नेपाल पहिलो पटक सशक्त रुपमा प्रस्तुत भएको दाबी

|

काठमाडौं : कयौँ वर्षदेखि नेपाली भूमि कालापानीमा राखिएका भारतीय सेनाबारे पहिलो पटक नेपालका प्रधानमन्त्रीले बोलेपछि भारतका मिडियाले गहिरो चासो दिएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार राष्ट्रिय युवा संघको एक कार्यक्रममा कालापानीमा अतिक्रमण गरेर बसेका भारतीय सेना तत्काल हट्नुपर्ने र एक इन्च पनि नेपाली भूमि मिच्न नदिइने बताएका थिए। त्यसअघि प्रधानमन्त्री ओली यस बिषयमा खासै बोलेका थिएनन् ।

नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नयाँ नक्सामा राखेपछि नेपालमा भारत विरोधी आन्दोलन चर्किँदै गएको छ। यसैबेला प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममा सीमा मिचिएकोबारे कडा अभिव्यक्ति दिएका थिए। यसबेला भारतले देखाएको यो व्यबहार गलत भएको र सरकारले दह्रो टेकोस भन्ने राजनीतिक दलहरु बुद्धिजिबी र सडकबाट समेत आवाज उठिरहेको छ ।

यसैबीच ओलीले आन्दोलनमा लागेका युवाहरुको भेलामा प्रधानमन्त्री ओलीले कालापानीबाट भारतीय सैनिक फिर्ता लैजान भनेपछि भारतीय मिडियाले पनि उक्त विषयलाई प्रमुख प्राथमिकता दिएर सोमबार समाचार छापेका छन्। भारतका चर्चित अंग्रेजी र हिन्दी पत्रिका तथा टेलिभिजनमा अनलाइन संस्करणमा प्रधानमन्त्रीको यो अभिव्यक्ति प्रमुख समाचार बनेको छ। केही दैनिक पत्रिकाले पनि यसलाई प्रमुखताका साथ समाचार बनाएर छापेका छन्। 

ओलीको यो भनाइलाई भारतीय टेलिभिजनहरुले आइतवारदेखि नैं विशेष प्राथमिकता दिएर प्रशारण गरेका थिए। कालापानीबारे बोल्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार भारतसँग सम्वाद गर्न नडराएको बताएका थिए। 

'अहिलेको सरकार संवाद गर्न नसक्ने होइन। इतिहासले देखाइसकेको छ। सरकारले संवादको माध्यमबाट सीमा समस्या समाधान गर्छ', ओलीले भनेका थिए, 'कतिपयले नक्सा सच्याउन भनेका छन्, तर त्यो समाधान होइन। मिचिएको भूमि फिर्ता लिने कुरा हो। नक्सा त प्रेसमा छापे भइहाल्यो। यो सरकारले आफ्नो भूमि एक इञ्च मिच्न दिँदैन। नेपालीलाई अरूको जमिन पनि चाहिँदैन, हामी हाम्रो भूमि फिर्ता लिन्छौं।'

भारतले मिचेको भूमिबारेमा प्रधानमन्त्रीको हैसियतमा पहिलो पटक कडा अभिव्यक्तिसहित अडान लिएपछि भारतीय सञ्चारमाध्यमको ध्यान नेपालतर्फ तानिएको छ। कतिपय भारतीय सञ्चारमाध्यमले नेपालका प्रधानमन्त्रीको भनाइको समाचारको उल्टो अर्थ लाग्ने गरीसमेत प्रकाशित गरेका छन्। 

जम्मु-कश्मीरको विशेषाधिकार खोसेपछि त्यहाँबाट लद्दाखलाई टुक्राएर अलग्गै राज्य बनाउने क्रममा भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरिएपछि विरोधमा आन्दोलन चर्किरहेको छ। 

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर भारतको चर्चित समाचार टेलिभिजन आजतकको अनलाइन संस्करणले 'कालापानी पर नेपाल PM ने दिखाए भारत को तेवर- एक इंच जमीन भी नहीं देंगे', शीर्षकको समाचार छापेको छ। जसमा नेपालमा भारतको नक्सालाई लिएर भइरहेको विरोध प्रदर्शनकाबीच ओलीले रवाफ देखाउँदै कडा अभिव्यक्ति दिएको उल्लेख छ। 

'भारतको नयाँ मानचित्रलाई लिएर जारी विरोध-प्रदर्शनकाबीच प्रधानमन्त्री केपी ओलीले आइतवार आफ्नो प्रतिक्रिया दिएका हुन्', आजतकले लेखेको छ, 'उनले नेपाल, भारत र तिब्बतको बीचको त्रिवेणीमा अवस्थित कालापानी क्षेत्र नेपालको भूभाग भएकाले त्यहाँबाट भारतले तत्काल आफ्नो सेना हटाउनुपर्छ भनेका छन्।'

