|

अछाम : सरकारद्वारा प्रतिबन्धित  नेपाल कम्युनिष्ट पार्टीका अछाम जिल्ला सेक्रेटरी भरत मल्ललाई पक्राउ गर्न कैलाली जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। कैलालीको धनगढीमा भएको बम काण्डमा संलग्न भएको आरोपमा कैलाली जिल्ला अदालतले कात्तिक १४ गते ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो।

पक्राउ पुर्जी बझाङको केदारस्युँ गाउँपालिका-४ बाझस्थित मल्लको घरमा आइतबार टाँसिएको छ।

गएको साउन २ गते साँझ धनगढीमा भएको शक्तिशाली बम विस्फोटमा संलग्न भई सांगठनिक अपराध गरेको आरोप मल्ललाई लगाइएको छ। पक्राउ पुर्जीमा भनिएको छ, ‘बाटाको म्यादबाहेक ३५ दिनभित्र आफैँ वा पक्राउ पुर्जीबमोजिम पक्राउ भई यस अदालतमा हाजिर हुन आउनुभएमा तपाईको व्यहोरासमेत बुझी कानुनअनुसार कारबाही हुनेछ।’

पक्राउ पुर्जी घरमा टाँस गरेको भोलिपल्ट सोमबार थाहा खबरको टेलिफोन सम्पर्कमा आएका मल्लले आफूमाथि झुठा मुद्धा बनाइएको बताएका छन्। उनले भने, ‘धनगढी घटनाको बेला म जेलमा थिएँ, चैत्रमा जेल गएको मान्छे ४ महिनापछि जेलमुक्त भएको थिएँ।’

हाल नेकपा अछामको सेक्रेटरीको भूमिकामा रहेका मल्लले वर्तमान सरकारले विभिन्न खालमा झुठा मुद्धा लगायर क्रान्तिलाई रोक्ने दुस्साहस गर्न खोजेको आरोप लगाए। उनले थपे, ‘बरु विप्लवहरूले क्रान्तिलाई धोका दिन सक्छन् भरत मल्लले क्रान्ति गरेरै छाड्छ, यस्ता मुद्धाले विचलित हुनेछैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.