राम्रो काम गर्दा पनि​ कम्युनिष्ट भएकैले विरोध गरेका छन्

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार राष्ट्रियता र भौगोलिक अखण्डताको पक्षमा दृढ रहेको बताएका छन्। नेकपाको भातृसंगठन राष्ट्रिय युवा संघ नेपालको एकता भेलालाई आइतवार सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। 

'पहिले राष्ट्रियताको पक्षमा सरकार अडिइदिए हुन्थ्यो भन्‍ने मृगतृष्णा थियो, अहिले दृढ सरकार छ', उनले भने, 'भौगोलिक अखण्डता र राष्ट्रिय हित संरक्षणमा दृढ सरकार छ। 

नेकपाका अध्यक्षसमेत रहेका ओलीले लामो समयपछि नेकपा महत्वपूर्ण क्षणमा रहेको दाबी गरेका छन्। 'लामो समयपछि महत्त्वपूर्ण क्षणमा हामी छौँ। देश र जनताको सेवामा समर्पित संगठन बनाउन खोजेका थियौं। पार्टी एकताबाट नयाँ उचाइमा उठाएका थियौं। त्यस सिलसिलालाई अन्तिम रूप दिन एकता टुंग्याइएको हो', उनले भने, 'युवाहरूलाई एक ठाउँमा ल्याउने कार्यक्रम हो यो। नेपाल कम्युनिस्ट पार्टीसँग आबद्ध भएकाले यो सफल हुनेछ।' 

'हामी भारतलाई हाम्रो जमिनबाट सेना फिर्ता लैजानुस् भन्छौ। हामी हाम्रो जमिनमा हाम्रो सेना राख्छौँ भन्छौ', उनले भने, 'हामी विश्व शान्तिमा लागेका छौँ। शान्ति सेनामा हाम्रा सैनिक पठाएर। अरुको रक्षा गर्न सक्नेले आफ्नो पनि सक्छ।'

प्रधानमन्त्री ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमिबाट पछि हट्नुको विकल्प नरहेको बताए । 'सीमा समस्या अहिले भर्खरै भएको होइन, अघिल्लो शताब्दीमा भएको हो, मिचिएको हो', उनले भने, 'केहीले अहिले भर्खरै भएको हो कि झैं कुरा उठाइरहेका छन्, त्यसो होइन।'

सीमा मिचिएको मुद्दामा भइरहेको आन्दोलनबारे आफु जानकार रहेको ओलीले बताए । 'सीमाको विषयमा केहीले आन्दोलन गरिरहेका छन्। युवा-विद्यार्थी सडकमा उत्रिएका छन्', उनले थपे, 'राजनीतिक नाममा केही उछृंखल गतिविधि पनि देखिए। त्यो ठीक होइन, केहीले अतिरिक्त हिरो देखिन, अतिरिक्त देशभक्त देखिने प्रयास गरे। त्यो ठीक होइन।' 

प्रम ओलीले उछृङ्खलताले समस्या समाधान नहुने तर्क गरे। उनले नेपाली भूमिमा बसेका भारतीय सेना फिर्ता पठाउनु समस्या समाधान भएको उल्लेख गरे। 

'हामी भारतलाई हाम्रो जमिनबाट सेना फिर्ता लैजानुस् भन्छौ। हामी हाम्रो जमिनमा हाम्रो सेना राख्छौँ भन्छौ', उनले भने, 'हामी विश्व शान्तिमा लागेका छौँ। शान्ति सेनामा हाम्रा सैनिक पठाएर। अरुको रक्षा गर्न सक्नेले आफ्नो पनि सक्छ।'

अहिलेको सरकार भारतसँग सम्वाद गर्न नडराएको उनको तर्क थियो। 'अहिलेको सरकार संवाद गर्न नसक्ने होइन। इतिहासले देखाइसकेको छ। सरकारले संवादको माध्यमबाट सीमा समस्या समाधान गर्छ', ओलीले अगाडि थपे, 'कतिपयले नक्सा सच्याउन भनेका छन्, तर त्यो समाधान होइन। मिचिएको भूमि फिर्ता लिने कुरा हो। नक्सा त प्रेसमा छापे भइहाल्यो, हामी हाम्रो भूमि फिर्ता लिन्छौं। सीमाको मुद्दामा सबै एकताबद्ध भएकोमा खुसी व्यक्त गर्न चाहन्छु।'

