८ हजार मिटर अग्ला विश्‍वका १४ वटा हिमाल चढेर कीर्तिमान

|

म्याग्दी : ‘उद्देश्य के लिनु? उडी छुनु चन्द्र एक' नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद  देवकोटाको यो कवितांशलाई म्याग्दीको एक विकट गाउँका युवकले प्रयोगात्मक रूपमै प्रमाणित गरेर देखाएका छन्। 

विश्वकै सबैभन्दा गहिरो गल्छी ‘अन्धगल्छी' भएको गाउँ दानामा जन्मेर संसारकै अग्ला हिमालको माथ (शिर) मा पुग्न सफल निर्मल पुर्जाको जन्म गाउँ दाना यतिबेला गौरावान्वित भएको छ।

२०४० सालमा भारतीय सेनामा कार्यरत बाबु नन्दबहादुर पुर्जा र आमा पूर्णकुमारी पुर्जाबाट जन्मिएका पुर्जाले विश्वमै चिनिने गरी कीर्तिमानी कायम गरेपछि जन्मगाउँ दानामा खुसियाली छाएको छ।

‘दाना गाउँ विश्वसँग जोडिएको छ' दानाको ज्ञानप्रकाश माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेप्टन बेलबहादुर पुर्जाले भने, ‘आफ्नो गाउँमा जन्मिएको छोराको विश्व कीर्तिमानीले गाउँलेलाई उत्साहित बनाएको छ।'

 ‘निर्मलको विश्व कीर्तिमानीले दाना मात्रै होइन सिंगो नेपाल नै गौरवान्वित भएको छ' भारतीय सेनाका पूर्व सुवेदार दानाका चुकबहादुर पुनले, ‘नेपालको सान सगरमाथा भन्दा पनि उच्च' भएको प्रतिक्रिया दिए।

बाल्यकालमा निर्मल पुर्जालाई काखमा खेलाएका र राम्रोसँग चिनेका दानाका ६५ वर्षीय मनबहादुर पाइजाले सानोमा निर्मल रूख चढ्न, अरिंगाल र भिर मौरीका गोला पोल्न सिपालु भएको बताए। आफ्नो उमेरका बालबालिकामा निर्मल हरेक काममा अगाडि रहेको पाइजाले बताए।

अन्धगल्छीको आसपासमा नै जन्मेर जन्मेर पोखरा हुँदै चितवनको रामनगरस्थित स्मल हेभन स्कुलबाट एसएलसी पास गरेपछि बोलायती सेना हुँदै निर्मलको यात्रा विश्वकै अग्गा हिमालहरुको शिरतर्फ सोझिएको हो।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा जन्मिएका पुर्जाले गत वैशाख १० गते अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट आरोहण सुरू गरेका थिए। उनै निर्मल पुर्जाले ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व कीर्तिमानी कायम गरेपछि अहिले संसारभरि चर्चाको शिखरमा छन्।

चीनको तिब्वतमा अवस्थित शिशापङ्मा हिमालको चुचुरोमा पुगेसँगै पुर्जा सातमहिनामा विश्वका सबै ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने पहिलो पर्वतारोही हुन सफल भएका हुन्। चिनियाँ सरकारले सन् २०१९ सम्मलाई सिसापाङ्मा हिमाल आरोहण रोके पनि विश्व रेकर्डका लागि गरिएको अनुरोधलाई स्वीकार गर्दै विशेष अनुमति दिएको थियो। 

पुर्जाले धौलागिरी हिमालमा विनाअक्सिजन आरोहण गरेका थिए। उनले विश्वकै अग्लो सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से, मकालु, च्होयो, मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रोको आरोहण गरे।

आरोहण गरेका १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछन्। त्यस्तै, अरू पाकिस्तान र चीनमा पर्दछन्। हालसम्म विश्वमा कुनै पनि आरोहीले छोटो समयमा दुई दर्जन हिमालको आरोहण गरेको विश्वमा नै रेकर्ड नभएको बताइएको छ।

मार्च २०१९ मा व्रिटिस आर्मीको जागिर छाडेर हिमाल आरोहण अभियान थालेका पूर्जाले आफ्नै जन्म जिल्लामा रहेको ८ हजार मिटर अग्लो धौलागिरी र अन्नपूर्ण आरोहण गर्ने पहिलो म्याग्देलीसमेत हुन्। 

