पतालमा लैजान प्रयास गरे पनि उनका समर्थक नमानेपछि सेनाको हेलिकोप्टर फिर्ता पठाइएको प्रजिअ पौडेलले बताए। गृह मन्त्रालयबाट निर्देशन आएपछि हेलिकोप्टर फर्किएको हो।

कात्तिक १८ गतेदेखि डडेल्धुरा अस्पताल नजिकै निजी घरमा अनसन बसेका डा. केसीको स्वास्थ्यमा समस्या देखिन थालेपछि पाँचौ दिनमा उनलाई डडेल्धुरा अस्पताल लगिएको थियो। सोमबार आठौं दिन पनि केसीले अस्पतालमै अनशन जारी राखेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.