वार्ताका माध्यमबाट समाधान खोज्‍नु पर्नेमा जोड

|
फाइल तस्विर

काठमाडौं : भारतले नेपाली भूमि मिचेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको विषयमा उत्तरी छिमेकी राष्ट्र चीनले आफ्नो आधिकारिक धारणा व्यक्त गरेको छ।

चीनका तर्फबाट काठमाडौंस्थित चिनियाँ दूतावासले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नयाँ नक्सामा राखेकोबारे प्रतिक्रिया दिएको हो।

चिनियाँ दूतावासका प्रवक्ताका तर्फबाट जारी गरिएको विज्ञप्तिमा कालापानी क्षेत्रको विवादलाई नेपाल र भारतले वार्ताका माध्यमबाट समाधान खोज्नु पर्नेमा जोड दिएको छ।

'कालापानी क्षेत्रको विवाद मैत्रीपूर्ण परामर्श र वार्ताका माध्यमबाट समाधान हुन्छ भन्ने हाम्रो सदिच्छा छ,' विज्ञप्तिमा भनिएको छ 'चीनले नेपालको सम्प्रभुता र भौगोलिक अखण्डताको सधैँ सम्मान गर्छ।'

केही मिडियाहरूले चीनले पनि सीमा मिचेको आरोप लगाएको प्रति दुःख व्यक्त गर्दै यस्ता आरोप निर्धार र आरोपमार्फत तथ्यलाई बंग्याउने प्रयास गरिएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘केही गैरजिम्मेवार मिडियाले चीनले नेपालको सीमा मिच्यो भन्ने उल्लेख गरेको पाएका छौँ', दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यस्ता आरोप आधारहीन छन्। र, यसले जनताको ध्यान मोडेर भ्रम पार्न खोजेको देखिन्छ।’

चीनले नेपाल र चीनबीच सधैं राम्रो सहकार्य रहेको स्मरण गराउँदै चीनतर्फसमेत सीमा मिचिएको भन्ने प्रचारको खण्डन गरेको छ। ‘चीन र नेपालले सन् १९६१ मा सीमा सन्धिमा हस्ताक्षर गरेका छन् र सीमाको सिमांकन र निर्धारण गरिएको छ। वर्षौदेखि सीमा र सुख्खा बन्दरगाह जस्ता मामिलामा दुवै पक्षबीच राम्रो सहकार्य हुँदै आएको छ’ चिनियाँ दूतावासले भनेको छ।

यसै वर्ष अक्टोबरमा राष्ट्रपति सी चिनफिङले नेपालको राजकीय भ्रमण गरेको प्रसंग निकाल्दै चिनियाँ दुतावासले दुवै देशले सीमा प्रवर्द्धन प्रणालीमा हस्ताक्षर गरेको जनाएको छ। 

‘भ्रमणका दौरान दुवै पक्षले सीमा प्रवर्द्धन प्रणाली सम्झौतामा हस्ताक्षर गरेका छन्। सीमाका विषयमा बाहिरी हस्तक्षेपबाट बच्न र आमविकासलाई बढावा दिन नेपाली पक्षसँग सहयोगलाई अझ बलियो बनाउन चीन तयार छ। चीन-नेपाल सम्बन्धहरुलाई कमजोर बनाउने कुनै पनि प्रयास हुने छैन,’ चीनले भनेको छ।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.