|
फोटो : दानबहादुर गुरुङ

चितवन : प्रहरीको नियन्त्रणमा रहेका एक सैनिक जवानको मृत्यु भएपछि अवरुद्ध पृथ्वी राजमार्ग ३ घण्टापछि खुलेको छ।

इच्छाकामना-५ मुग्लिन घर भएका सैनिक जवान २८ वर्षीय राम कँडेलको प्रहरी नियन्त्रणमै मृत्यु भएपछि स्थानीयले मध्यान्ह १२ बजेदेखि राजमार्ग अवरुद्ध पारेका थिए। 

स्थानीय, आफन्त र प्रहरीबीच घटनाबारे अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउने सहमति भएपछि राजमार्ग खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

अहिले राजमार्ग खुलेसँगै घण्टौँ जाममा रहेका सवारीसाधान गन्तव्यतर्फ लागेका छन। यहाँको अवस्था सामान्य बन्दै गएको प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता एक नारायण कोइरालाले बताए।

नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा कार्यरत कँडेललाई शनिबार इच्छाकामना मन्दिरमा लागेको मेलामा हो-हल्ला गरेको भन्दै फिस्लिङ प्रहरीले पक्राउ गरेको थियो। मदिरा पिएर होहल्ला गरिरहेका कंडेललाइ सम्झाउँदा प्रहरीमाथि नै हातपात गर्न थालेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भाग्न खोज्दा अस्थायी पोष्ट फिस्लिङको भवनको दुई तला माथिबाट खसेर घाइते भएको अवस्थामा फेला परेका थिए। घाइते उनलाई भरतपुरतर्फ उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको कोइरालाले बताए। उनको शव अहिले भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।

सामान्य विवादपछि प्रहरी नियन्त्रणमा पुगेका कँडेलको रहस्यमय ढंगबाट मृत्यु भएको स्थानीयको आरोप रहेको छ। आक्रोशित स्थानीयले प्रहरी पोष्टमा ढुंगामुडासमेत गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.