मुस्लिम समुदायका व्यक्तिदेखि रेखा थापासम्म सहभागी

|

जनकपुरधाम : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले जनकपुरस्थित जानकी मन्दिरबाट धार्मिक रथयात्रा निकालेको छ। जानकी मन्दिर, भगवान राम, गौतम बुद्धसहितको प्रतीमा तथा दृष्य बनाएर यात्रा निकालिएको हो।

राप्रपाकाका अध्यक्षद्वय पशुपति शमसेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा निकालिएको रथयात्रामा मुस्लिम समुदायका व्यक्तिदेखि अभिनेतृ रेखा थापासम्म सहभागी भइन्। रथयात्रा निकाल्नु अघि जानकी मन्दिरमा दर्शन गरिएको थियो।

अध्यक्ष जबराले हिन्दु राष्ट्र फर्काउनका लागि रथयात्रा निकालेर पहिलो चरणको संघर्ष सुरु भएको बताए। उनले भने, ‘आजदेखि हिन्दु राष्ट्रका लागि संघर्ष सुरु भएको छ। हिन्दुराष्ट्र पुनस्थापित नभएसम्म संघर्ष जारी रहन्छ।’ उनले हिन्दुको मात्र नभएर सेख, इसाई, बुद्धिष्ट र जैन धर्म मान्नेहरूको मुद्दा बोकेर अगाडि बढेको पनि बताए। उनले भने, ‘हिन्दु राष्ट्रको हुनुपर्छ भन्ने देशभरका ९४ प्रतिशत जनताको माग हो। त्यसैले देश हिन्दु राष्ट्र हुनुपर्छ।’ 

नेपाल हिन्दु राष्ट्र भएपछि छिमेकी भारत र चाइना समेत खुःशी हुने उनको भनाई थियो। रथयात्रा मंसिर ४ गते लुम्बिनीमा गएर सम्पन्न हुने  जनाइएको छ। 

बिहीबार पहिलो दिन सर्लाहीमा राति विश्राम गरिने, दोस्रो दिन कार्तिक २९ गते चन्द्रनिगापुरमा र तेस्रो दिन कार्तिक ३० गते वीरगन्जमा राति विश्राम गरिनेछ जनाइएको छ। यस्तै मंसिर १ गते चितवनको भरतपुरमा, मंसिर २ गते त्रिबेणीस्थित गजेन्द्र मोक्षधाममा र मंसिर ३ गते कपिलवस्तुमा राति विश्राम गरिने जनाइएको छ।

हिन्दु राष्ट्र हुनुपर्छ : रेखा थापा

अभिनेतृ रेखा थापाले पनि देश हिन्दु राष्ट्र हुनुपर्ने धारणा राखेकी छन्। उनले भनिन्, ‘गणतन्त्र ल्याएपछि धर्ममाथि नै प्रहार भयो। तर धर्मनिरपेक्ष घोषणा गर्दा पनि के परिवर्तन भयो र? ’ हिन्दु राष्ट्र नहुँदा देशमा अधर्मीहरू बढेको उनले तर्क गरिन्।

धर्मले मानिसलाई अनुशासित बनाउने गरेको भन्दै उनले धर्मनिरपेक्ष भएदेखि देशमा अधर्मीहरू बढेको र छोरीहरू असुरक्षित बनेको समेत बताइन्। ‘राजा जनकले त्यो जमानामा सत्यवादी छोरी सीता पाएकी थिइन्’, उनले भनिन्, ‘तर अहिले अधर्मीहरूका कारण न सत्यता भेटिन्छ। न छोरी सुरक्षित छन्।’

हरेक मानिसले धर्ममा अर्थात अनुशासनमा बसेर अगाडि बढेमा समाज, परिवार र देशलाई राम्रो हुने समेत अभिनेतृ थापाले बताइन्। देशमा पुनः शान्ति ल्याउनका लागि पनि हिन्दु राष्ट्र पुनस्थापना हुनुपर्ने उनको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.