रौतहत बारका कुनै वकिल पीडितको पक्षमा उभिएनन्

|

रौतहट : रौतहटको राजपुरमा बम बिष्पोट आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा निलम्बीत संसद महमद अफताब आलमको बहस लम्बिएको छ । 

गत कात्तिक २१ गतेदेखि सुरु भएको बहस आज पनि टुंगिएन। आज छैटौँ दिन पनि आलमतर्फका वकिलहरुले बहस गर्दै आएका छन्। धेरै कानुन ब्यबसायीहरुले बहस गर्ने भएकाले थुनछेकको अझै टुंगो लाग्‍न नसकेको हो।

थुनछेकका लागि सरकारी वकिलकोतर्फबाट ५ जना वकिलले बहस गरिसकेका छन्। सरकारी वकिलको तर्फबाट थुनछेक बहसमा जिल्ला न्यायाधीवक्ताको कार्यालय रौतहटका जिल्ला न्यायाधीवक्ता खडिन्द्रराज कटुवाल, उप–न्यायाधीवक्ता अर्जुन प्रसाद कोइरालाले बहस गरेका छन्। 

त्यसैगरी सह–न्यायाधीवक्ता सूर्यप्रसाद दाहाल, सरकारी वकिल कार्यालय पर्साका उप–न्यायाधीवक्ता रुद्र प्रसाद पन्थी र सरकारी वकिल कार्यालय रौतहटका सह–न्यायाधीवक्ता रामप्रसाद पन्थीले बहस गरेको रौतहट जिल्ला अदालतका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिएका छन्। 

त्यसैगरी  जाहेरवालको तर्फबाट ९ जना वरिष्ठ कानुन ब्यवसायीहरुले बहस गरेका थिए । पीडितको पक्षबाट पूर्वमहान्यायाधिवक्ता डा. युवराज सङ्ग्रौला, वरिष्ठ अधिवक्ता पुष्पराज पौडेल, आशिकराम कार्की, गोविन्द शर्मा बन्दी ओमप्रकाश अर्याल दिनेश त्रिपाठी डा. कुमार शर्मा आचार्य लगायतले बहस गरेका थिए  ।

अभियुक्त आलमको तर्फबाट पूर्व महान्याधिवक्ता रमण श्रेष्ठसहित ३३ जना कानुन ब्यवसायीले बहस गर्दै आएका छन्। वरिष्ठ कानुन ब्यवसायीहरुको बहस भने सकिएको छ। अहिले स्थानीय वकिलहरुले बहस गरिरहेका छन्। 

प्रतिवादी आलमको पक्षबाट पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठ, नेपाल बार एसोसियसनका पूर्व अध्यक्षद्वय प्रेमबहादुर खडका, शेरबहादुर केसी, वरिष्ठ कानुन ब्यवसायीहरु योगेन्द्र अधिकारी, सुनील पोखरेल, कृष्ण घिमिरे (भुषण) लगायतले बहस गरिसकेका छन्।

बहसको छैटौं दिन आलमको तर्फबाट ६ जना स्थानीय वकिलहरुले बहस गरेका छन् । रौतहट बारका अध्यक्ष हरिशंकर साह, पूर्व अध्यक्ष मन्जरुल हक, अधिवक्ता रामविनोद गिरी, अन्नत अधिकारी, अफताब आलम र नन्दकिशोर साहले बहस गरेका छन्। 
भोलि शुक्रबार पनि बहस जारी रहने श्रेस्तेदार पराजुलीले जानकारी दिएका छन्।

रौतहट बार एसोसियसनबाट आलमको तर्फबाट २९ जनाले वकालतनामा लिएका थिए। तर जाहेरवालाकोतर्फबाट एकजना पनि कानुन ब्यवसायीले वकालतनामा लिएका छैनन्। 

२०६४ सालको संविधान सभाको निर्वाचनमा राजपुर फरदहवामा बम विष्फोट गराएको आरोपमा आलमलाई गत असोज २६ गते रौतहट प्रहरीले पक्राउ गरेको थियो । 

२०६४ साल चैत २७ गते दर्जन भन्दा बढी व्यक्तिलाई इटाँभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोगमा आलममाथि जिल्ला सरकारी वकिल कार्यालयले तीनवटा मुद्दा दर्ता गराएको थियो । आलमको मुद्दा जिल्ला न्यायाधीश दीपक ढकालको इजालसमा बहस भइरहेको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.