'मर्जर राम्रो नीति हो, इच्छाअनुसार हुन्छ'

|

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले देशको व्यावासायिक वातावरण नबनेको भनेर आलोचना गर्नेहरूलाई तीखो व्यंग्‍य गरेका छन्। कामना विकास बैंकको १३ औँ वार्षिकोत्सव कार्यक्रममा उनले देशभित्र व्यावसयािक वातवारण बनेको अवस्थामा पनि आलोचना गर्ने गरेको गुनासो गरे।

'एउटा सानो समूहले सधैँभरि व्यावसायिक वातावरण बनेन भनेर भनिरहेको सुनिन्छ, बैंकबाट कर्जाको माग बढेको बढ्यै छ, कर्जा माग धान्न गाह्रो परेको स्थिति छ, पुराण लगाउन त बैंकबाट ऋण लगेका छैनन् होला नि' खतिवडाले भने। उनले बैंकहरूलाई कर्जा मागको विवरण दिएर आफूलाई सहज गराइदिनका लागि पनि माग गरेका छन्। 

'तपाईंहरूबाट सहयोग चाहिएको छ,अहिले कति रकम बराबरको कर्जामा माग भएको छ त्यस्तो विवरण मलाई उपलब्ध गराइदिनु अनुरोध गर्दछु, अनि थाहा हुनेछ कति वर्षको लागिसम्म कर्जा माग भएको रहेछ' खतिवडाले भने। 

उनले कर्जा माग बढी भएकै कारण ब्‍याजदरमा केही समस्या पर्ने गरेको बताए। यस्तो अवस्थामा विदेशबाट पुँजी ल्याउनुपर्ने र पुँजी ल्याउनको लागि थप सरलीकृत गर्न आवश्‍यक रहेको बताए।

खतिवडाले मर्जर पद्धति अवलम्बन गर्दा बैंकहरू बलियो भएको बताए। तर, उनले मर्जमा बलजफ्ती नगर्ने स्पष्ट पारे । ‘मर्जर राम्रो नीति हो तर यो इच्छाअनुसार हुन्छ' अर्थमन्त्री खतिवडाले भने, 'लोकतन्त्रमा जबरजस्ती भन्ने हुँदैन, कोही कसैले स्वत:स्फूर्त रूपमा मर्जर गर्छु भनेको खण्डमा त्यसलाई प्रोत्साहित गर्ने हो’

नेपाल राष्ट्र बैंकका कार्यवाहन गभर्नर चिन्तामणि शिवाकोटीले मर्जरको लागि राष्ट्र बैंकले पहल गरिरहेको भन्दै अहिले पाँच विकास बैंक मर्जर प्रकियामा रहेको बताए। उनले प्रविधिमा ठूलो लगानी आवश्‍यक परेको अवस्था र बैंकहरूलाई प्रतिस्पर्धी बनाउनको लागि पनि मर्जर आवश्‍यक रहेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.