|

बाजुरा :  बाजुरा जिल्लाको उत्तरी भेगमा रहेको हाल हिमाली गाउँपालिका वडा न ६ का १ सय ५७ परिवार विगत दुई वर्षदेखि संचारविहीन रहेका छन्। हरेक गाउँमा संचार क्षेत्रको पहुँचमा रहे पनि वडा न ६ पाँडी गाउँ विगतदेखि संचार क्षेत्रको पहुँचभन्दा टाढा रहेका छन्।

जिल्लाको अति दुगर्म हिमाली गाउँपालिका साबिकको बाँधु गाबिस वडा न १ र हाल हिमाली गाउँपालिका वडा न ६ पाँडी गाउँमा ३ सय ५८ जनसंख्या रहेको छ। यो सूचना र संचार जमनामा एक घण्टाको बाटो हिँडेर डाँडामा आएर फोन गर्नपर्ने बाध्यता रहेको दलित अधिकारकर्मी गोरख सार्कीले  बताए।

पाँडी गाउँलाई  चारैतिरबाट पहाडले घेरेर छेकेको छ। बीच खाल्डो जस्तो ठाँउमा पाँडी गाउँको बस्ती रहेकाले कतैबाट फोन नेटवर्क नटिप्ने गरेको स्थानीय कृष्ण कामीले बताए। पाँणी गाउँ र  कोल्टीको क्षेत्रलाई लक्षित गरेर स्काइको टावर बनाइएको थियो तर स्काइको टावर बिग्रेको करिब दुई वर्ष भइसकेको स्थानीय कामीले बताए।

स्थानीय सरकार गाउँघरमा आए पनि आफ्नो ठाउँको समस्या जिउको तिउ रहेको गंग कामीले दुखेसो गरे।  'कितै पनि फोन लाग्दैन फोन गर्न १ घण्टाको पैदल दूरी हिँडेर पानीमेलाको डाँडामा पुगेर फोन गर्नुपर्ने बाध्यता रहेको छ' कामीले दुखेसो पोखे।

नेपाल टेलिकमले नमस्तेको दुइटा टावर बिछ्च्याँ र धिम गाउँको गुम्लु भन्ने ठाउँमा बनाएको छ। तर, यो टेलिफोन टावरले काम नगरेको उनको भनाइ छ। राज्यले विकासमा त उपेक्षित गरेको थियो अब संचारबाट पनि वञ्चित पारिएको गुनासो स्थानीयको छ।

हिमाली गाउँपालिका वडा न, ६ का स्थानीय बुद्धिजीवि प्रेमलाल भण्डारी भन्छन 'हाम्रो लागि देशमा तिन तहका सरकार छन तर हामीलाई कुनै पनि सरकार आएको अनुभूति भएको छैन।'

स्थानीय कटुबाले विश्वाखर कामीले हिमाली गाउँपालिकामा नेपाल टेलिकम टावर बनाउँदै भन्ने समाचार सुनेपछि खुसीले मोबाइल किनेको तर गाउँमा फोनले काम नगरेपछि ती मोबाइल थन्क्याएर राखेको बताए। दुई वर्ष पहिले फोनका लागि किनेका मोबाइल हाल गीत सुन्‍न र भिडियो हेर्नबाहेक अरू काम नभएको स्थानीयको गुनासो रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.