|

इलाम : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय कार्य भएको भन्दै उक्त कार्य सच्याउन माग गरेका छन्।

माङसेबुङ गाउँपालिकामा नेकपा गाउँ कमिटीले आयोजना गरेको पार्टी प्रवेश, शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उनले भारतले अतिक्रमण गरेको भूमि फिर्ता गराउन सरकारले कूटनीतिक पहल अघि बढाएको बताए । 

‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो,’ नेम्बाङले भने, ‘यस सम्बन्धमा संघीय सरकारले कूटनीतिक पहल थालिसकेको छ भने भारतीय कदमको विरोधमा समग्र नेपाल एकजुट छ।’

एक अर्को प्रसंगमा उपनेता नेम्बाङले मुलुक विकास र समृद्धिको यात्रामा अघि बढेको भन्दै समृद्धिको यात्रामा सबै एकजुट भएर अघि बढ्नुको विकल्प नभएको बताए। तीनै तहका सरकारले जनताका पक्षमा महत्त्वपूर्ण काम गर्दै अघि बढिरहेको भन्दै उनले त्यसका लागि नेपाली जनताले प्रत्यक्ष चुनेका प्रतिनिधिहरुले बनाएको नेपालको संविधानले सम्पूर्ण नेपालीको हक, अधिकारको ग्यारेण्टी गरेको र सरकार त्यसैको कार्यान्वयनमा लागि परेको बताए। 

नेकपा केन्द्रीय सदस्य एवं प्रदेशसभा सांसद् धिरेन्द्र शर्मा ‘रमण’ले नेकपा नेतृत्वको सरकार जनताको जीवनस्तरमा व्यापक परिवर्तन ल्याउँदै समृद्ध नेपाल सुखी नेपालीको महाअभियानमा अघि बढेको बताए । नेकपा इलाम जिल्ला कमिटी अध्यक्ष एवं प्रदेशसभा सांसद् रामबहादुर मगरले कम्युनिष्ट पार्टी मात्रै जनताको पार्टी र सुख, दुःखको साथी भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.