डोटी : डोटी जिल्लाका विद्यालय उमेरका बालबालिकामध्ये ४५ प्रतिशतमा दाँतको समस्या रहेको पाइएको छ। स्वास्थ्य कार्यालय डोटीले डोटीका तीन सामुदायिक विद्यालयमा सञ्चालन गरेको दाँत, कान र आँखाको स्क्रिनिङ शिविरमा दाँत जचाउने आठ सय ८३ बालबालिकामध्ये चार सय एकजनामा अर्थात् करीव ४५ प्रतिशतमा समस्या देखिएको स्वास्थ्य कार्यालय डोटीका कार्यक्रम संयोजक सूर्य विष्टले जानकारी दिए।
शिविर पूर्वीचौकी गाउँपालिका–४ को सरस्वती मावि, दीपायल सिलगढी नगरपालिका-८ को सुनादेवी मावि र शिखर नगरपालिका-१० सिद्धेश्वर माविमा सञ्चालन भएको विष्टले बताए। ‘चार सय एकजनाको दाँत किराले खाएको पाइयो’ विष्टले भने ‘२६ जना बालबालिकाको त दाँत झिक्नु पर्यो।’
यस्तै, कानको जाँच गराउने आठ सय ७५ जनामध्ये एक सय ७३ जनामा अर्थात् करीव २० प्रतिशतमा कानको संक्रमण देखिएको विष्टले जानकारी दिए। विष्टका अनुसार शिविरमा आँखा जचाउने आठ सय ४४ मध्ये सातजनाको दृष्टि कमजोर भएको र उनीहरूलाई निःशुल्क चस्मा वितरण गरिएको छ। दाँत, कानको सफाइ र औषधि निःशुल्क उपलब्ध गराइएको समेत विष्टले बताए।
विद्यार्थीहरूको स्वास्थ्यमा दाँत, कान र आँखाको प्राय बढी समस्या हुने गरेको गुनासो आएपछि आफूहरूले तीन सामुदायिक विद्यालयमा शिविर सञ्चालन गरेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासी बताउँछन्। ‘बालबालिकामा दाँत, कान, आँखाबारे ज्ञान पनि छैन’ मलासीले भने ‘शिविरको उद्देश्य जनचेतना अभिवृद्धि गर्नु पनि हो।’
जिल्लाका बाँकी ६ स्थानीय तहमा पनि शिविर सञ्चालन गरिने मलासीले जानकारी दिए। अन्यत्र पनि यस्तो समस्या छ भन्ने अनुमान गर्न सकिने मलासी बताउँछन्। उनले पहिलो चरणको शिविर तीन विद्यालयमा भएको र दोश्रो चरणको अभियानका लागि छिट्टै मिति तोकिने पनि जानकारी दिए। दाँत, कान र आखाँमा समस्या देखिएका बालबालिकालाई फलोअपको लागि जिल्ला अस्पताल डोटीमा आउन जानकारी गरिएको कार्यक्रम संयोजक विस्टले बताए।
स्क्रिनिङ शिविरमा हिमाल डेन्टल अस्पताल घनगढीका दन्त रोग विशेषज्ञ डा. रमेश भण्डारी, जिल्ला अस्पताल डोटीका मेडिकल अधिकृत खुर्सिद आलम खान, आँखा उपचार केन्द्र डोटीका नेत्र सहायक सुजर बल्दारलगायतका स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।