|

पर्वत : कुस्मा नगरपालिका–११ शिल्मीका मनिलाल पौडेल पेशाले शिक्षक हुन्। तर, बाँसबाट विभिन्न सामग्री निर्माण गर्न सिपालु मनिलालले बनाएका सामग्रीहरू बजारमा बढ्दै गएपछि उनी शिक्षकभन्दा पनि ‘बेम्बो म्यान’का रूपमा परिचित भएका छन्।

स्थानीय विश्वज्योति माध्यमिक विद्यालयको प्राथमिक तहको राहत दरबन्दीमा १० वर्षदेखि शिक्षणमा आवद्ध मनिलाल बिहान र बेलुका बाँसका सामग्री निर्माणमा जुट्छन्। उनले २२ वर्षदेखि बाँसबाट कलम, टुथ पिन राख्ने बक्स, टिस्यु पेपर राख्ने बक्स, कलम दानी, फूलदानी, बाँस र नेपाली कागजबाट बनाइएको डायरी, चिया पिउने कप, सालको पातबाट बनाइएका टोपी र इस्टकोट लगायतका बस्तु बनाउँदै आएका छन्। काम नलाग्ने भनी फालिएका बाँस र निगालोबाट बनाइएका सामग्रीहरू आकर्षक पनि छन्। 

विदेशी वस्तुको प्रयोगलाई कम गर्दै लैजान सके स्वदेशी उत्पादनले ठाउँ पाउने मनिलाल बताउँछन्। उनी भेटेकाहरूलाई स्वदेशमा भएर पनि विदेबाट आयात गरिएका वस्तुहरू प्रयोग नगर्न सुझाव दिन्छन्। ‘विदेशी वस्तुको प्रयोग गरेमा ठूलो भइने हो र?’ उनी भन्छन्, ‘मैले बाँसबाट बनाएका डटपेनले लेख्छ, कपमा चिया पिउन मिल्छ, कलमदानीमा कलम राख्न मिल्छ। अनि चाहियो त विदेशी सामान?’ 

शारीरिक रूपमा अपाङ्गता भएका उनले बाँस काट्न, टल्काउन, जोड्न आफूले नै विभिन्न काठहरू जोडेर स्थानीय मसिन पनि बनाएका छन्। अपाङ्गता भएका कारण घरका ठूला काम गर्न नसक्ने भएकाले विद्यालयमा दिनेबाहेकको समय बाँसकै सामग्री निर्माणमा खर्च गर्ने गरेको उनले बताए।

१५ वर्षको हुँदा नै देब्रे खुट्टामा लागेको ‘बोन ट्युबरक्लोसिस’का कारण शल्यक्रिया गर्दा खुट्टा छोटो भएकाले सामान्य मान्छे जस्तै हिँड्न सक्दैनन्। तर, कार्यक्रमहरू आयोजना भएका ठाउँमा सम्भव भएसम्म हिँडेर वा सवारीमा चढेर पनि उनी पुग्ने गरेका छन्। आफू जान सम्भव भएसम्म जिल्लामा हुने विभिन्न मेला महोत्सवहरुमा पनि मनिलाल पुग्छन्। कार्यक्रममा हेर्नका लागि आएका दर्शकहरूलाई आफ्ना उत्पादनबारेमा जानकारी गराउँछन्। अतिथिहरूलाई बाँसबाट निर्माण गरिएका सामग्री मायाको चिनोका रूपमा प्रदान गर्छन्।

मनिलालले बनाएका सामग्रीहरू बेच्ने टाढाका बजार काठमाडौं र पोखरा हुन्। स्थानीय रूपमा भने सदरमुकाम कुस्मा, छिमेकी जिल्लाहरू बाग्लुङ र म्याग्दीमा पनि निर्यात हुने गरेको उनले बताए। ‘विशेष गरी मेरा प्रोडक्टहरु विदेशीहरूले मन पराएको भनेर काठमाडौंको ठमेल र पोखराको लेक साइडबाट फोन आउने गरेको छ,’ उनले भने, ‘धेरै सामग्रीहरू पनि त्यतै जाने गरेका छन्।’ 

हातबाटै बनाइएका कारण ती सामग्रीको मूल्य बजारमा चलेका सामानभन्दा केही महँगो पर्ने र त्यसमा पनि पसलेहरूले धेरै नाफा राखेर बेच्दा ग्राहकरुले महँगो भएको गुनासो गर्ने गरेको उनले सुनाए। मनिलालले घरबाटै १५० रुपैयाँमा बिक्री गर्ने बाँसको कलमलाई पोखराको लेक साइडमा ५०० रुपैयाँसम्म पर्ने गरेको छ। आफ्ना उत्पादनलाई प्रवर्द्धन गर्नकै लागि जसोतसो जिल्लाका सरकारी कार्यालयहरू धाएको भए पनि सरकारी पक्षबाट कुनै सहयोग नपाएको उनले गुनासो गरे।

मनिलालले बाँसका सामग्रीहरू बिक्री गरेर महिनामा सरदर ३० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन्। सामानहरू बनाउन निकै मिहिनेत र सीप आवश्यक पर्ने भएकाले मिहिनतको तुलनामा त्यो आम्दानी भने केही पनि नहुने उनको भनाइ छ। यद्यपि, आफूलाई ‘बेम्बु म्यान’ का रूपमा परिचित गराउन पाउँदा उनी खुसी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.