इकाइले तोकेविपरीत शिक्षकको पदस्थापना

|

डोल्पा : डोल्पामा स्थानीय सरकार र शिक्षा विकास तथा समन्वय इकाइबीच नयाँ शिक्षक पदस्थापनाको विषयमा जुहारी चलेको छ।

शिक्षक सेवा आयोगबाट आधारभूत तहमा नाम निकालेर आएका शिक्षकलाई इकाइले स्थानीय सरकारको अधिकार मिचेर विद्यालय तोकेरै शिक्षक पदस्थापना गरेपछि अधिकांश स्थानीय तह इकाइप्रति रूष्ट बनेका छन्।

स्थानीय सरकारले पाएको अधिकार मिचेर नियुक्तिमा विद्यालय तोकेर पठाएर इकाइले गतल गरको जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारसिंह रोकायले बताए। इकाइले ठाउँ तोकेर पठाए पनि गाउँपालिकाले नियुक्तिअनुसार शिक्षक पदस्थाना नगरेको उनले जानकारी दिए।

घरपायक पर्ने एक दुई/जना शिक्षकलाई इकाइले तोकेकै ठाउँमा पर्ने संयोग भए पनि अन्य सम्पूर्ण शिक्षकलाई जनप्रतिनिधिहरूको सरसल्लाहबाट इकाइले नियुक्ति विपरीतका ठाउँमा पदस्थापना गरेको रोकायले बताए।

ठूलिभेरी नगरपालिकाले पनि नयाँ शिक्षकलाई पदस्थापना गरको छैन्। एक हप्ताअघि नियुक्ति लिएका शिक्षक स्थानीय सरकाले पदस्थापना नगरेपछि अन्योलमा परेका छन्। इकाइले नियुक्तिमै सम्बन्धित विद्यालयको नाम तोकेरै पठाएपछि पदस्थापना गर्न समस्या भएको बताइएको छ।

स्थानीय सरकार हुँदाहुँदै इकाइले नियुक्तिका लागि विद्यालय तोक्न नहुने प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर रानाले बताए। इकाइले दिएको नियुक्तिमा विद्यालय हेरफेर गरेरमात्रै शिक्षक पदस्थापना गरिने उनको भनाइ छ।

शिक्षकलाई जानुपर्ने विद्यालय तोकेरै नियुक्ति दिएर पठाएपछि इकाइले स्थानीय सरकारको अधिकार खोसेको भन्दै त्रिपुरासुन्दरी नगरपालिकाले पनि आपत्ति जनाएको छ। 'इकाइको काम नियुक्ति दिने हो, ठाउँ तोक्ने होइन्' नगरप्रमुख ओमबहादुर बुढाले भने, 'सोही कारणले हामीले नयाँ शिक्षकलाई सम्बन्धित विद्यालयमा पठाउन नसकेका हौँ।”

'शिक्षकलाई तलब खुवाउने, करारमा नयाँ शिक्षक नियुक्ति गर्ने हटाउने अधिकार स्थानीय सरकालाई छ, भने नयाँ शिक्षकलाइ पदस्थापना गर्न किन नपाउनु?' उनले प्रश्न गरे। डोल्पामा मात्रै नभइ देशैभर स्थानीय सरकारले नै शिक्षक पदस्थापना गरको बुढाले बताए।

आफैँले दिएको नियुक्ति आफैँ संशोधन

शिक्षा विकास तथा समन्वय इकाईले आफैँले दिएको नियुक्ति संशोधन गरेको छ। नियुक्तिको विषयलाई लिएर त्रिपुरासुन्दरी नगरपालिकाले चर्को विरोध गरेपछि समन्वय इकाइले सुरुमा आफैँले दिएको नियुक्ति बिहीबार संशोधन गरको हो।

आफूहरू अन्योलमा परेको भन्दै नगरपालिकामा शिक्षकले दबाब दिएपछि बिहीबार शिक्षा इकाइ प्रमुख सिंहराज डाँगी, नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी बीच छलफल भएको थियो।

इकाइले स्थानीय सरकारको अधिकार मिचेर दिएको नियुक्ति संशोधन गरिसकेकाले संशोधित नियुक्ति दिएर आइतबारदेखि धमाधम शिक्षक विद्यालयमा पठाइने नगरपालिकाले जनाएको छ। त्रिपुरासुन्दरी नगरपालिकामा मात्रै २३ जना नयाँ शिक्षक पदस्थापना भएका छन्।

