|

धनकुटा : उप प्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले देशभरिका शहीदका परिवारलाई राहत वितरण र सम्मानको काम सरकारले चाँडै गर्ने बताएका छन्। 

शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले आयोजना गरेको छिन्ताङ हत्याकाण्डका शहीदको ४१ औं स्मृति दिवसमा बोल्दै उपप्रधानमन्त्री पोख्रेलले त्यस्तो बताएका हुन्।

मन्त्री पोख्रेलले चीन र भारतसँग व्यापार बढाउनका लागि संघीय सरकारले कृषि, उद्योग, ऊर्जा, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेको बताए। उनले सरकार खोज्न सिंहदरबार नै जानुपर्ने कुराको अन्त्य भएको बताउँदै तीनै तहको सरकारले जनताको सेवा गरिरहेको दाबी गरे।

नेकपा सचिवालय सदस्य तथा स्कुल विभाग प्रमुख समेत रहेका पोख्रेलले छिन्ताङ काण्डका शहीदका परिवारलाई यसअघि संघीय सरकारले दिने भनेको १० लाख राहतको विषयमा भने केही बोलेनन्। यस्तै रक्षा मन्त्री पोख्रेलले कालापानी र लिपुलेकका विषयमा केही बोलेनन्।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई छिन्ताङ काण्डका शहीदका परिवारलाई प्रतिपरिवार ५ लाख प्रदेश सरकारले राहत दिने घोषणा गरे। उनले देश संघीयतामा नगएको भए शहीद परिवारलाई राहत घोषणा नहुने भन्दै संघीयता बचाउनु पर्ने बताए। 

बाम आन्दोलनमा लागेको भन्दै २०३६ सालमा भएको छिन्ताङ काण्डमा मारिएका १६ जनालाई यसअघिको सरकारले शहीद घोषणा गरे पनि शहीद परिवारलाई राहत उपलव्ध गराएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.