|

संयुक्तराज्य अमेरिकाको क्यालिफोर्निया राज्यस्थित एक स्कुलका १६ वर्षे छात्रले बिहीबार स्कुलभित्रै गोली चलाउँदा दुई विद्यार्थीको मृत्यु भएको छ। उक्त गोलीकाण्डमा अरू तीनजना विद्यार्थी पनि घाइते भएका छन्।

साथीहरूमाथि पेस्तोल प्रहार गरेपछि आत्महत्या गर्न आफैँमाथि गोली चलाएका ती किशोरलाई प्रहरीले गम्भीर अवस्थामा गिरफ्तार गरेको छ। ती विद्यार्थीको स्वास्थ्य अवस्था अत्यन्त नाजूक रहेको प्रहरीले जनाएको छ।

सान्टा क्लारिटाको सघस माध्यमिक विद्यालयमा गोली चलेको आवाज आएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो। विगत दुई दशकमा अमेरिकी स्कुलहरूमा भएका “मास सुटिङ” मा ३०० भन्दा बढी विद्यार्थी र किशोर किशोरीको मृत्यु भइसकेको छ।

अमेरिकी संसदमा सर्वसाधारणलाई बन्दुक राख्न दिने कानुनमा कडाई गर्न लामो समयदेखि बहस जारी छ, तर अमेरिकाका मुख्य दुई दल रिपब्लिकन पार्टी र डेमोक्र्याटिक पार्टीबीच सहमति हुन सकेको छैन। रिपब्लिकन पार्टीबाट प्रतिनिधित्व गर्नुहुने राष्ट्रपति डोनाल्ड ट्रम्प पनि बन्दुकमाथि धेरै कडाई गर्न नहुने पक्षमा हुनुहुन्छ, तर डेमोक्र्याट पार्टी कडा नियमको पक्षमा छ।

प्रहरी अधिकृत केन्ट वेगेनरले एसियाली मूलका एक किशोरले आफ्नो झोलाबाट बन्दुक झिकेर साथीहरूमाथि अन्धाधुन्ध गोली चलाएको र अन्त्यमा आत्महत्या गर्ने मनशायले आफैँलाई गोली हानेको जानकारी दिए। स्कुलमा गोली चलाउनुपर्ने कारणबारे केही खुलेको छैन।

मृत्यु हुनेहरूमा १६ वर्षकी एक किशोरी र १४ वर्षका बालक रहेका छन्। घाइते हुनेहरूमा एकजना १४ वर्षीय बालक र दुईजना १५ वर्षका बालिका रहेका छन्। यस विद्यालयमा करिब दुई हजार ३०० विद्यार्थी अध्ययनरत छन्।

अमेरिकी राष्ट्रपति, सभामुख, सिनेटरहरू तथा क्यालिफोर्नियाका गभर्नर समेतले पछिल्लो घटनाबाट आफूहरू अत्यन्त दुःखी भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.