|

दार्चुला : नेपाली भूमि लिपुलेकसम्म पुग्न भारतले सडक निर्माण गर्ने कार्यलाई तीव्रता दिएको छ। दार्चुला सदरमुकामको सीमावर्ती बजार धारचुलाबाट उत्तरतिर लिपुलेक पुग्ने करिब ८५ किलोमिटर सडक निर्माण कार्यलाई भारतले सन् २०२० सम्म पूरा गर्ने लक्ष्य लिएको छ।

सीमा सडक संगठन (बिआरओ) ले निर्माण गर्ने जिम्मा लिएको उक्त सडक सन् २०१४ मै पूरा हुनुपर्ने भए पनि कडा चट्टानी भूभागका कारण २७ किलोमिटर क्षेत्रमा सडक बन्न सकेको छैन।

भारत सरकारले प्राथमिकतामा राखेको उक्त सडकको भारततिरको भूभाग मात्रै सडक बन्न नसकेको हो भने कालापानी क्षेत्रमा १० किलोमिटर (नाबिढाङसम्म) सडक निर्माण गरिसकेको छ।  नाबिढाङबाट ९ किलोमिटर उत्तरतिर लिपुपाससम्म सडक निर्माण गर्ने कार्य जारी राखेको छ।

भारतीय क्षेत्र छियालेकदेखि कालापानीसम्म (करिब ३९ किलोमिटर) भारतले सडक निर्माण गरी नियमित गाडीमा गस्तीसमेत गर्ने गरेको छ।

नदी किनारामा भारतले बनाउँदै गरेको सडक।

भारतीय क्षेत्रमा धारचुलाबाट उत्तरतिर महाकाली नदी किनारै किनार ३८ किलोमिटर (गर्बाधारभन्दा उत्तरतिर) सम्म सडक निर्माण गरेको छ भने सो क्षेत्रबाट करिब २७ किलोमिटर (छियालेकसम्म) सडक निर्माण कार्य जारी राखेको छ।

यो क्षेत्रको बीचमा पर्ने मालपा, लमारी क्षेत्रमा बीचबीचमा सडक निर्माण गर्ने कार्य जारी राखेकोले २७ किलोमिटरमध्ये पनि आधाभन्दा बढी भूभागमा सडक निर्माण भइसकेको र केही चट्टानी भूभागमा मात्रै सडक बन्न बाँकी रहेको छ।

नेपालको सडक ४० किलोमिटर मात्रै

भारतले आफ्नो भूमि हुँदै लिपुलेकसम्मको सडक निर्माण कार्यलाई तीव्रता दिइरहँदा नेपालतिर चीनसँग जोड्ने सीमा सडक ४० किलोमिटरमै खुम्चिएको छ।

आर्थिक वर्ष २०६४/०६५ देखि निर्माण सुरु गरिएको दार्चुला तिंकर सडकमा हालसम्म आइपुग्दा १ अर्ब ३३ करोड खर्च गरेर ४० किलोमिटर मात्रै ट्रयाक खोल्न सकेको छ।

यद्यपि दुई वर्ष अगाडिबाट महाकाली करिडोरअन्तर्गत डडेल्धुरा, बैतडी र दार्चुलाको दक्षिणी क्षेत्रमा पनि यो कार्यक्रमअन्तर्गत सडक निर्माण गर्ने काम भई रहेको दार्चुला तिंकर सडक योजनाका सूचना अधिकृत इन्जिनियर दिनेश रैखोलाले जानकारी दिए।

‘४० किलोमिटर त सुन्सेरासम्म मात्रै हो, बैतडी, डडेल्धुरा र दार्चुलाको दक्षिणतिर निर्माण भएको सडकको ट्रयाक जोड्ने हो भने अहिलेसम्म ६० किलोमिटरभन्दा बढी सडक निर्माण भएको छ’ सूचना अधिकारी रैखोलाले भने।

फोटोको बायाँतिर देखिने सडक भारतको छियालेकबाट गर्बाङसम्मको सडक।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.