'नेपालमा अहिले सरकारको विरोध दुई प्रकारको विरोध भइरहेको छ। वैचारिक पूर्वाग्रह (कम्युनिष्ट सरकार छ त्यसैले) राखेर पनि विरोध हुँदैछ', उनले भने, 'राम्रो काम गर्दा कम्युनिस्टको भएकैले विरोध गर्नुपर्छ भन्‍नेहरू छन्। यो विरोध सत्यमा र तथ्यमा आधारित छैन। वैचारिक विरोध सत्य र तथ्यमा हुनुपर्छ।' 

ओलीले लामो समयको संक्रमणकाल अन्त्य भएको पनि उल्लेख गरे। 'हामीले देशको अवस्था थाहा पाउन जरुरी छ। हामी धेरै महत्त्वपूर्ण संक्रमणकाल टुंग्याएर यहाँ आइपुगेका छौं', उनले भने, 'केही पहिले गोलीबारी भयो, मान्छे मारामार भयो। आन्दोलन र नारा जुलुस हुन्थे। अहिले छैन। लोकतन्त्र चाहियो भनिन्थ्यो, नारा लाग्थ्यो, अहिले लोकतन्त्र छ।'

लोकतन्त्र आएपछि पनि केही मानिसले स्वतन्त्रताको नाममा उछृंखल गतिविधि गरिरहेको उनको भनाइ थियो। 'कोही-कोहीले त्यो स्वतन्त्रता गलत प्रयोग गर्दा उछृंखलता हुन्छ कि भन्‍ने लागिरहेको छ', उनले भने, 'हिजो जन्मसिद्ध शासक मान्‍नुपर्ने पाखण्डी व्यवस्था थियो। अहिले सरकार मन नपरे जनताले अर्को चुन्‍न पाउने व्यवस्था छ।'

हिजोका दिनमा आर्थिक जर्जरता रहेको उनले उल्लेख गरे। 'हिजो आर्थिक जर्जरता थियो, आज उकासिएको छ। हिजो देश अन्तर्राष्ट्रिय मञ्चमा सुनिने अवस्था थिएन। आज सबैले सुन्‍न थालेका छन्', उनले थपे, 'अहिले नेपालको महत्त्व बढेको छ। कुरा सुनिन थालेको छ। परिचय र पहिचान स्पष्ट स्थापित गरेको छ। ठूला देशका प्रमुखले नेपालको भ्रमण गरेका छन्।'

ओलीले देशमा ठुलो व्यापार घाटा रहेको पनि स्मरण गरे। 'हाम्रो देश व्यपार घाटामा छ। अब उपभोग्य वस्तु उत्पादन गर्नुपर्छ। कृषि र व्यापारमा ध्यान दिनुपर्छ। युवाहरूले उत्पादनमा लाग्नुपर्छ। सकारात्मक सोच सिर्जनात्मक काममा लाग्नुपर्छ', उनले युवा संघका नेताहरुलाई निर्देशन दिँदै भने, 'कामको संस्कृति बढाउनुपर्ने हुन्छ। कामलाई माया गर्ने कामको खोजीमा लाग्नुपर्छ। हामीभित्र सहज आम्दानी गर्ने कुरा घुसेको छ। लगानी बिनाको आम्दानीमा हामी भिज्नु हुदैन। युवाहरू जनजागरण जगाउन लाग्नुपर्छ।'  

ओलीले सरकारको अहिले विरोधका नाम विरोध भइरहेको पनि बताए। 'नेपालमा अहिले सरकारको विरोध दुई प्रकारको विरोध भइरहेको छ। वैचारिक पूर्वाग्रह (कम्युनिष्ट सरकार छ त्यसैले) राखेर पनि विरोध हुँदैछ', उनले भने, 'राम्रो काम गर्दा कम्युनिस्टको भएकैले विरोध गर्नुपर्छ भन्‍नेहरू छन्। यो विरोध सत्यमा र तथ्यमा आधारित छैन। वैचारिक विरोध सत्य र तथ्यमा हुनुपर्छ।' 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.