समाज

किसानले पाउँदैनन् उन्‍नत जातको आलुको बिउ

कात्तिक २८, २०७६

    दमक : गौरादह १ का किसान नारायणप्रसाद पौडेलले एक वर्ष बियाँ रोपेर आलुको बिउ उत्पादन गरे। केही वर्ष सोही बियाँबाट विस्तारीत बिउ रोपे पनि सधैँ त्यसको बिउ काम लागेन।

    उनले भने, 'बियाँ रोपेर उत्पादन गरिएको आलु तीन वर्षसम्म बिउ विस्तारमै ठिक्क हुन्छ, चौथो वर्षदेखि मात्रै तरकारी खान थाल्ने हुँदा यसलाई टिकाउन पनि कठिन भयो।’

    अनुसन्धान केन्द्रहरूद्वारा तयार पारेको बिउ किसानले पाउनै सकेका छैनन्। पाए पनि न्यून मात्रामा मात्र। त्यसैले खयन आलु नै बिउको रूपमा उपयोग गर्न बाध्य हुनु परेको कमल-६ का किसान मित्रलाल अधिकारीले गुनासो गरे। उनले भने, ‘राम्रो बिउ रोपे धेरै फल्छ भन्ने त थाहा छ, तर बजारमा पाइए पो ल्याउनु, त्यसैले जुन भेटिन्छ त्यही खाइन्छ, त्यही रोपिन्छ।’

    गौरादह १ को उद्यमी कृषि सहकारी संस्थाका अध्यक्षसमेत रहेका भुपराज लुइटेलले किसानले धान, मकै तथा तरकारीका जात र बिउ खोजी खोजी उन्नत प्रयोग गर्ने चलन बढे पनि आलुको उन्नत बिउको उपलव्धता नै कठिन भएको समेत बताए। केही सहकारी संस्थाहरू बिउ आलु उत्पादनमा सामूहिक रूपमा केन्द्रित हुँदै गएकाले अबको तीन वर्षपछि चाहीँ उन्नत बिउ सहज पाइने उनको आशा छ। बिउ आलुको अभाव अन्त्यकै लागि उनको सहकारी संस्थाले पनि सामूहिक तथा संस्थागत रूपमा आलु खेती गर्ने तयारी गरेको उनले बताए।

    जे भेटो, त्यही रोपो

    झापा कमल–६ की लक्ष्मीदेवी आचार्य झण्डै २ दशकदेखि व्यावसायिक रूपमा तरकारी खेती गर्छिन्। खुर्सानी, टमाटर, काउलीलगायतका बालीको बिउ प्रयोगमा सचेत रहेकी उनी उन्नत जातको बिउनै रोप्छिन्। मकैको बिउ पनि झण्डै एक दशकदेखि उन्नत जातको रोप्न थालेपछि आलुको बिउका लागि भने खास योजना हुँदैन।

    ‘अलिक धेरै फल्यो भने वर्ष भरि खाएर उभ्रिएको रोपिन्छ, नत्र बजारबाट ल्याइन्छ’ यस वर्ष आलु रोप्ने तयारी गरिरहेकी उनले भनिन्, ‘खाने र रोप्ने खासै फरक हुँदैन, बजारबाट ल्याएको पनि कति खाइन्छ, कति रोपिन्छ टुंगो हुँदैन।’

    उनी मात्रै होइन, अधिकांश किसानको अवस्था यहि छ। घरैमा वर्षौंदेखि रोप्दै आएको आलु फलेपछि वर्ष भरि तरकारीमा उपयोग हुन्छ अनि रोप्ने बेला भएपछि त्यहि बिउको रूपमा उपयोग हुन्छ। बजारबाट ल्याउने बिउमा पनि कुनै निश्चितता हुँदैन। जुन भेटिन्छ, त्यहि उपयोग गर्छन् किसानले।

