|

दाङ : राष्ट्रिय आर्थिक गणना २०७५ को नजिता सार्वजनिक भएको छ। जिल्ला तथ्यांक कार्यालय दाङले उद्योग वाणिज्य संघसँग समन्वयमा गरी आर्थिक गणनाको नतिजा सार्वजनिक गरेको हो।

आर्थिक प्रतिवेदनले जनाए अनुसार दाङमा आर्थिक क्रियाकलाप गर्ने प्रतिष्ठानको संख्या १४ हजार ४ सय २१ पुगेको छ। नेपालभर ९ लाख २३ हजार ३ सय ५६ वटा प्रतिष्ठान रहेको तथ्यांकले देखाएकोमा दाङमा प्रतिष्ठान खुल्ने क्रम जारी रहेको देखिएको छ।

स्थानीय तहअनुसार सबैभन्दा बढी आर्थिक प्रतिष्ठानहरू घोराही उपमहानगरपालिकामा रहेको छन्। घोराहीमा ५ हजार २ सय १९, तुलसीपुरमा ३ हजार ६ सय ८८, लमही नगरपालिकामा १ हजार ३ सय ४३ रहेका छन्। सबैभन्दा कम देउखुरीको राजपुर गाउँपालिकामा ३ सय २३ जना आर्थिक प्रतिष्ठान खुलेको उल्लेख छ।

सबै व्यावसायिक क्षेत्र र प्रतिष्ठानका आर्थिक एकाईको विवरण गणनामा समावेश गरिएको छ। विस २०७५ सालको वैशाख १ गतेदेखि जेठको ३१ गतेसम्म २ महिना लगाएर गरिएको गणनामा सडक पेटीमा राखिएकासाना पसलदेखि अर्बौंको लगानीमा सञ्चालित उद्योग प्रतिष्ठानसमेत दायरामा ल्याइएको जिल्ला तथ्यांक कार्यालय दाङका तथ्यांक अधिकृत तुलसीराम पोख्रेलले बताए।

दाङमा सञ्चालनमा रहेका १४ हजार ४ सय २१ वटा प्रतिष्ठानमा ४७ हजार ५ सय ९८ जनशक्ति संलग्न रहेको तथ्यांकमा उल्लेख छ। तर, जिल्लामा सञ्चालन भएका आर्थिक प्रतिष्ठानहरू मध्य झण्डै आधा दर्ता नभएको भेटिएको छ। ७ हजार ९ सय ३ वटा निकाय मात्र दर्ता भएको र बाँकी ६ हजार ५ सय १८ वटा विना दर्ता सञ्चालनमा भइरहेको उनले बताए।

जिल्लामा दर्ता गरेर सञ्चालनमा रहेका कृषिसम्बन्धी आर्थिक निकायहरूको संख्या २ सय ५७ मात्र रहेको छ। आर्थिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा जिल्लास्थित  उद्योग प्रतिष्ठानमा आवद्ध व्यक्ति, व्यवसायी, विभिन्न कार्यालयका प्रमुखहरूको समेत सहभागीता रहेको थियो। खनिजमा २३ वटा, उद्योगधन्दामा १ हजार ६ सय ४३ वटा, व्यापार क्षेत्रमा ८ हजार ६ सय ३९ वटा निकायहरू रहेको आर्थिक गणनाले देखाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.