|

सर्लाही : सडकको धुलोका कारण सर्लाहीका किसानलाई तरकारी उब्जाउनै समस्या भएको छ। सडक छेउछाउ खेत भएका किसानले सडकबाट उडेर तरकारीमा छपक्कै ढाक्ने धुलो पखाल्न दैनिक पानी छिट्ने गरेका छन्।

धुलोका कारण मिहिनेतअनुसार तरकारी फलाउन नपाएको ईश्वरपुर नगरपालिका–१३, का किसान जगरनाथ महतोले गुनासो गरे। उनले १० कठ्ठा जमिनमा तरकारी उत्पादन गर्दै आइरकेको बताए। बाँके–संग्रामपुर सडककै छेउमा खेत रहेको महतोले धुलो पखाल्न दैनिक मोटरबाट पानी छिट्ने गरेका छन्।

त्यस्तै हरिवन ३ का स्थानीय पदम आलेका अनुसार धुलोका कारण खाना खाने समयमा झ्याल ढोका बन्द गरेर खाना खानुपर्ने बाध्यता रहेको छ। उनका अनुसार करेसामा समेत तरकारी उब्जाएर खान नपाएको आलेले गुनासो गरे।

जीर्ण सडक दायाँबायाँ खेत भएका जिल्लाका अन्य किसानले पनि महतो र आलेको जस्तै समस्या झेल्दै आएका छन्। पूर्व–पश्चिम हुलाकी सडक, बाँके–सङ्ग्रामपुर, सलेमपुर–हीरापुर लगायतका सडक छेउछाउ खेत भएका किसानले धुलोकै कारण अहिले कुनै पनि बाली राम्रोसँग उब्जाउन पाएका छैनन्।

कृषि ज्ञान केन्द्र मलंगवाका प्रमुख देवानन्द राय यादवले किसानबाट यस्तो गुनासो आफूहरु समक्ष पनि आउने गरेको बताए। उनले धुलोले बाली राम्रोसँग सप्रिन नपाउँदा कृषि उत्पादनमै प्रभाव परिरहेको बताए। जिल्लामा अहिले अधिकांश सडक धूलाम्मे भएर पर–परसम्म धूलो उड्दा तरकारी, तोरीलगायतका हिउँदे बालीमा प्रभाव पारेको कृषि ज्ञान केन्द्रका प्रमुख यादवले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.