बंगलादेशका राष्ट्रपतिलाई दारको ठेकी उपहार

|

पोखरा : चारदिने नेपाल भ्रमणमा रहेको बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले बिहीबार पोखरा भ्रमण गरेका छन्। १२ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत पर्यटकीय नगरी पोखराको विमानस्थल ओर्लेका हदिमले फेवातालमा करिब २० मिनेट जलविहार पनि गरे।

जलविहारपछि करिब डेढघण्टा फेवातालसँगै रहेको फिस्टेल लजमा लन्च गरे। त्यही आराम गरे। त्यसपछि उनी रूपा रिसोर्टमा गए। त्यहाँबाट उनले रूपा, बेगनास, फेवातालसँगै अगाडि खुलेको माछापुच्छ्रे, अन्नपूर्ण हिमाल हेरेर निकै खुसी व्यक्त गरे।

रूपाकोट रिसोर्टमा उनले डेढघण्टा बिताएका थिए। त्यहाँ उनलाई रूपा गाउँपालिकाले प्रदेश सरकारसँग समन्वय गरी विभिन्न नेपाली संस्कृति झल्कने झाँकी सहितको विभिन्न प्रस्तुति देखाएको थियो।

राष्ट्रपतिका लागि घाटु, सोरठी, मुसलमान समुदायको झाँकीसहित, मौलिक गीतहरू प्रस्तुत गरिएको थियो। उनले गण्डकी सरकारका प्रतिनिधिहरूसँग हिमाली र पहाडी भेगमा खानेपानी र सडक सुविधाबारे चासो व्यक्त गरेका थिए। उनले नेपाल साँच्चिकै सुन्दर रहेको पनि प्रतिक्रिया दिएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए।

पाँच घण्टाको समय लिएर पोखरा आएका उनीसँगै नेपालका संघीय सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रघुवीर महासेठ प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, आन्तरिक मामिलामन्त्री हरिबहादुर चुमान पनि रूपा पुगेका थिए। रूपामा आन्तरिक मामिला मन्त्री चुमानले हदिमलाई विदाई गरे।

रूपा रिसोर्टमा विदाई गर्दा हदिमलाई ठेकी उपहार दिइएको छ। ‘यहिँ उत्पादन भएको दारको काठबाट बनेको ठेकी हामीले उपहारस्वरूप प्रदान गर्‍यौँ’, रूपाका अध्यक्ष नवराज ओझाले भने। राष्ट्रपति हदिमले पोखरा आउनुपूर्व नेपालको विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूसँग राजनीतिक भेटघाट गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.