|

सिन्धुपाल्चोक : आगामी मंसिर १४ मा हुने स्थानीय तहको उपनिर्वाचनको सरगर्मी बढेको छ। प्रदेश ३ अन्तर्गत भक्तपुरमा प्रदेशसभा सदस्य १ र ६ वटा वडाध्यक्ष पदको लागि निर्वाचन हुँदैछ।

भक्तपुर निर्वाचन क्षेत्र नं. १ को (क), रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर ५, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा नम्बर ८, काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नम्बर २, काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर ३, चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १६ र खैरहनी नगरपालिका वडा नम्बर  ४ र ५ मा उपनिर्वाचन हुन लागेको हो।

सबै निर्वाचन क्षेत्रमा उम्मेदवारले मनोनयन दर्ता गराएसँगै मतदाताको घरमा मत माग्न केन्द्रित भएका छन्। मतदालाई परम्परगत शैलीको एजेण्ड लिएर मतदाता रुझाउने प्रयत्नमै केन्द्रित भएका छन् उम्मेदवार।

प्रदेश ३ मा उपनिर्वाचन हुने यी निर्वाचन क्षेत्रमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। उपनिर्वाचनमा सबै क्षेत्रमा निर्वाचन नहुने भएकाले जिल्ला तहका नेता कार्यकर्ताको नजर उपनिर्वाचन हुने क्षेत्रमा नै परेका छ।

कुन जिल्लाको कहाँ हुदैछ निर्वाचन ?

प्रदेश ३ को ६ जिल्लामा उपनिर्वाचन हुँदैछ । भक्तपुर क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा पदेश सभाको निर्वाचन हुँदैछ। अन्य पाँच जिल्लामा वडाध्यक्षको निर्वाचन हुने भएको हो।

भक्तपुरमा हुने प्रदेशसभाको निर्वाचनमा नेकपाका डिपी (देवीप्रसाद) ढकाल, कांग्रेसका कृष्णलाल भडेल, नेपाल मजदुर किसान पार्टीका निरज लवजू, कांग्रेस (विपी)का मधुसुदन न्यौपाने, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मिङमार लामा, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामप्रसाद नेपाल, समाजवादी पार्टीका सुदर्शन कुमार, नेकपा मालेका सुदर्शन लामिछान र साझा पार्टीका सुरज प्रधानको उम्मेदवारी परेको छ । यस्तै, सो क्षेत्रमा स्वतन्त्रबाट पनि उम्मेदवार परेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ।

चितवनमा ३ वटा वडामा उपनिर्वाचन हुँदैछ। भरतपुर महानगरपालिका–१६, खैरहनी नगरपालिका–४ र ५ वडामा उपनिर्वाचन हुँदैछ । भरतपुर–१६ मा नेकपाबाट भक्तराज हमाल, कांग्रेसबाट अमृतराज हमाल, समाजवादी पार्टीबाट अमरबहादुर थापा, राष्ट्रिय नागरिक पार्टीबाट धनप्रसाद घले, राप्रपा संयुक्तबाट विष्णुप्रसाद त्रिपाठी चुनावी मैदानमा उत्रिएका छन्।

खैरहनी–४ मा नेकपाबाट वेदबहादुर अधिकारी, कांग्रेसबाट देवबहादुर बस्नेत, राप्रपाबाट अनोज अधिकारी र राप्रपा संयुक्तबाट सीताराम थापाले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै, खैरहनी नगरपालिका–५ मा नेकपाबाट पुननारायण प्रधान, कांग्रेसबाट प्रतिमा कार्की बस्नेत, समाजवादी पार्टीबाट विकन महतो र राष्ट्रिय नागरिक पार्टीबाट बलराम चौधरी उम्मेदवार रहेका छन्।

यता काभ्रेको धुलिखेल नगरपालिका–२ मा चार जनाले उम्मेदवारी दिएका छन्। नेकपाबाट देवप्रसाद कोइराला, नेपाली कांग्रेसबाट दर्णबहादुर खत्री, राष्ट्रिय जनता पार्टी नेपालबाट कृष्णबहादुर तामाङ र राप्रपा संयुक्तबाट वासुदेव थापाको उम्मेदवारी उम्मेदवारी दर्ता गराएका हुन्।

यस्तै, रामेछापको उमाकुण्ड गाउँपालिका–५ मा पनि चार जनाको उम्मेदवारी परेको छ। वडाध्यक्ष पदका लागि नेकपाबाट कुलबहादुर बस्नेत, कांग्रेसबाट सावित्री सुनुवार, समाजवादी पार्टीबाट राजकुमार सुनुवार र राप्रपा संयुक्तबाट हर्कबहादुर तामाङले उम्मेदवारी दिएका हुन्।

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–८ मा पाँच पार्टीले उम्मेदवारी दर्ता गराएका छन्। वडाध्यक्षको उम्मेदवारमा नेकपाले केदारनाथ आचार्य, नेपाली कांग्रेसले अशोक तामाङ, राप्रपा संयुक्तबाट ढकबहादुर तामाङ, राप्रपा नेपाल रणबहादुर तामाङ र समाजवादी पार्टी नेपालबाट प्रकाश श्रेष्ठको उम्मेदवारी परेको छ।

काठमाडौँको दक्षिणकाली नगरपालिका–३ मा पनि वडाध्यक्ष पदको निर्वाचन हुँदैछ । त्यहाँ पनि मुख्य दुई पार्टीलगायत अन्य दलको उम्मेदवारी परेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.