ठेकेदारको पोस्टर टाँसेर विरोधमा उत्रिए स्थानीय

|

दोलखा : केही दिनअघि भक्तपुरको नगरकोट सडकको काम ठेकेदार कम्पनीले समयमै नसकाएको विरोधमा स्थानीय प्रतिरोधमा उत्रिए। उनीहरूको विरोध गर्दा सडक बन्द चक्का जाम, तोडफोड केही गरेनन्। विरोधको नयाँ शैली अपनाए।

चुनावको नेताले भोट माग्न आफ्नो प्रचार गर्नका लागि टाँगिने पोस्टरजस्तै शैली अपनाए। र, आसपासको ठाउँठाउँमा राखेका ठेकेदार शारदाप्रसाद अधिकारीको तस्बिर टाँसेर विरोध जनाए।

भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्म स्थानीयले उनैको फोटोले  रंगाए। स्थानीयले माथि कुकुर, बाँदरलगायत जनावरका तस्विर राखेर तल ठेकेदार अधिकारीको फोटो राखिएका पोस्टरले भक्तपुर नगरकोट सडकका पोलपोल र सवारी साधनमा पनि टासेर गुडाए। सो विरोधको शैली सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो।

यस्तै, शैली शनिबार दोलखाका स्थानीय अपनाएका छन्। सिन्धुपाल्चोक हुँदै दोलखा जाने सडकखण्ड मुडे-चरिकोटको काम समयमा नसक्ने ठेकेदारको पोस्टर टाँसेर स्थानीय विरोध जनाएका हुन्। काममा ढिलासुस्ती गरेको भन्दै उनीहरूले ठेकेदारको फोटो टासेर विरोध सुरु गरेका हुन्।

सर्वसाधारणले सडक निर्माण नगरेकाले व्यापक सास्ती खेप्नुपरेको भन्दै मुडे चरिकोट सडकखण्डका ठेकेदार शंकरमाली निर्माण सेवाका प्रोप्राइटर दीपक सापकोटा मै हु भन्ने पोस्टर बनाएर सडक र सवारी साधनमा टासेका छन्। विगत चार वर्षदेखि सडकको काम नगरेर अलपत्र पारेको हुनाले उनीहरूले विरोधको नयाँ शैली अपनाएका हुन्।

दुई वर्षमा निर्माण सक्ने सम्झौताअनुसार ठेक्का लिएपछि ४ वर्षमा पनि सम्पन्न नगर्दा दोलाखाका स्थानीयले पोस्टर टाँसेर विरोध गरेका हुन्। ठेकेदारको फोटोसहित टाँस गरिएको पोस्टरमा ‘कालोपत्रे सहितको बाटो कहिले बन्छ? चार वर्षसम्म बाटो किन नबनेको हो?’ जस्ता प्रश्‍न सोधेका छन्।

ठकेदार सापकोटाले २०७२ सालमा दुई वर्षमा सक्नेगरि मुडे-चरिकोट सडकखण्डको जिम्मा लिएको थिए। करिब ३० किलोमिटर सडक दुई लेन बनाएर कालोपत्रे गर्ने जिम्मा सो निर्माण कम्पनीले लिएको थियो।

सम्झौता मिति सकेर थप गरिएको सयम सकिएको करिब २ वर्ष पुग्न लाग्दासमेत सडक निर्माणको काम सकिएको छैन। अहिले सो सडकखण्डको काम करिब ६० प्रतिशत सकिएको निर्माण कम्पनीले जनाएको छ।

दैनिक हजारौँ यात्रुले यात्रा गर्ने यो सडक निर्माण नहुँदा सर्वसाधारणले व्यापक समस्या झेल्दै आएका छन्। सिन्धुपाल्चोकको लामोसाघु हुँदै जाने यो सडकखण्डको अवस्था दयनीय छ। ठेकेदार लापर्वाहीका कारणले यात्रुले कष्टकर यात्रा गर्न बाध्य भएका छन्।

भारतीय एक्जिम बैंकको करिब एक अर्ब २४ करोड ऋण सहयोगमा यो सडक निर्माण सुरु भएको थियो। खाडीचौरदेखि चरिकोटसम्मको ५५ किलोमिटर सडक विस्तार ठेकेदारकै लापर्वाहीकै कारणले निर्माण हुन सकेको छैन। सिन्धुपाल्चोकको खाडिचौरबाट सुरु हुने सो सडकखण्ड चार जिल्लाको लाइफलाइनसँग जोडिएको छ।

ठेकेदारको लापर्वाही र सम्बन्धित निकायले बेवास्ता गरेकै कारणले सो सडकखण्ड अहिलेसम्म अलपत्र बनेको हो। सडक निर्माणका लागि भत्काइएको सडक अझै उस्तै छ। सडकमा पनि जमेका ठूला ठूला खाल्टाखुल्टी छन्। जिम्मेवार निकायले बेवस्ता गर्दा सर्वाधारणले वर्षौंदेखि जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.