|

तनहुँ : भानु नगरपालिका-१ जामुनेगैह्रास्थित सामुदायिक वनमा बनाइएको काठको खोरमा मंगलबार बिहान एउटा चितुवा परेको छ। करिव डेढ वर्षदेखि भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रण गर्न बनाइएको परम्परागत काठको खोरमा परी चितुवा नियन्त्रणमा लिइएको हो। 

चितुवाको आक्रमण नरोकिएपछि भानु नगरपालिका क्षेत्रमा चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषबाट विज्ञसहितको टोली खटाइएको थियो। विज्ञ टोली खटाएको एक सातामै चितुवा खोरमा परेको र नियन्त्रणमा आएको डिभिजन वन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत केदार बरालले जानकारी दिए।

करिव ८/९ वर्ष जतिको पोथी चितुवा नियन्त्रणमा आएको बरालले बताए। ‘फलामभन्दा परम्परागत खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो, नियन्त्रणमा आएको चितुवालाई चितवन राष्ट्रिय निकुञ्ज लगिएको छ,’ उनले भने, ‘पछि अन्यत्रबाट माग भएमा अन्य ठाउँमा लगिनेछ।’

‘बालबालिका आक्रमणको अनुसन्धानबाट पोथी चितुवाले बढी आक्रमण गरेको पाइएको थियो, पहिलो पटक पोथी चितुवा नियन्त्रणमा आएको छ,’ उनले भने, ‘समय समयमा काठको खोरमा परेर चितुवा नियन्त्रणमा आए पनि बालबालिकामाथि चितुवाको आक्रमण भने रोकिएको छैन, अब चितुवा आक्रमण हुँदैन भन्ने अवस्था अझै पनि रहेको छैन, सतर्कता झन बढी अपनाउनुपर्ने देखिएको छ।’

भानु नगरपालिकाका १, २, ३ र ४ नम्बर वडामा डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट छ बालबालिकाले ज्यान गुमाएका छन्। गत असोज १६ र यही कात्तिक ११ गते पनि काठको खोरमा परेर चितुवा नियन्त्रणमा आएको डिभिजन प्रमुख बरालले बताए।

भानुका घना वनजंगल रहनुका साथै धेरै संख्यामा चितुवा रहेका अनुमान गरिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ। चितुवा नियन्त्रण गर्ने चिन्ता परेको अवस्थामा काठको खोर प्रभावकारी भएको बरालले बताए। परम्परागत खोर प्रभावकारी भएपछि जंगलमा नौवटा खोर निर्माण गरिएको छ।

उनका अनुसार चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका छ विज्ञ टोली पनि परिचालित छन्। भानुको जंगलमा भएका चितुवा नियन्त्रणका लागि एसियाका विभिन्न देशमा प्रयोग गरिएका प्रविधि परिचालन गर्ने तयारी भएको विज्ञहरू बताउँछन्।

बूढो र घाइते भएको खण्डमा चितुवा आक्रामक हुने भएको विज्ञहरूको भनाइ छ। जंगलमा आहाराको अभाव भएपछि वैकल्पिक आहाराको खोजीमा चितुवाले मान्छेमाथि आक्रमण गर्ने गरेको अध्ययनबाट देखिएको डिभिजन प्रमुख बरालले बताए । उनका अनुसार पोथी चितुवा बढी आक्रामक हुन्छ।

गत आइतबार भानु नगरपालिकामा चितुवा आक्रमण नियन्त्रण हुने धार्मिक आस्थाअनुरूप १२ वटा बोका बलि दिइएको थियो। भानुवासीले पूजापाठ, जप तथा रुद्राभिषेक गरी भीमसेन थुम्कामा १० र थप्रेक कालिका मन्दिरमा २ बोका बलिसमेत दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.