|

सिन्धुली : सिन्धुलीको सुनकोसी गाउँपालिकाले किसानले उत्पादन गरेको कृषि उपज सोझै खरिद गरी बजारसम्म पुर्‍याउने भएको छ। गाउँपालिकाले सुनकोसी कृषि उपज संकलन केन्द्र स्थापना गरेर गाउँपालिकाभरका किसानले उत्पादन गरेको कृषि उपज खरिद गरी बजारमा बिक्री वितरण गर्ने भएको हो।

किसानले उत्पादन गरेको तरकारी, फलफूल, अन्नबाली लगायतका सम्पूर्ण कृषि उपज संकलनका लागि गाउँपालिकाले भवन निर्माण गरी सुनकोसी कृषि उपज संकलन केन्द्र स्थापना गरेको छ। गाउँपालिका र दुई गैरसरकारी संस्थाको साझेदारीमा कुल २६ लाख ९ हजार लागतमा गाउँपालिकाले संकलन केन्द्र भवन निर्माण गरेको हो।

सुनकोसी गाउँपालिकाको १४ लाख ५१ हजार, सामुदायिक विकास कार्यक्रम सिन्धुली र मर्सिकोर नेपालको ११ लाख गरी कुल २६ लाख ९ हजारमा संकलन केन्द्र भवनको निर्माण भएको सुनकोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दासले बताए।

प्रमुख प्रशासकीय अधिकृत सुन्दासका अनुसार कृषि उपज संकलन केन्द्र संचालनका लागि गाउँपालिकाले संकलन केन्द्र संचालन कार्यविधि नै निर्माण गरेको छ। ‘संकलन केन्द्रलाई सहकारीको मोडेलमा संचालन गर्ने गरी कार्यविधि निर्माण भएको छ। सोही कार्यविधि अनुसार त्यसलाई गाउँपालिकाले निश्चित मापदण्ड बनाएर केही बजेट अनुदान दिन्छ। संकलन केन्द्रले सोही अनुदान रकमबाट किसानले उत्पादन गरेको कृषि उपज खरिद गर्छ र बजारसम्म पुर्‍याउछ’ उनले भने।

उत्पादित फलफूल, तरकारी, अन्नबाली लगायतका कृषि उपज बिक्री वितरणका लागि किसानले बजार खोज्दै हिड्नुपर्ने बाध्यतालाई अन्त्य गर्न संकलन केन्द्र निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष दीपा बोहोरा दाहालले बताइन्। ‘किसानले अब आफूले उत्पादन गरेको कृषि उपज डोकोमा बोकेर डुलाउँदै हिँड्नु पर्दैन्। किसानले एउटा काक्रा, एक मुठा साग, एक मुट्ठी खोर्सानी जे उत्पादन गरे पनि त्यो गाउँपालिकाले उचित मूल्य दिएर किन्छ र त्यो उपभोक्तासम्म पुर्‍याउछ’ उनले भनिन्।

सुनकोसीको महाभारत क्षेत्र तरकारी र फलफूल उत्पादनको हिसाबले उर्बरभूमि मानिन्छ। सुनकोसीको चिसो हावापानी भएको महाभारत क्षेत्रमा रहेका नागी, चालिसे, बन्दिपुर लगायतका ठाँउमा तरकारी र फलफूल प्रशस्तै उत्पादन हुने गरेका छन्। तर, सडकको राम्रो सुविधा नहुँदा र बजार अभावले गर्दा गाउँमै थन्किएर बसेका छन्। सुनकोसीमा तोरी पकेट क्षेत्र, आलु पकेट क्षेत्र रहेको छ।

बाहिरबाट हुने आयातलाई बन्द गर्ने लक्ष्य

सुनकोसी गाउँपालिकामा बाहिरबाट आउने कृषि उपजलाई रोक्ने लक्ष्यका साथ संकलन केन्द्रको निर्माण गरिएको अध्यक्ष दाहालको भनाइ छ। अहिले तराईका जिल्लादेखि काभ्रेको भकुन्डे, बनेपा, काठमाडौंसम्मको तरकारी सुनकोसीमा भित्रिने गर्छ', उनले भनिन्‘ हाम्रो गाउँपालिकालाई आवश्यक कृषि उपज हाम्रै किसान आफैँले उत्पादन गर्नसक्छन्। किसानले उत्पादन गरेको सामग्री एक ठाउँमा जम्मा गरेर वितरण गर्दा बाहिरी आयत रोकिन्छ।’

संकलन केन्द्र संचालनले बिचौलियाको अन्त्य गर्दै किसाले वास्तविक मूल्य पाउने अध्यक्ष दाहालको विश्वास छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.