|

दाङ:  मंसिर १४ गते हुन लागेको उपनिर्वाचन नजिकिँदै गर्दा गाउँ-गाउँमा चुनावी माहोल बढ्न थालेको छ। दाङ क्षेत्र नं. ३ (ख) मा हुन गइरहेको निर्वाचनमा आ-आफ्नो पक्षमा मत माग्‍न उम्मेदवारलाई भ्याई नभ्याई छ।

उपनिर्वाचनमा १२ दलका उम्मेदवार र २ जना स्वतन्त्र गरी १४ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन्। चुनावी मैदानमा उत्रिएका उम्मेदवारले दाङलाई प्रदेशको राजधानी बनाउनेदेखि पश्चिम दाङको विकास गर्ने भन्दै चुनावी नारा बनाएका छन्। यस पटक विशेष गरी (नेकपा) र नेपाली कांग्रेसका बीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।

२०७४ सालमा भएको निर्वाचनमा प्रदेश सभाको लागि स्वर्गीय उत्तरकुमार वली र संघीयतर्फ हिराचन्द्र केसी तत्कालीन नेकपा एमालेबाट विजयी भएका थिए।

चासोका साथ हेरिएको पश्चिम दाङको उप निर्वाचनमा (नेकपा) ले स्वर्गीय वलीकी श्रीमती बिमला वलीलाई उम्मेदवार बनाएको छ। त्यसैगरी नेपाली कांग्रेसले पुराना, त्यागी, विभिन्न समयमा जेल जीवन बिताएका नेता केशव आचार्यलाई उम्मेदवार बनाएपछि निकै चासोका साथ हेरिएको छ। 

(नेकपा) की उम्मेदवार बिमलाले आफूले नै जित्ने दाबी गरिन्। उनले आफ्ना स्वर्गीय श्रीमान वलीले पश्चिम जनताका लागि धेरै काम गरेको बाँकी उनको सपना पूरा गर्नका लागि आफूलाई नै जनताले साथ दिने भन्दै जित निश्चित भएको बताइन्। 

उनले दाङको पश्चिम क्षेत्रमा शिक्षा, स्वास्थ्य, यातायात, कृषि, सञ्चार जस्ता कुराको पहुँच पुग्‍न नसकेको र विकास क्षेत्रमा पछि परेकोले पनि यस क्षेत्रको समग्र विकासको लागि आफू निरन्तर लाग्ने उनले बताइन्। त्यस्तै कांग्रेसको पक्षमा सबै तह र तप्काका नेता कार्यकर्ताहरू एक ढिक्का भएर चुनावी मैदानमा होमिएका छन्।

यस पटकको निर्वाचनमा कांग्रेसको विजय निश्चित भएको दावी छ। उनले आफूलाई जिताए दाङलाई प्रदेशको राजधानी बनाउने महत्वपूर्ण भूमिका खेल्ने नेपाली कांग्रेसका उम्मेदवार आचार्यले बताए। यस्तै नेपाली कांग्रेसका उम्मेदवारले मात्र नभई प्रदेशको राजधानीको लागि समाजवादी पार्टी र राप्रपा संयुक्तले पनि राजधानीको लागि पहल गर्ने बताए। 

समाजवादी उम्मेदवार डिल्लीराज डाँगीले पनि आफूलाई चुनावमा जिताए पश्चिम दाङको विकास गर्ने र प्रदेशको राजधानी बनाउन पहल गर्ने बताए। त्यसैगरी राप्रपा संयुक्तका छोटिलाल थारुले पनि दाङमा राजधानी बनाउन पहल गर्ने बताए।

जिल्लाको २ स्थानमा हुने उपनिर्वाचनका लागि ४२ मतदान केन्द्र र ३४ वटा निर्वाचनस्थल छन्। ती मध्ये ६ वटा स्थल सुरक्षाका दृष्टिले अति संवेदनशील, २६ वटा संवेदनशील र २ वटा सामान्य रहेको जिल्ला सुरक्षा समितिक संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए। भूगोल, सुरक्षा र दूरीका दृष्टिले ६ वटा निर्वाचनस्थल अति संवेदनशील मानिएको उनले बताए।

दाङमा क्षेत्र नं ३ (ख) मा प्रदेशसभा सदस्य र घोराही उपमहानगरपालिका १६ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ। जसअन्तर्गत क्षेत्र न ३ (ख) मा ३२ मतदानस्थल र घोराही उपमहानगरपालिका १६ मा दुई निर्वाचनस्थल रहेका छन्। 

दुई उपनिर्वाचन हुने थानमा ७३ हजार १७२ जना मतदाताहरू रहेका छन्। जस मध्ये क्षेत्र न ३ (ख)मा ६८ हजार ७१९ जना र घोराही उपमहानगरपालिका १६ मा ४ हजार ४५३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए। 

२०७४ सालको निर्वाचनमा स्वर्गीय वलीले नेपाली कांग्रेसका उम्मेदवार बुद्धिराम भण्डारीलाई ६ हजार ४३४ मतले हराएका थिए। स्व. वलीले २३ हजार ९७० मल ल्याएका थिए भने भण्डारीले १७ हजार ५३६ मत ल्याएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.