अग्ला हिमाललाई आफ्नो घरको धुरीजस्तै सम्झिने पूर्जाले सबैभन्दा छिटो १० घण्टा १५ मिनेटको समयमा सगरमाथाको शिखरदेखि ल्होत्सेको शिखरसम्म आरोहण गरी विश्व कीर्तिमान राखिसकेका पूर्जाले अंग्रेजी वर्ष २०१७ मे २७ तारिखमा ५ दिनमा ८ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण र एउटै सिजनमा १७ दिनभित्र दुईपटक सगरमाथा चढेर ३ वटा विधामा गिनिज बुकमा वल्र्ड रेकर्ड समेत राखेका छन्। 

भाइ निर्मलले विश्व कीर्तिमानी कायम गरेपछि उनका दाजु कमलबहादुर पुर्जाले आफ्नो भाइ निर्मल पुर्जाले ६ महिनाको अवधिमा नै विश्वका सबै १४ वटा हिमाल आरोहण गरेर कीर्तिमानी कायम गरेर देशकै शिर उँचो बनाएको प्रतिक्रिया दिए। उनले भने, ‘निर्मल सानैदेखि शुरो र निडर थिए। उनको चाहना सधैं महत्वकांक्षी नै हुने गर्दथे। अवरोधलाई छिचोल्दै अघि बढ्नु उनको सानैदेखिको विशेषता थियो।’ 

म्याग्दीको एउटा दुर्गम गाउँका युवा बेलायती सेनामा मासिक १० लाखको जागिर छोडेर हिमाल आरोहणमा कीर्तिमानी कायम गर्ने उद्देश्यका साथ हिमाल आरोहणको यात्रामा निस्केका थिए।

बेलायती सेनाको ‘स्पेशल फोर्स को मासिक १० लाख तलब छोडेर हिमाल आरोहणमा निस्केका पुर्जाले तीन महिनाभित्र ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटा हिमालमध्ये ११ वटा हिमालको सफल आरोहण गरेका थिए।

एकै सिजनमा नेपालका ६ वटा हिमाल ३१ दिनमा आरोहण गरेको विश्व कीर्तिमान पनि उनकै नाममा भइसकेको थियो। ‘फास्टेस्ट समिट अफ दी टप थ्री माउन्टेन’ (सगरमाथा, केटु र कञ्चनजंगा) को कीर्तिमान पुर्जाले कायम गरिसकेका छन्। यसैगरी ‘फास्टेस्ट समिट अफ दी टप फाइभ माउन्टेन’ (सगरमाथा, केटु, कञ्चनजंगा, लोत्से र मकालु) आरोहणको कीर्तिमान पनि उनले नै कायम गरेका छन्।

पुर्जाले शुरुका तीन महिनामा अन्नपूर्ण, कञ्चनजंगा, धौलागिरि, सगरमाथा, लोत्से, मकालु, नाग्गा पर्वत, जी वान, जी टु, के टु, ब्रोड पिज जस्ता ११ वटा हिमाल आरोहण गरेका शिक्षण पेशाबाट अवकाश प्राप्त उनका दाजु जीतबहादुर पुर्जाले बताए।

सगरमाथा, लोत्से र मकालु आरोहणमा विगतको ५ दिन ३ घन्टा ३५ मिनेटको पुरानो रेकर्र्ड तोड्दै ४८ घन्टा ३० मिनेटमा यी हिमाल आरोहण गरेपछि आफ्नो नाममा नयाँ विश्व कीर्तिमान कायम भएको पुर्जाले जानकारी दिए।

पाकिस्तानमा रहेका ८ हजार मिटर उचाइमाथिका पाँचवटा हिमाल २३ दिनमा आरोहण गरेर उनले अर्को कीर्तिमानी कायम गरेका छन्। निकै छोटो अवधिमा यस्तो रेकर्ड राखेपछि पर्वतारोहणसँग आबद्ध पाकिस्तानको अल्पाइन क्लबले पुर्जालाई विशेष सम्मान समेत गरिसकेको छ।

बेलायती सेनामा हिउँ चितुवाको नामले चिनिने निर्मल पूर्जाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर संसारकै दशौं अग्लो अन्नपूर्णबाट अभियानको सुरुवात गरेका थिए।

आफ्नै जन्मभूमिमा रहेका विश्वमै अग्ला मानिएका हिम चुचुरोबाट आरोहण सुरु गरेका पूर्जा म्याग्दी मै जन्मिएर धौलागिरी र अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो म्याग्देली समेत भएको धौलागिरि पर्यटन परिषदका अध्यक्ष अमर बानियाँले बताए। उनले  म्याग्दीको अन्नपूर्ण र धौलागिरीको आरोहण गरेपछि मात्रै विश्वकै अग्लो सगरमाथा, कञ्चनजंगा, ल्होत्से, मकालु, नांगा पहाड, गशेरब्रुम, गशेरब्रुम दोस्रोको आरोहण गरिसकेका छन्।

