|
फाइल फोटो

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकी युवा नेत्री तथा सांसद रामकुमारी झाँक्रीले भारतले सीमा मिचेको विषयमा सरकारले कूटनीतिक पहल नगरी मन्त्रीहरूले भाषण गर्दै हिँडेकोप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।

भारतले दार्चुलाको कालापानी क्षेत्रलाई आफ्नो नक्सामा औपचारिक रूपमा समेटेको र अन्य ठाउँमा पनि सीमा मिचेको छ।

भारतले सीमा मिचेको विषयमा सरकारले फिर्ता ल्याउने पहल गरिरहेको मन्त्रीहरूले सार्वजनिक अभिव्यक्ति दिइरहेका छन्। तर, सरकारको तहमा भने कुनै उपलब्धि देख्न पाइएको छैन। परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भारतले सीमा मिचेको विषयमा विज्ञप्ति जारी गर्नेबाहेकको उल्लेख्य उपलब्धि नभएको बताउने गरेका छन्। उक्त विषयमा परराष्ट्रका अधिकारीहरू सार्वजनिक अभिव्यक्ति वा जानकारी दिन पनि मानिरहेका छैनन्।

सरकारका मन्त्रीहरूले भने सार्वजनिक मञ्चहरूमा भारतबाट जसरी भएपनि मिचिएको भूमि फिर्ता ल्याउने भन्दै भाषण गर्दै आएका छन्। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायतका मन्त्रीहरूले सीमा समस्या कूटनीतिक तवरबाट समाधान गर्नेबारे औपचारिक पहल गर्न छोडेर उक्त विषयलाई सार्वजनिक भाषणको विषय बनाइरहेका छन्। मन्त्रीहरूको यस्तो व्यवहारको नेकपाका नेताहरूले असन्तुष्टि जनाउन थालेका छन्।

प्रतिनिधिसभा सदस्य तथा युवानेत्री रामकुमारी झाँक्रीले मन्त्रीहरूको यो व्यवहारलाई लिएर असन्तुष्टि पोखेकी छन्। उनले सरकारलाई कूटनीतिक पहल गरेर सीमा समस्या सुल्झाउन सुझाव पनि दिएकी छन्।

सांसद झाँक्रीले सामाजिक संजाल फेसबुकमार्फत आफ्ना धारणा सार्वजनिक गरेकी हुन्। उनले लेखेकी छन्, ‘सीमाबारे सरकारका मन्त्रीले भाषण गर्दै हिँड्ने कि त्यो देशको राजदूतलाई बोलाएर सोध्ने? वक्तव्य निकाल्ने की? मन्त्रिपरिषदले तुरून्त आफ्नो राजदूत मार्फत ध्यानाकर्षण गराउने? कूटनीतिक पहल गर्न आफ्नो प्रतिनिधि पठाउने? वा हामी हाम्रो भूमी एक इन्च पनि मिच्न दिन्नौँ भन्ने बेतुकको भाषण दिने?’

सम्बन्धित समाचारः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.