|

विराटनगर : किरात समुदायमा समाज सुधारको अभियान सुरु गर्ने नेपालका १६ औं राष्ट्रिय विभूति किरात धर्मगुरु फाल्गुनन्द लिङ्देनको १३५ औं जन्मजयन्ती सोमबार मोरङको मिक्लाजुङ–३ को टाँढीमा एक भव्य कार्यक्रम गरी मनाइएको छ।  

वि.सं. १९८८ वैशाखमा लिङ्देनले जारी गरेको सात बुँदे समाज सुधारको मुचुल्का आज पनि उत्तिकै सान्दर्भिक छ। त्यति मात्रै होइन छोरीलाई पनि अंश दिनुपर्ने जस्ता त्यसबेलाका समाज सुधार आन्दोलनको सान्दर्भिकता एक शताब्दी वितिसक्दा पनि अझै पूरा हुन सकेको छैन।

सत्य, दया, शान्ति र अहिंसा सिद्धान्त बोकेका फाल्गुनन्दले विश्व शान्ति र मानव एकताका लागि दिएको शिक्षा आज पनि मननीय रहेको समाजका अगुवाहरुको भनाइ छ। कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले छोरा सरह छोरीलाई पनि अंश दिनुपर्ने, विद्यालयको स्थापना गर्नुपर्ने, हिंसारहित समाज निर्माण गर्नुपर्ने फाल्गुनन्दको अभियानले समाजलाई सकारात्मक दिशामा अगाडि बढाउन प्रेरित गरेको बताए।

विश्वमा हतियारको दम्भ देखाउनेहरु पनि अहिले विश्व शान्तिको चाहनाले पछाडि हट्न बाध्य भएको बताउँदै मुख्यमन्त्री राईले किरात धर्मगुरु फाल्गुनन्दले दिएको दर्शन अहिले पनि महत्वपूर्ण भएको बताए। 

फाल्गुनन्दको जीवनसँग विभिन्न समयमा गाँसिएका महत्वपूर्ण ठाउँहरु चुक्चीनम्बा, ज्ञानभूमि फुलुङ्गी, कर्मभूमि सिलौती लोब्रे र तिर्थभूमि फक्तालुङलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने राईले जानकारी दिए। कार्यक्रममा सहभागी प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले पनि धर्मगुरु लिङ्देनसँग जोडिएका सबै क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिएको जानकारी दिए। 

सीमामा हिंसा हुने धर्मगुरुलाई चिन्ता

कार्यक्रममा बोल्दै किरात धर्मगुरु आत्मनन्द लिङ्दनले नेपाल भारत सीमा विवादका कारण हिंसा हुने हो कि भन्दै अहिंसाको मार्गमा अघि बढ्न किरात धर्मले प्रेरित गर्ने बताए। ‘सीमातिर हिंसा होला जस्तो छ। नेपालमा क्रान्ति नहोस् युद्ध नहोस्। हाम्रो भित्री आत्माले के भन्छ भने सानो मुलुकले पनि सम्भावनाहरु जन्माउँछ। झन्झनै हिंसा हुने हो कि भन्ने कुराले मलाइ डर लागेको छ। एकताको मालामा उनिएर देश बनाऔं,’ धर्मगुरु लिङ्देनले भने, ‘मोदीजीको आत्मामा पनि हाङ (ईश्वर) पसोस् भन्ने कामना गर्दछु।’

धर्मगुरु लिङ्देनले उतिबेलै फाल्गुनन्दले आफ्नो जाती र वंशमा असुरक्षित खानपानको कारणले विकृति मौलाएको अवस्थामा समाज सुधारको आन्दोलन गरेको स्मरण गरे। अहिले पनि खानपान, आहारबिहारमा ख्याल गर्न उनले सबै अनुयायीलाई आग्रह गरे। ‘आफ्ना दाजुभाई बंशलाई म के सुझाव दिन्छु भने, एक मानो रक्सी खाएर,  एक मानो जाँड खाएर रन्थनिने, छोरीचेलीलाई बेच्ने हाम्रो जात हो। त्यसै बेलामा महान् गुरुको जन्म भयो। यो खानु पिउनु हुँदैन, सज्जनको बाटो लेउ, ठिकसँग खाउ, ठिक सँग बस भनेर गुरुले सन्देश दिएका छन्,’ उनले भने, ‘त्यो कुरामा हामी सचेत हुनुपर्छ। कुरिती त्याग्नु पर्छ। खानु पिउनुमा होस् गर्नुपर्छ।’ 
अहिले लड्ने भीड्ने युग नभएको भन्दै उनले सबै शान्तिसँग बाँच्नपर्ने बताए। ‘अहिले लड्ने भिड्ने युग होइन, हामी शान्तिसँग बाँच्नु पर्छ। सबै एकताबद्ध भएर लाग्नुपर्छ,’ उनले भने, ‘कुरितीको बाटो त्याग्नु पर्छ। सबै मिलेर सामाजिक सद्भाव कायम राख्नुपर्छ।’

राजनीतिक दलहरुलाई पनि ज्ञानको आवश्यकता रहेको बताउँदै उनले आफ्नो धर्म अनुसार काम गर्ने हो भने देश विकास हुने बताए। ‘धर्ममा बसेर नियम पालना गर्नुपर्छ, नियम पालना गरेपछि मात्रै भौतिक रुपमा देश विकास गर्न सक्नुहुन्छ,’ उनले भने, ‘हामीले ज्ञान दिनुपर्छ, शिक्षा दिनुपर्छ अनि देश विकास हुन्छ, विश्वकै दर्शन हामीले पढेका छौं। अब हाम्रो दर्शन पनि विकास गरौन त भन्न चाहन्छु।’ कार्यक्रमका अवसरमा सत्य शान्ति र अहिंसाको संवाहक मुहिंगुम आङसिमाङ महागुरु फाल्गुनन्द लिङ्ग्देनको पूर्ण कदको शालिक अनावरण गरिएको छ।

प्रदेशको नाम सहमतिमै

कार्यक्रमका अवसरमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले १ नम्बर प्रदेशको नाम सबै दलको सहमतिमा छिट्टै प्रदेशसभाले टुंगो लगाउने बताए। उनले प्रदेशको राजधानी पनि सबै दलको सहमतिमा विराटनगरलाई तोकिएको जानकारी दिँदै सबै दल र ९३ जनै सांसदको सहमतिमा प्रदेशको नामाकरण गरिने बताए। 

यसअघि कार्यक्रममा बोल्दै लिम्बूवान राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले प्रदेशको नामाकरण किरात–लिम्बूवान राख्नुपर्ने माग गरे। उनले पहिचानको पक्षमा आफूहरुले सुरु गरेको आन्दोलन अहिले पनि जारी रहेको भन्दै प्रदेशको नाममा पहिचानमा आधारित हुनुपर्छ भन्ने माग अहिले पनि कायम रहेको बताए। लिङ्देनले नेपाल आफ्नो देश र लिम्बूवान आफ्नो घर भएको भन्दै नेपालको अखण्डता भित्र लिम्बुवान खम्बुवान खोजेको बताए। 

यस्तै लिङ्देनले महाकालीमा भारतले सीमाना मिचेको विषयमा सर्वदलीय बैठक हुँदा आफूलाई प्रधानमन्त्रीले नबोलाएको भन्दै असन्तुष्टि जनाए। यद्यपी सीमा विवादको विषयमा कुटनीतिक ढंगले एकताबद्ध भएर नेपालको भूमि फिर्ता ल्याउनुपर्ने आफूहरुको मत रहेको लिङ्देनको स्पष्टोक्ति थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.