कर्नाटका टस्कर्स फेरि पराजित

|

आवुधाबी : युएईमा जारी टी–१० लिग क्रिकेटमा नेपालका लेगस्पिनर सन्दीप लामिछाने अत्यधिक महँगो सावित भएका छन् । सोमबार उनले कुनै पनि विकेट हात पार्न सकेनन्। 

कर्नाटका टस्कर्सका महत्वपूर्ण स्पिनर सन्दीपले डेक्कन ग्ल्याडिएटर्सविरुद्धको खेलमा दुई ओभरमा ३५ रन दिए ।

इनिङको चौथो ओभरमा बलिङ गर्न सन्दीप आउँदा डेक्कन ग्ल्याडिएटर्सको तीन विकेट गुमिसकेको थियो। क्रिजमा ब्याटिङ गर्दैथिए केरन पोलार्ड र एन्टन डेभ्किच। चौथो ओभरमा सन्दीपले सुन्दर ढंगले बलिङ गर्दै केवल पाँच रन खर्च गरे। 

तर, छैठौँ ओभरमा पुनः बलिङमा आएका सन्दीपलाई पोलार्डले रामधुलाई नै गरे । एउटै ओभरमा सन्दीपबाट पोलार्डले ३० रन बटुले। छैटौँ ओभरको लगातार चार बलमा पोलार्डले छक्का प्रहार गरे । पाँचौँ बलमा चौका हिर्काए । अन्तिम बलमा पोलार्डले दुई रन लिए । अन्तर्राष्ट्रिय क्रिकेटका विस्फोटक ब्याट्सम्यान पोलार्डसामु सन्दीप निरीह देखिए ।

सन्दीपको टिम पराजित

खेलमा सन्दीपको टिम कर्नाटका टस्कर्स पराजित भयो। पोलार्डकै ब्याटिङको मद्धतमा डेक्कन ग्ल्याडिएटर्सले कर्नाटकालाई पाँच विकेटको हार चखाएको हो । एक सय ११ रनको लक्ष्य पछ्याएको डेक्कन ग्ल्याडिएटर्सले ९ बल बाँकी छँदै खेल आफ्नो पक्षमा पार्‍यो। 

डेक्कन ग्ल्याडिएटर्सको जितमा केरन पोलार्डले २२ बलमा अविजित ४५ रन बनाए। भानुका राजापाक्षले २७, मोहम्मद सहजादले १३, डेन लरेन्सले ११ र एन्टन डेभ्किचले ५ रन जोड्दा कप्तान सेन वाटसन भने शून्यमै पभेलियन फर्किए। कर्नाटका टस्कर्सका तर्फबाट सहपुर जादरानले दुई तथा मादिन्दा पुष्पकुमारा, प्याट ब्रोन र अहमद राजाले समान एक-एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्न मैदान उत्रिएको कर्नाटका टस्कर्सले निर्धारित १० ओभरमा तीन विकेट गुमाउँदै एक सय १० रनको योगफल तयार गर्यो।

उसका लागि ओपनरद्वय एभिन लेविसले २३ र जोनसन चाल्र्सले ३५ रन जोडे। रोस ह्वाइटली १३ रन बनाएर आउट हुँदा कप्तान हासिम आम्ला ३२ रनमा अविजित रहे। डेक्कन ग्ल्याडिएटर्सका तर्फबाट जाहिर खान, मिगाएल प्रिटोरियस र फवद अहमदले समान एक-एक विकेट हात पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.