    झापा गौरादह–१ का भुपराज लुइटेलले भने–‘किसानहरूमा आलुको बिउ छनोटबारे अझै पनि ज्ञान छैन त्यसैले खयन (तरकारी खाने) आलु नै वर्ष भरि राखेर रोप्ने चलन नै बढी छ।’ गौरादह नगरस्तरीय मूल कृषक समूहका अध्यक्षसमेत रहका उनका अनुसार केही-केही स्थानमा संस्थागत रूपमा हुने खेतीमा उन्नत बिउ नै खोज्न थालिएको छ। तर, धेरै जसो किसान खयन आलुलाई नै बिउको रूपमा प्रयोग गरिरहेका छन्।

    बिउको प्रभाव

    आलुको उत्पादकत्व बृद्धिका लागि सबैभन्दा आवश्यक पक्ष हो, उन्नत बिउ। विज्ञहरूका अनुसार अन्य कुराहरू सामान्य रहे पनि बिउ मात्र उन्नत प्रयोग गर्ने हो भने उत्पादनमा २० देखि ४९.९ प्रतिशतसम्म बृद्धि हुन्छ।

    आलु विज्ञ श्यामप्रसाद ढकालका अनुसार नेपाललाई आलुमा आत्मनिर्भर बनाउन र उत्पादकत्व बृद्धिका लागि उन्नत बिउ जरुरी छ। उनले भने, ‘हामीले अनुसन्धानका क्रममा भेटेका छौं, उन्नत बिउ रोपिएको स्थानमा खयन आलु रोपिएको भन्दा डेढासम्म बढी फलेको छ।’

    झापाको कमल गाउँपालिकाका कृषि प्राविधिक प्रेम पोखरेले कमल गाउँपालिकाले आलु उत्पादनलाई प्राथमिकताको कार्यक्रममा राखेको र चकलाबन्दी खेतीको अभ्यास पनि थालिसकेको बताए। तर, किसानलाई सहज रूपमा उन्नत बिउ उपलव्ध नगराएसम्म उत्पादन बृद्धि अपेक्षित नहुने उनको धारणा छ।

    निजी क्षेत्रको चासो

    उन्नत आलुको बिउ उत्पादनमा निजी क्षेत्रले समेत चासो बढाएको छ। यसअघिको सरकारी निकाय राष्ट्रिय आलुबाली विकास कार्यक्रम (आलु तरकारी तथा मसलाबाली विकास केन्द्रमा परिणत) बाट प्रशस्त मात्रामा आलुको बिउ किसानसम्म पुग्न नसकिरहेका बेला केही स्थानमा भने निजी क्षेत्रका प्रयोगशालाबाट पनि उन्नत बिउ तयार गर्न थालिएको छ।

    झापाको गौरादहमा फाइकस बायोटेक प्रालिले पहिलो वर्ष पूर्वमूल बिउ तयार पारेको छ। आगामी वर्ष किसानलाई एक लाख दाना उपलब्ध गराउने गरि बिउ उत्पादनको प्रकृया थालेको कृषि विज्ञसमेत रहेका फाइकसका सञ्चालक दुर्लभ कार्कीले जानकारी दिए। प्रयोगशालाको काम सकेर अब बिउ उत्पादनका लागि रोप्ने तयारी भएको उनले बताए।

    टिस्यु कल्चर प्रविधिबाट उत्पादित बिउ शतप्रतिशत रोगसहित हुने र यसबाट जातको पनि पूर्ण सुनिश्चितता हुने विज्ञहरू बताउँछन्। रोगयुक्त र जातसमेत मिश्रित भएको बिउ रोप्ने गरेका कारण किसानले आलुखेतीबाट अपेक्षित लाभ लिन नसकेको कृषि विज्ञअनुरूप मानन्धरको भनाइ छ।