वार्षिक परीक्षामा नजिक आएकाले आगामी नयाँ शैक्षिक सत्रमा पुनः हेरफेर गर्नेगरी इकाइले तोकेकै विद्यालयमा शिक्षक पठाउने तयारी भइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धरालाले बताए। केही शिक्षकलाई भने पायक पर्ने स्थानमा पदस्थापना गर्नुपर्ने भएकाले इकाइले तोकेको ठाउँमा नपठाइ हेरफेरगर्न सकिने उनले बताए।

इकाई र स्थानीय सरकारबीच समन्वय नहुँदा यस्तो समस्या आएको बताउँदै शिक्षकको शैक्षिक योग्यताका प्रमाणपत्र मागिएको धरालाले बताए।

यता, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख डाँगी पहिल्यै पालिकासँग समन्वय गरेर शिक्षकहरूलाई ठाउँ तोकेर पठाएको बताए। उनले भने 'त्रिपुरासुन्दरीसँग समन्वय भएर नियुक्ति दिँदा खेरी नै ठाउँ तोकेर पठाएका हौँ। तर त्रिपुरासुन्दरीले समन्वय नभएको जस्तै गर्‍यो।' नगरपालिकाले इकाइको नियुक्ति नमिलेको भन्दै सम्बन्धित विद्यालयमा शिक्षक पठाउन नमानेपछि समस्या सुल्झाउन बिहीबार मात्रै नियुक्ति संशोधन गरिएको डाँगीले बताए।

इकाइ प्रमुख डाँगीले अधिकांश स्थानीय तहले समन्वय इकाईले पदस्थापना गरेकै विद्यालयमा शिक्षक पठाएको बताए पनि त्यस्तो भने देखिँदैन्। शिक्षकका पेसागत संघ संगठन र स्थानीय सरकारको आपसी समन्वय नहुँदा शिक्षक पदस्थापनामा समस्या भइरहेको सरोकारवालाहरूले बताए।

उपल्लो डोल्पामा पर्ने शे-फोक्सुण्डो गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका, छार्काताङसोङ् गाउँपालिका र तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिका र काइके गाउँपालिकाका केही विद्यालयमा मात्र समन्वय इकाइले दिएको नियुक्तिविपरीत शिक्षक पदस्थापना गरे पनि अधिकांश विद्यालयमा समन्वय इकाइले पदस्थापना गरेकै विद्यालयमा खटाएको पाइएको छ।

शिक्षक अन्योलमा

स्थायी नियुक्ति भएको एकहप्ता पुगिसक्दा पनि शिक्षक विद्यालयमा हाजिर हुन पाएका छैनन्। स्थानीय सरकार र शिक्षा विकास तथा समन्वय इकाइबीच विश्वासिलो समन्वय नहुँदा त्यसको मारमा शिक्षक परेका छन्।

हप्ताअघि नै स्थानीय नियुक्तिसहित सम्बन्धित स्थानीय तहमा पुगे पनि अझै पनि बिद्यालयमा हाजिर हुन नपाएको शिक्षकले गुनासो गरे। 'नियुक्ति लिएको एकहप्ता पुगिसक्दा समेत बिद्यालय पुग्न पाएका छैनौँ,' सुर्खेत जिल्लाका लक्ष्य सुनारले गुनासो गरे।

डोल्पाको महँगी त्यसमा पनि लामो समय होटेलमा बसेर खाँदा कतिपय शिक्षकको खर्चसमेत सकिएको उनले बताए। नियुक्तिमा विद्यालय तोकिए पनि स्थानीय सरकारले नियुक्तिविपरीत अन्य विद्यालयमा पदस्थापना गर्दा शिक्षकलाई मानसिक तनाबसमेत परेको उनको गुनासो छ।

एउटै नियुक्तिमा समन्य इकाई र स्थानीय सरकारले छुट्टाछुट्टै विद्यालय तोकेर शिक्षकलाई दुःख दिने काम भएको शिक्षकको गुनासो छ। शिक्षकहरू सम्बन्धित स्थानीय तहमा पुगेको लामोसमय हुँदासमेत हाजिर नभएकाले विद्यालयको पठनपाठनमा समेत समस्या परेको प्रधानाध्यापकले गुनासो गरे।

आठ स्थानीय तह भएको डोल्पामा १० जना कार्यरत शिक्षकसहित ५७ जना नयाँ शिक्षकहरू शिक्षक सेवा आयोगबाट सिफारिस भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.