त्यस्तै अर्को चर्चित समाचार अनलाइन बिबिसी हिन्दीले पनि 'भारत से कालापानी विवाद पर नेपाली पीएम ओली बोले- 'एक इंच भी ज़मीन नहीं मिलेगी' शीर्षकमा समाचार छापेको छ। 

केपी ओलीले कालापानी नेपालकै भूगोल भएको समाचार बिबिसी हिन्दीले छापेको हो। उसले नेपालका प्रधानमन्त्रीले भारतले जारी गरेको नक्साबारेमा पहिलो पटक औपचारिक प्रतिक्रिया दिएको भन्दै समाचार प्रकाशित गरेको छ। केपी ओलीको भनाइलाई लिएर भारतीय पक्षले कुनै प्रतिक्रिया नदिएको पनि उसले जनाएको छ। 

यस्तै भारतको प्रतिष्ठित अंग्रेजी दैनिक इन्डियन एक्प्रेसले ‘नक्सा विवाद : नेपाली प्रधानमन्त्रीले दाबी गरे कालापानी क्षेत्र, भारतलाई फिर्ता जान भने’ शीर्षकको समाचार प्रकाशित गरेको छ। उसले आफ्नो समाचारमा भारतको नयाँ नक्सापछि उत्पन्‍न विवादबारेमा पहिलो पटक प्रधानमन्त्री ओलीको सार्वजनिक अभिव्यक्ति आएको उल्लेख गरेको छ। 

भारतको अर्को चर्चित हिन्दी दैनिक पञ्‍जाव केशरीले पनि कालापानी अतिक्रमणबारे प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई प्रमुखका साथ समाचार बनाएको छ। ‘कालापिानीको लेकर भारतको आंखें दिखा रहा नेपाल, एः ओली ने किया बडा ऐलान’ शीर्षकमा उसले विस्तृतमा समाचार प्रकाशित गरेको छ।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई न्यूजट्रयाक लाइभ अनलाइनले नेपालका प्रधानमन्त्रीको ठूलो अभिव्यक्ति भन्दै समाचार बनाएको छ। 'कालापानी विवादबारे नेपालका प्रधानमन्त्रीको कडा अभिव्यक्ति, भने : हामी हाम्रो एक इन्च पनि भूमि मिच्‍न दिँदैनौँ', न्यूजट्रयाक लाइभ अनलाइनले यो शीर्षकमा समाचार प्रकाशित गरेको छ। 

त्यसैगरि भारतकै स्क्रोल अनलाइनले पनि कालापानी विवादबारे नेपालका प्रधानमन्त्रीको अभिव्यक्तिलाई प्राथमिकता दिएर समाचार बनाएको छ। 'नक्साले विवाद : नेपालका कालापानीबाट तत्काल सेना हटाउन नेपालका प्रधानमन्त्रीको आग्रह', शीर्षकको समाचार स्क्रोलमा छापिएको छ। स्क्रोलले भारतले नेपाली भूमि समेटेर बनाएको नक्सा सच्याउने बताएको जनाउँदै भारतबाट मिचिएको नेपाली भूमि पनि फिर्ता ल्याउने उल्लेख गरेको समाचारमा लेखेको छ। 

अर्को चर्चित अनलाइन द विकले प्रधानमन्त्रीको भनाइलाई प्राथमिकताका साथ छापेको छ। 'नेपालका प्रधानमन्त्रीले कालापानी आफ्नो भूभाग भएको बताउँदै एक इन्च पनि भूमि मिच्न नदिने', शीर्षकसहितको समाचार द विकमा छापिएको छ। समाचारमा भारतले अक्टोबर ३१ मा जारी भएको भारतीय नक्सालाई लिएर नेपालका प्रमले पहिलो पटक कडा अभिव्यक्ति दिएको उल्लेख छ। 

तर भारतीय पक्षले भने आफ्नो भूमि मिचिएको नेपालको दाबीलाई अस्वीकार गर्दै आएको छ। भारतको केन्द्रीय सर्भे विभागले आफ्नो तर्फबाट जारी नक्सामा जम्मु-कश्मिर र लद्दाखको भूभागबाहेक अन्त कतै परिवर्तन नगरिएको जिकिर गरेको छ। 

उसको दाबी अनुसार नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा पनि भारतमै पर्दछन्। तर भारतीय कदमलाई लिएर नेपालमा आन्दोलन झन् चर्किँदै गएको छ। भारतले कालापानी क्षेत्रमा ३७ हजार हेक्टरसहित देशका २३ वटा जिल्लामा ६० हजार हेक्टर नेपाली भूमि अतिक्रमण गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.