    तथ्यांकमा आलु

    नेपालका ७७ ओटै जिल्लामा आलु खेती हुने गरेको छ। तर, तीमध्ये २० प्रतिशत किसानले मात्र उन्नत बिउको प्रयोग गर्ने गरेको तत्कालीन राष्ट्रिय आलुबाली विकास कार्यक्रमका प्रमुख श्यामप्रसाद ढकाल बताउँछन्। उनका अनुसार नेपालमा हाल १ लाख ९० हेक्टर क्षेत्रफलमा आलु खेती हुने गरेको छ भने सरदर २८ लाख मेट्रिक टन उत्पादन हुने गरेको छ।

    सोही आलुको १० प्रतिशत बिउको रूपमा किसानले रोप्ने गरेकाले उन्नत बिउको उपयोग न्यून देखिएको हो। अझै पनि वार्षिक २ लाख टनको हाराहारीका आलु भित्रिने गरेको छ। भारत, भुटानलगायतका देशबाट भित्रिएको आलु तरकारीका लागि भए पनि किसानले त्यसलाई समेत बिउको रूपमा प्रयोग गर्दा बढी लाभ लिन नसकेको बिउ आलु विज्ञसमेत रहेका ढकालको ठम्याइ छ।

    नेपालमा प्रतिवर्ष प्रतिव्यक्ति ८१ केजीसम्म आलु खपत हुने गरेको छ, यो दक्षिण एशियालीमुलुकहरु मध्येमा उच्च हो। अझै पनि आलुको उत्पादन बृद्धि भएमा उच्च हिमाली तथा दुर्गम क्षेत्रमा हुने खाद्यान्न अभाव हटाउन पनि यसले सहयोग पुग्ने विज्ञहरू बताउँछन्। आलुलाई अन्नको विकल्पका रूपमा प्रयोग गर्न सकिने र व्यावसायिक रूपमा समेत ६४ प्रकारका परिकार बनाउन मिल्ने भएकाले भोकमरी र गरिवी अन्त्यका लागि आलु उपयोगी हुने देखिन्छ।

    सरकारी लक्ष्य

    सरकारले अबको पाँच वर्षमा नेपाललाई आलुमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ। सो लक्ष्य पूरा गर्न आलुको उत्पादकत्व बृद्धि गराई आगामी वर्ष प्रतिहेक्टर १६ मेट्रिक टन पुर्‍याउने र पाँचौ वर्षमा २१ मेट्रिक टन प्रतिहेक्ट बनाउने लक्ष्य राखेको छ। आलुखेतीमा उन्नत बिउ, यान्त्रीकरण र औद्यौगीकरणको अभ्यास बढाउन सके यो लक्ष्य प्राप्ति खासै कठिन नरहेको ढकाल बताउँछन्।

    तर, यसका लागि सरकारी कार्यक्रम मात्र पर्खनु भन्दा किसान, सहकारी तथा निजी क्षेत्रको पनि क्रियाशिलताको खाँचो रहेको उनको धारणा छ। तर यो लक्ष्य प्राप्तिका लागि उन्नत भण्डार केन्द्रको पहुँच अभिबृद्धिको पनि खाँचो छ। हाल देशमा रहेका ५१ ओटा शीतभण्डारमा १ लाख ३० मेट्रिकटन भण्डारणको क्षमता छ।

    यस्तै, १७०० देखि २५०० मिटर सम्मको उचाइमा ५ देखि ४० टन क्षमताका रष्टिक बिउ आलु भण्डार पनि उपयोगमा रहेका छन्। तर, यी पर्याप्त छैनन्। उत्पादन भएको समयमा शीतभण्डारमा राख्ने र चाहेको समयमा निकाल्ने व्यवस्था किसानको पहुँचमा पुग्ने हो भने आलुको तरकारीमा उपयोग मात्र होइन, व्यावसायिक रूपमा परिकार उत्पादनमार्फत पनि रोजगारी अभिबृद्धि गर्न सकिने किसान र विज्ञहरूको धारणा छ।

गोपाल झापाली

झापाली थाहा खबरका झापाको दमकस्थित समाचारदाता हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]