|

सर्लाही : सरकारले दिने भनेको अनुदान रकम नपाएपछि उखु किसानले आन्दोनल गर्ने चेतावनी दिएको छ। केही दिनअघि हरिवनमा सम्पन्न उखु किसानको बैठकले तत्काल अनुदान रकम नपाए आन्दोलनको घोषणा गर्ने निर्णय गरेको छ।

सरकारले गत वर्ष प्रतिक्विन्टिल ६५ रुपियाँ २८ पैसा अनुदान दिने बताएको थियो। तर, एक वर्ष बितिसक्दा पनि अनुदान बापतको रकम नपाएको किसानको गुनासो छ। अनुदान बापतको रकम पाउने नपाउने अनिश्चित भएको किसानहरु बताउँछन्। 

सर्लाहीमा सञ्चालित तीनवटा चिनी उद्योगमा उखु बेचेका किसानले सरकारबाट ३६ करोड १२ लाख २१ हजार ३९६ रुपैयाँ अनुदान रकम पाउनु बाँकी छ। उद्योगीबाट ठगिएका किसान सरकारबाट पनि एक वर्षदेखि ठगिएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए। पटक–पटक ताकेता गर्दा पनि सरकारी पक्षबाट सुनुवाइ नभएको उनको भनाइ छ।

यता कोष तथा लेखा नियन्त्रक कार्यालय, सर्लाहीका प्रमुख जगत थपलिया अनुदान रकम जिल्ला आउने प्रक्रियामै रहेको बताउँछन्। जिल्लामा अनुदान रकम आएपछि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले निर्णय गरेर रकम वितरण गरिने थपलियाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.