|

पाल्पा : कवी नीलकण्ठ न्यौपानेद्वारा लिखित 'श्रम-साधना' महाकाव्यको शनिबार तानसेनमा लोकार्पण भएको छ। 

धवल पुस्तकालय तानसेन पाल्पाको आयोजनामा भएको कार्यक्रमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले महाकाव्यको लोकार्पण गरेका हुन्। मन्त्री ज्ञवालीले लेखक तथा साहित्यकारको पनि समाज रुपान्तरणमा ठूलो भूमिका हुने बताए। 

'नकारात्मकभन्दा पनि सकारात्मक विषयवस्तु समावेश गरेर कृति प्रकाशित गरे मुलुकको विकासमा टेवा पुग्छ' उनले भने, 'गणतन्त्र, विकास विरोधीको बारेमा लेखक तथा साहित्यकारले पर्दाफास गर्नुपर्छ।'

मन्त्री ज्ञवालीले जतिवेला पनि सकारात्मभन्दा पनि नकारात्मक समाचार, लेखरचना तथा विभिन्न सामाजिक सञ्चालमा आउने सन्देशले नागरिकमा गुनासो बढेको बताए। उनले साहित्यकार, लेखक, पत्रकार मुलुकका गहना हुन् सही र सत्यतथ्यपरक लेख रचना, समाचार प्रकाशन भएमा जनता भ्रमित हुँदैनन्। 

कार्यक्रममा प्राध्यापक डाक्टर वेणीमाधव ढकालले श्रम-साधना महाकाव्यमा श्रमको थलो पाल्पा र साधनाको थलो लुम्बिनीको बारेमा चर्चा गरिएको बताए। 'कृतिमा उल्लेख गरिएको लेखले युवामा आएको विकृतिका बारेमा टिप्पणी गरिएको छ' उनले भने,' वैदेशिक रोजगारमा गएका युवालाई नेपालमै फर्काएर समाज निर्माणका काम लगाउनुपर्नेमा जोड दिइएको छ।' 

प्रदेश सांसद नारायण आचार्य, वरिष्ठ पत्रकार मेघराज शर्मा, भन्सार विभागका उपमहानिर्देशक मनमायाँ पंगेनी लगायतले ग्रामीण भेगमा रहेर साहित्य सिर्जनामार्फत समाज परिवर्तनमा भूमिका निर्वाह गरेका व्यक्तिलाई राज्यले सम्मान गर्नुपर्ने बताए। 

साहित्यका कृष्णकला भण्डारी र रीता न्यौपानेले महाकाव्यमा उल्लेख कवितालाई लयवद्ध वाचन गरेर सुनाएका थिए। लेखक न्यौपानेले टुहुरो बनेको श्रम-साधनालाई सरकारले संरक्षण गरे आफूले नोवेल पुरस्कार पाएजस्तै हुने बताए।

कृतिमा उल्लेख विषयवस्तुबारे अध्ययन गरेर थप सुझाव दिन पाठकवर्गसँग उनले आग्रह गरे। ७० वर्षीय न्यौपानेले लेखेको महाकाव्य पाल्पाको पूर्वखोला गाउँपालिकाले प्रकाशनमा ल्याएको हो।

पछिल्लो समयमा रोजगारको लागि युवा पलायन हुनपर्ने बाध्यता लगायत विषयवस्तु समावेश भएको महाकाव्यले समाज परिवर्तनमा महत्वपूण अर्थ राख्ने भएकोले प्रकाशनमा सहयोग गरेको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए। प्रस्तुत महाकाव्यको कथावस्तु नेपालको राष्ट्रिय अखण्डता र समृद्धिका विषयमा केन्द्रित छ। यस महाकाव्यमा १५ सर्ग रहेका छन्। महाकाव्य २२७ पृष्ठ लामो रहेको छ।  

धवल पुस्तकालयका अध्यक्ष युवराज ज्ञवालीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले सञ्चालन गरेको थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.