|

अमेरिकाको दक्षिण भागमा पर्ने क्यालिफोर्निया राज्यमा शनिबार बिहान भएको गोलीकाण्डमा परी पाँच जनाको मृत्यु भएको छ।

मृत्यु भएका मध्ये तीनजना बालबालिकासमेत रहेका स्थानीय स्रोतले जानकारी दिएको छ। हत्या गर्ने व्यक्तिको पनि मृत्यु भएको विश्वास गरिएको सो स्रोतले जनाएको छ।

स्थानीय एक पत्रिकाले प्याराडाइज हिलमा उक्त घटना भएको लेखेको छ। उत्तरी अमेरिका र मेसिक्कोको सीमा क्षेत्रदेखि ३५ किलोमिटर टाढा रहेको ठाउँमा घटना भएको जनाइएको छ।

स्थानीय समयानुसार शनिबार विहान ६.४९ मा घटनाका बारेमा प्रहरीलाई पहिलो फोन आएको प्रहरी स्रोतले जनाएको छ। मृत्यु भएका मध्ये एक जना तीन वर्षे बालक, एक जना २९ वर्षीया महिला र ३१ वर्षीय एक पुरुषको घटनास्थलमै मृत्यु भएको थियो।

अर्का पाँच वर्षीय र नौ वर्षीय दुई बालकको अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। गोली लागी घाइते भएका अर्का ११ वर्षीय एक बालकको भने अहिले अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

घटनास्थलमा प्रहरीले एउटा बन्दुक भेटिएको बताएको छ। घटना किन र के कारणले भयो भन्ने बारेमा केही थाहा पाउन नसकिएको प्रहरीको भनाई छ। प्रहरी अधिकारीहरूले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको जनाएका छन्।

उसअघि क्यालिफोर्निया राज्यकै एक स्कुलका १६ वर्षे छात्रले स्कुलभित्रै गोली चलाउँदा दुई विद्यार्थीको मृत्यु भएको थियो। उक्त गोलीकाण्डमा अरू तीनजना विद्यार्थी पनि घाइते भएका थिए।

साथीहरूमाथि पेस्तोल प्रहार गरेपछि आत्महत्या गर्न आफैँमाथि गोली चलाएका ती किशोरलाई प्रहरीले गम्भीर अवस्थामा गिरफ्तार गरेको थियो। सान्टा क्लारिटाको सघस माध्यमिक विद्यालयमा गोली चलेको आवाज आएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो।

विगत दुई दशकमा अमेरिकी स्कुलहरूमा भएका 'मास सुटिङ' मा ३०० भन्दा बढी विद्यार्थी र किशोर किशोरीको मृत्यु भइसकेको छ।

अमेरिकी संसदमा सर्वसाधारणलाई बन्दुक राख्न दिने कानुनमा कडाई गर्न लामो समयदेखि बहस जारी छ, तर अमेरिकाका मुख्य दुई दल रिपब्लिकन पार्टी र डेमोक्र्याटिक पार्टीबीच सहमति हुन सकेको छैन।

रिपब्लिकन पार्टीबाट प्रतिनिधित्व गर्नुहुने राष्ट्रपति डोनाल्ड ट्रम्प पनि बन्दुकमाथि धेरै कडाई गर्न नहुने पक्षमा छन्, तर डेमोक्र्याट पार्टी कडा नियमको पक्षमा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.