कुवेतलाई मौसम र मैदानको पिरलो

|

काठमाडौं : सन् २०२० मा कतारमा हुने विश्कपका लागि एसियाली छनोटअन्र्तगत आफ्नो पाँचौ खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी कुवेतको सामना गर्दैछ। 

भुटानको चाङलिमिथाङ रंगशालामा हुने खेलमा नेपाली टोली अंक खोस्ने प्रयासका साथ मैदान उत्रँदैछ। यसअघि कुवेतमा भएको पहिलो लेगमा नेपाली टोली ७–० गोल अन्तरको फराकिलो हार व्यहोरेको थियो। 

घरेलु मैदानमा खेल आयोजना हुनुपर्नेमा दशरथ रंगशालालाई एएफसीले मापदण्ड अनुसार नभएको भनेपछि न्युट्रल भेन्यु भुटानमा प्रतिस्पर्धा हुन लागेको हो। 

भिआईपी प्यारापिट, घाँसे मैदान, प्लेयर ड्रेसिङ रुम लगायतका निर्माण समयमै नसक्दा नेपालले सन् २०११ पछि घरेलु मैदानमा विश्वकप छनौटको खेल गुमायो।  

आजको खेल मौसम र मैदानको हिसाबले नेपाली टिमलाई फाइदा पुर्‍याउने देखिन्छ। दशरथ रंगशालामा खेल नहुने भएपछि अखिल नेपाल फुटबल संघ एन्फाले भुटान प्रस्ताव गरेको थियो। 

तर कुवेत खाडी राष्ट्रमा नै दोश्रो लेगको लागी एएफसीमा लविङ गरेपनि अन्ततः एन्फाको प्रस्ताव नै स्विकृत भएपछि चाङलिमिथाङ रंगशालामा खेल हुने भयो। 

रणनीतिमा असफल भएपछि भुटानको चिसो मौसममा अभ्यस्त हुनका लागि नेपाल भन्दा एक दिन अगाडि अर्थात् गत शुक्रबार नै प्लेन चार्टर गरेर कुवेती जम्बो टोली त्यहाँ पुगेको थियो। 

मुख्य खेलाडी नहुँदा चिन्ता

विमल घर्ती मगरसहित चार खेलाडी एन्फाको कारवाहीमा पर्दा नेपाली टिमलाई केही असर पर्ने अनुमान गरिएको छ।

राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहँदा अनुशासनहीन कार्य गरेको भन्दै विमलसहित मिडफिल्डर अन्जन बिष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई एन्फाले भुटान लगेको छैन। 

अन्जन तिनै खेलाडी हुन्, जसले सन २०१४ को  विश्वकप छनौटमा इस्ट टिमोरविरुद्ध जित निकालेयताको पहिलो जितका योगदान दिएका थिए। यसअघि चाइनिज ताइपेईलाई पराजित गर्दा उनले दुवै गोल गरेका थिए। 

खेलअघि सोमबार भएको प्री–म्याच कन्फ्रेन्समा नेपालका प्रशिक्षक योहान कालिन अंक खोस्न आतुर भएको प्रतिक्रिया दिए पनि खुशी थिएनन्। 

टिमका मुख्य ४ खेलाडीबिना भुटान पुगेको टोलीमा आजको खेलमा केही कमी देखिने सम्भावनाबाट उनी ग्रसित थिए। तर म्याच कन्फ्रेन्समा जितका लागि तयार भएको प्रतिक्रिया दिए। 

‘यो हाम्रो लागि महत्वपूर्ण खेल हो। हामी कडा प्रतिस्पर्धा गर्न तयार छौँ। यहाँ खेल्ने खेलाडीहरूमा ध्यान केन्द्रित गर्नु आवश्यक छ। मेरा खेलाडीहरू राम्रो मुडमा कडा प्रतिस्पर्धाका लागी तयार छन्,’ प्रेस कन्फ्रेन्समा बोल्दै कालिनले भने, ‘हामी अन्य खेलहरू जस्तै राम्रो प्रदर्शनका लागि तयार छौँ। कुवेतले क्वालिफायरमा राम्रो प्रदर्शन गरिरहेको छ, तर हामी विश्वस्त छौं।’ 

भुटानको मौसमले कुवेत चिन्तित

कुवेतका प्रशिक्षक थमर इनाड भुटानी मौसमबाट चिन्तित छन्। गर्मीमा अभ्यस्त कुवेती खेलाडीहरुका लागि चाङ्लिमिथाङमा असहज हुने उनको अनुमान छ। 

‘वातावरण नेपालको पक्षमा छ किन भने नेपालमा पनि यस्तै मौसम हुन्छ। हामी आशावादी छौं कि हामी राम्रो खेल खेल्छौं र तीन अंक लिने छौ। हामी नेपाललाई हल्का लिने छैनौं, नेपाल कमजोर टोली होइन’, उनले भनेका छन्।

‘हामी तीन अंकका लागि खेलेर समूहमा दोस्रो स्थानमा रहने छौँ। हाम्रा खेलाडीहरू कृत्रिम टर्फमा यति परिचित छैनन् तर मेरा खेलाडीमध्ये केहीले टर्फमा खेल्ने अनुभव गरेका छन’, थमरले थपे। 

नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ। छनोटको समूह बी मा नेपाल समूहको चौथो स्थानमा छ। छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ। कुवेत ७ अंक जोडेर दोस्रो स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.