|

काठमाडौं : थाइल्याण्डकी पोर्नतिप बुरानाप्रसेर्तुक महिलातर्फ र भियतनामका काव सुओङ्ग फाम पुरुषतर्फ योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेञ्ज २०१९ को उपाधि जित्न सफल भएका छन्। 

२५ हजार डलर पुरस्कार राशि रहेको प्रतियोगितामा नेपाली खेलाडीहरु दोस्रो दिननै पराजित भएका थिए।

आइतबार सम्पन्न फाइनलमा प्रतियोगितामा महिलातर्फ पहिलो स्थान प्राप्त पोर्नतिपले कोरियाकी गा युन पार्कलाई २१–१६, २१–१४ को जित निकाल्दै उपाधि जितिन्। त्यस्तै, यस्तै पुरुषतर्फ प्रतियोगितामा छैटौं वरियता पाएका भियतनामका फामले आठौं स्थान प्राप्त थाइल्याण्डका अदुलराच नामकुललाई २४–२२, ९–२१, २१–१९ ले पन्छाउँदै उपाधि उचाले।

विजयी पुरुष तथा महिला एकलतर्फ विजेताले नगद १८७५ युएस डलर र उपविजेताले ९५० डलरसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे। यस्तै तेस्रोले ३६२.५० डलर, प्रमाणपत्र र मेडल प्राप्त गरे। 

महिला युगलतर्फ अष्ट्रेलियाका सेताना मापासा र ग्रोन्या मरभिल्ले उपाधि उचाले। प्रतियोगितामा पहिलो वरियता प्राप्त ष्ट्रेलियन जोडीले फाइनलमा चौथो स्थानका मनिषा के. र रुतापर्ना पान्डाको जोडीलाई २१–१०, १८–२१ र २१–११ ले पराजित गरे।

यस्तै, पुरुष युगल तर्फ आत्री मनु र रेड्डी बि. सुमिथको जोडीले भारतकै एम.आर. अर्जुन र ध्रुव कपिलाको जोडीलाई २१–१९, २१–१५ ले पन्छाउँदै उपाधि उचाले। मिश्रित युगलतर्फ थाइल्याण्डका सुपार्क जोमखो र सुपिसारा पाउसाम्प्रानको जोडीले कोरियाका ना सुङ्ग सिउङ्ग र किम मिन जीको जोडीलाई पराजित गर्दै उपाधि हात पारे। थाइ जोडीले कोरियन जोडीलाई २१–१८, २१–१६ ले पराजित गरेका थिए।

विजयी पुरुष तथा महिला जोडी र मिश्रित जोडीले नगद १ हजार ९७५ डलर, उपविजेताले ९५० डलर, तेस्रोले ३५० डलर प्राप्त गरे। 

विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल, सदस्य एकेन्द्र कुँवर, नेपाल लन टेनिस संघकी अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिकी उपाध्यक्ष ज्योती राणालगायतले पुरस्कार वितरण गरेका थिए।

पाँच दिनसम्म चलेको प्रतियोगितामा २१ राष्ट्रका १४९ खेलाडीको सहभागिता रहेको थियो। पहिलो पटक नेपालले आयोजना गरेको च्यालेञ्जको यो ठूलो प्रतियोगिताका रुपमा रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.