अग्लो हिमालमा हिउँका खुड्किला नाघ्दै उकालो चढ्दा पूर्जाले अतिरिक्त अक्सिजन विनै धौलागिरी हिमालको आरोहणका साथै सगरमाथाको चुचुरोमा आरोहीको ताँतीको तस्वीर खिचेर चर्चामा आएका हुन्। 

आरोहणको क्रममा सगरमाथाको चुचुरोमा ट्राफिक जाम भएका तस्वीर विश्वका प्रतिष्ठित मिडियामा समेत महँगोमा बिक्री भएका थिए। उत्तरी म्याग्दीको दानामा जन्मिएका पूर्जा सन् २००३ मा पोखरास्थीत ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनोट भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी ट्रेनिङ सेन्टरबाट आधारभूत तालिमको ज्ञान प्राप्त गरेका पहिलो नोपली हुन्।  

कर्पोरल निर्मल बेसिक ट्रेनिङमा च्याम्पियन रिक्रुटरको उपाधि लिएर क्विन्स गोर्खा इन्जिनियर्ससमा गएका थिए। क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ एण्ड डेकोरेशन ट्रेडमा कार्यरत हुन्। 

क्विन्स गोर्खा कार्यरत रहँदा ब्रिटिश आर्मीको कमाण्डो समेत उनले नै हो। उनले बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रुपमा कार्यरत रहँदा ब्रिटिश सेनाको रोजाइमा रहेका विश्वका धेरै हिमालको आरोहण गरिसकेको छ। गोर्खा एक्सिडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व पुर्जाले नै सम्हालेका थिए।

सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड समेत प्राप्त गरेका थिए। उनले हरेक आरोहणमा आरोहीको उद्धार तथा मृत अवस्थामा भेटिएका शवलाई समेत ब्यवस्थापनमा सघाउने गरेका बताइएको छ।

निर्मलसँगै चुलिएको म्याग्दीको सान

निर्मल पुर्जाले हिमाल आरोहणमा विश्व कीर्तिमानी कायम गरेपछि म्याग्दीको अन्तर्राष्ट्रिय क्षेत्रमा म्याग्दीको शाख बढेको सरोकारवालाले बताएका छन्। हिमाली पर्यटकीय जिल्ला म्याग्दी प्रशस्तै पर्यटकीय सम्भावनालेयुक्त जिल्ला भएकोमा त्यसमाथि पनि निर्मलको जन्म ठाउँ भन्ने थप परिचय प्राप्त गरेपछि विश्वभरिका मानिसको ध्यान आकृष्ट भएको र पर्यटक आगमनको वृद्धिदर तीब्र हुने सम्भावना रहेको यस क्षेत्रका सरकोकारवालाले बताएका छन्।

धौलागिरि पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँले नेपाल भ्रमण वर्ष २०२०–२०२२ लाई सफल पार्न माउन्टेन इगल निर्मल पुर्जाको संसारभर भाइरल भएको व्यक्तित्वलाई भरपुर उपयोग गरी म्याग्दी जिल्लाको पर्यटन विकास गर्न सकिने र पुर्जाले प्राप्त गरेको कीर्तिमानी म्याग्दीको पर्यटन क्षेत्रका लागि कोशेढुङ्गा सावित हुने बताए।

म्याग्दी जिल्लाभित्र रहेका ८ हजार मिटर अग्ला दुई हिमाल र साना चुचुराको प्रचारप्रसारमा निर्मललाई प्रयोग गर्न सकिने उनको भनाइ रहेको छ। त्यसैगरी मोना अन्तर्राष्ट्रियका संस्थापक अध्यक्ष एवं म्याग्दी विकास मञ्चका अध्यक्ष प्रकाश पुनले म्याग्दी जिल्लाको समृद्धिका लागि निर्मल पुर्जाको चिनारी सहयोगी हुने प्रतिक्रिया दिए।

‘अव म्याग्दी जिल्ला हिमाल आरोहणमा विश्व कीर्तिमान निर्मल पुर्जाको जिल्ला भनेर पनि चिनिने भएको छ’, पुनले भने, ‘यसबाट यहाँ आउने पर्यटकको संख्या वृद्धि हुनुका साथै जिल्लाको प्रचार-प्रसारमा समेत थप भूमिका हुने छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.