|
फाइल तस्विर

अर्घाखाँची : नेपालको पर्यटकीय गन्तव्यको केन्द्र लुम्बिनीमा संघीयतापछिको पत्रकारिता विषयमा समाचार महोत्सवको आयोजना गरी सम्पादक र पत्रकारहरूबीच बृहत छलफल हुने भएको छ।

लुम्बिनी प्रेस क्लबको आयोजनामा आगामी मंसिर १ गतेदेखि ३ गतेसम्म चल्ने 'लुम्बिनी समाचार महोत्सव' (न्यूज फेस्टिभल) मा देशका छापा, रेडियो, टिभी र अनलाइन मिडियाका सम्पादक तथा देशैभरबाट आउने पत्रकारबीच विभिन्न सत्रमा छलफल गर्नेगरी तयारी गरेको प्रेस क्लबका अध्यक्ष तथा लुम्बिनी न्यूज फेस्टिभल मूल आयोजक समितिका संयोजक दिपेश पछाईंले जानकारी दिए।

कार्यक्रममा देशका स्थापित वरिष्ठ सम्पादक र पत्रकार गरी ३०० जनाको सहभागिता रहनेछ। कार्यक्रममा देशभरबाट प्रकाशित पत्रिका पनि प्रदर्शनीका लागि राखिने बताइएको छ।

लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसर र नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा लुम्बिनीमा हुने तीनदिने न्यूज फेस्टिभलले नेपाली पत्रकारिता जगतमा नयाँ आयाम थपिने विश्वास लिइएको छ। कार्यक्रममा मोफसलको समग्र पत्रकारिता, संघीयतामा प्रेसको संरचना, पर्यटन प्रवर्द्धनमा पत्रकारको भूमिका, समाचारका विषय, लेखन र साहित्य, कलाको विषयमा छलफल आयोजकले जनाएको छ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, पूर्वअध्यक्षहरू किशोर नेपाल, विष्णु निष्ठुरी, शिव गाउँले, प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठ, राससका अध्यक्ष हरिहर अधिकारी, रघु मैनाली, मोहन मैनाली र सात प्रदेशका पत्रकार महासंघका अध्यक्षलगायत उपस्थिति रहने निश्चित भएको आयोजकले जनाएको छ।

यसैगरी, दोस्रो दिन बिहान मायादेवी मन्दिर अगाडि ध्यानगुरुमार्फत ध्यान हुनेछ। त्यसलगत्तै ‘पत्रकारिताः चुनौती र भविष्यको बाटो’ भन्ने विषयमा समूहगत छलफल हुनेछ। सोही दिन ‘संघीयतामा रेडियो’ विषयमा छलफल हुने कार्यक्रम तय भएको आयोजकले जनाएको छ।

त्यसपछि सहभागीहरुलाई बुद्धको अष्टधातु रहेको रामग्राम नवलपरासी भ्रमण गराउने कार्यक्रम रहेको छ। रामग्रामको कार्यक्रम नेपाल पत्रकार महासंघ नवलपरासीले संयोजन गर्ने भएको बताइएको छ। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको उपस्थितिमा अर्को सत्र सम्पन्न हुनेछ। उक्त सत्रपश्चात ‘संघीयतामा समावेशी सञ्चार’ विषयमा छलफल हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.