|

सिरहा : सिरहाको सुखीपुर नगरपालिका ४ पोखरिया गाउँमा पोखरिया गाउँका ७४ वर्षीय सूर्यनाथ यादवको मृत्युपछि १३औँ पुण्य तिथिको भोजमा जातीय छुवाछूत गरेको भन्दै मुद्दा दर्ता भएको छ। मृतकका यादवका एक्ला छोरा नन्दकिशोर यादव र भतिजहरू दिनेश यादव, उमेश यादवले आफ्नो गाउँका सबै जातसहित चार गाउँका यादवहरूका लागि कात्तिक २३ गते अन्नदान भोजमा सामेल भएका दलितहरूलाई जातीय छुवाछूत गरिएपछि कारबाहीको माग गर्दै मुद्दा दर्ता भएको हो।

जिल्ला प्रहरी कार्यालय सिरहामा बिहीबार भोजमा दुर्व्यवहार र अपमानित भएका सवा सय जनाको प्रतिनिधित्व गर्दै दुईजना दलित अगुवाले किटानी जाहेरी दिएपछि मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारीसमेत रहेका डिसपी अपिलराज बोहराले जानकारी दिए।

‘मुद्दा दर्तापछि प्रहरीले अनुसन्धानको प्रकृया अगाडि बढाएको छ’ डिएसपी बोरहाले बताए। पीडितहरूले मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार हदैसम्मको कारबाहीको मागसहित किटानी जाहेरी दिएपछि मुद्दा दर्ता भएको हो।

यसरी भयो छुवाछूत र दुर्व्यवहार

मृतक परिवारले आयोजना गरेको भोजमा छिमेकीको नाताले नित्याएपछि अन्तिमतिर करिब सवा सयजना दलितहरू (३२ घर चमार र तीन घर दुसाद) लाई भोज खान गएका थिए। ‘मृतक परिवारको छिमेकी घरको आँगनमा बसेको दलितहरूको भागमा भोजको खानेकुरा हालेर खानै लाग्दा उपेन्द्र यादव, रामचन्द्र यादव र रामप्रित यादवसहितको समूहले कसले ‘सानो जात’ लाई बोलायो?’ भन्दै गालीगलौजसँगै हातसमेत हाले’ पीडित चन्द्रदेव पासवानले भने ‘बाबु, बाजे, दाजुभाइलाई पछ्याउँदै भोज खान गएका बालबालिकाहरू खाना हालिएको पात नै फालिदिएर गालीगलौज गर्न थालेपछि डराएर रुन थाले अपमान सहन नसकेर भोकै फर्कियौँ।’

मृतकका भतिजा उमेश कुमार यादवले छिमेकी तीन र आफ्नोसहित चार गाउँका लागि छ क्विण्टल चामल ल्याइएको तर पाँच सय २५ किलो चामल भोजका लागि पकाइएको थियो। आफ्नो गाउँका सबै जात र छिमेकी तीन गाउँका गरी करिब चार हजार जनाका लागि तयार गरिएको भोजमा छिमेकी दलितहरूलाई जातीय रूपले अपमान गरिएपछि आफूहरूसमेत स्तब्ध भएको यादवले बताए। दलितहरू भोज नखाई आ-आफ्नो घर फर्किए ।

सांसद् पनि पुगे पोखरिया

कानुनी रूपले बन्देज गरिएको जातीय भेद्भाव र छुवाछूतबाट दलितहरू सार्वजनिक भोजमै अपमानित भएको थाहा पाएपछि कात्तिक २५ गते प्रदेश २ की सांसद् सुनितादेवी राम आफ्ना  सहयोगी र दलित अधिकारकर्मीहरूको सहयोगमा पोखरियाको दलित बस्ती पुगेर घटनाको विषयमा पीडित तथा स्थानीय समुदायसँग छलफल गरी विस्तृत जानकारी लिएकी थिइन्। ‘दलितहरूविरुद्ध सार्वजनिक रूपले गरिएको अपमानविरुद्ध आवाज उठाउने छु' स्थानीय दलितहरूलाई आश्वासन दिँदै उनले भनिन्।

नेपाल कम्युनिष्ट पार्टीबाट निर्वाचित सुखीपुर नगरपालिका ४ का वडाध्यक्ष रामलोभित यादवले पोखरियाका दलितहरु"लाई ‘सानो जात’ भन्दै गरिएको अपमान र दुर्व्यवहारविरुद्ध दलितहरूलाई आवश्यकताअनुसार जुनसुकै बेला पनि सघाउने प्रतिबद्धता जनाए।

भोजमा अपमान झेलेका दलितहरूलाई सघाउन गएका बेला जिल्ला प्रहरी कार्यालय परिसरमा भेटिएका वडाध्यक्ष वडाध्यक्ष यादवले भने, ‘जातपात, छुवाछूत जस्तो सामन्ती संस्कार सामन्तीहरूले बसाए। सामन्ती व्यवस्था ढलेर लोकतन्त्र आए पनि सामन्ती संस्कार बोक्नेहरूले जातपात छुवाछूत गरिरहेकाले वडाध्यक्ष मात्र होइन, कम्युनिष्ट विचार बोकेको सचेत नागरिकको हैसियतले पनि दलितहरूलाई सक्दो सहयोग गर्नेछु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.