|

सल्यान : जिल्लामा एकजना जनप्रतिनिधिले राजीनामा दिएर शिक्षक पेशामा संलग्न भएका छन्। सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेशकुमार बुढामगर वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षक भएका हुन्।

विसं २०७४ को स्थानीयतहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित बुढामगरले शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको खुला कोटाअन्तर्गत मुस्ताङबाट नाम निकालेका हुन्। तत्कालीन नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार देवेन्द्र रोका र बुढामगरले ३२१ समान मत प्राप्त गरेपछि गोलाप्रथाद्वारा बुढामगर निर्वाचित भएका थिए।

शिक्षक सेवा आयोगले लिएको सबै परीक्षा उत्तीर्ण भएपछि उनी वडाध्यक्ष पद त्यागेर मुस्ताङमा रहेर सेवा गर्ने निष्कर्षमा पुगेका हुन्। 'वडाध्यक्षमा न त अधिकार देखियो न सुविधा नै, जनताको लागि केही गर्न नसकिने भएपछि पद ओगटेर मात्र के काम भनेर शिक्षण पेशा रोजेँ', बुढामगरले भने।

आगामी दिनमा राजनीतिमा नफर्किने सोचेका बुढामगरले भने, 'अब विद्यार्थीलाई आफूसँगको ज्ञान सिकाउँछु, शैक्षिक गुणस्तर सुधारका लागि सेवा गर्न चाहन्छु', बुढामगरले भने। उनले गत बुधबार गाउँपालिकामा आएर राजीनामा दिएका थिए।

सोही दिन गाउँ कार्यपालिकाको बैठक भएकाले सोही बैठकबाट बुढामगरको राजीनामा स्वीकृत गर्दै ज्येष्ठ वडासदस्य वीरबहादुर खड्कालाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले जानकारी दिए।      

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.