कृषिमा लगानीको वातावरण बनेको दाबी

|

विराटनगर : कृषि व्यवसाय प्रवर्द्धनका क्षेत्रमा लगानी वृद्धि गर्न सरकार, निजी तथा सहकारी क्षेत्रको सहकार्यको आवश्यक रहेको उद्योगीहरूले बताएका छन्। प्रदेश-१ को हिलेमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश-१ विराटनगरको आयोजना तथा धनकुटा उद्योग वाणिज्य संघको सहआयोजनामा आयोजित कार्यक्रममा उद्योगीले यस्तो बताएका हुन्।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहोराले प्रदेश-१ आर्थिक समृद्धिका लागि छरपस्ट कार्यक्रमभन्दा तुलनात्मक लाभका क्षेत्र पहिचान गरि कृषिको व्यावसायीकरण र विशिष्टीकरण गर्नु पर्नेमा जोड दिए। उनले पूर्वाधारको विकास गरि गाँउलाई शहरसँग जोड्नु पर्ने, पर्याप्त अध्ययन अनुसन्धान गरि अर्ग्यानिक उत्पादन, बजारको खोजी गर्नु पर्ने, कृषि उपजको प्रशोधन, प्याकेजिङ र ब्राण्डिङमार्फत मूल्य अभिवृद्धि र बजार विस्तार गर्नु पर्नेमा जोड दिए। उनले शीतभण्डार, वेयरहाउस, मण्डी, अक्सन हाउस तथा निर्यात गृह जस्ता बजारका लागि चाहिने आवश्यक पूर्वाधार निर्माण र सञ्चालनमा सार्वजनिक तथा नीजि क्षेत्रले लगानीमा सहकार्य गर्नु पर्ने बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश-१ का उपाध्यक्ष लिलम बस्नेतले उच्च मूल्य सम्भावनाका रैथाने बालीको व्यावसायिक प्रवर्द्धन, कृषि क्षेत्रमा सुलभ वित्तीय पहुँच एवं सेवाको सुनिश्चता र निजी क्षेत्रको लगानीमैत्री वातावरणका लागि सरकारले आवश्यक पहल लिनुपर्ने बताए। प्रदेशसभा सदस्यसमेत रहेका बस्नेतले प्रदेशसभाले भर्खरै सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्रधिकरणसम्बन्धी ऐन पास गरेको बताउँदै अब सबैले सहकार्य र साझेदारी गर्ने उपर्युक्त समय आएको दाबी गरे।

यसैगरी, नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) का टिमलिडर जिबि बञ्जाराले मुनाफामुलक, साना किसानहरूलाई लाभ पुग्ने र सार्वजनिक निजी सहकारी क्षेत्रले सहलगानी गर्ने क्षेत्र पहिल्याई अघि बढ्नु पर्ने बताए। सहभागीहरुले अलैँचीमा देखिएको रोगका कारण अलैँची किसानलाई ठूलो मार परेको, पर्याप्त पहल र प्राथमिकता नदिइएको, बैंक तथा वित्तीय संस्थाहरूले कृषि क्षेत्रमा कर्जा प्रवाह गर्न आलटाल गरेको, निर्यात प्रवर्द्धन गर्न वेयरहाउस र अक्सन सुविधा नभएको, अनुदानको सदुपयोगका लागि पर्याप्त ध्यान नदिएको, किसानका लागि बजार सुनिश्चितता नभएको जस्ता समस्या राखेका थिए। पूर्वी पहाड अलैँची, अदुवा, चिया, ताजा तरकारी, सुन्तला, कागती, मसलाबाली, दूध, बंगुरपालन, बाख्रापालन, माछा, एभोकाडो, कफी, किविफल, जडिबुटी, रुद्राक्ष, रैथाने बाली कृषि पर्यटनलगायतका कृषि बाली र कृषि उद्योगहरूमा लगानी फलदायी हुनेमा सहभगीको जोड थियो।

कार्यक्रममा अर्थशास्त्री  सहप्राध्यापक डा. अर्जुन कुमार बरालले प्रदेशमा कृषिको वर्तमान अवस्था र लगानीका विविध क्षेत्रका बारेमा अध्ययन प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमा प्रदेशका विभिन्न जिल्लामा रहेका तुलनात्मक लाभ र उच्च सम्भावनाका बाली र क्षेत्रमा कृषिको यान्त्रिकीकरण, प्रविधि विकास, ठूला व्यासायिक कृषि फर्म, प्रशोधन उद्योग स्थापना, वित्तीय सुविधा, कृषि विमा, कृषि सामग्री, मल तथा दाना उद्योग, शीत भण्डार, वेयरहाउस, अक्सन केन्द्र, मण्डी, खाद्य तथा विषादी परीक्षण प्रयोगशाला, कृषि भूमिको चक्लाबन्दी, करार खेती, भूमि बैंक, कृषि सूचना प्रणालीलगायतका क्षेत्रमा लगानी उपयुक्त देखिएको उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.