संचालकमा ग्लोबलबाट पाँच र जनताबाट दुईजना
संचालकमा ग्लोबलबाट पाँच र जनताबाट दुईजना
काठमाडौं : ग्लोबल आइएमई बैंकको १३ औँ साधारणसभाले जनता बैंक नेपाललाई ग्लोबल आइएमई बैंकमा गाभ्ने प्रस्ताव पारित गरेको छ।
साधारण सभाबाट पारित भएसँगै दुई बैक मर्जरका लागि नेपाल राष्ट्र बैकसमक्ष अन्तिम स्वीकृति प्राप्त गरी ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबारका लागि अन्तिम तयारी भइरहेको छ।
एकीकृत कारोबार हुँदा बैंकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप २ खर्ब १० अर्ब भन्दा बढी र कुल कर्जा लगानी करिब २ खर्ब रुपैयाँ पुग्नेछ। त्यस्तै बैंकको शाखा सञ्जाल करिब ३ सय र सेवा केन्द्रको संख्या ८५० भन्दा बढी हुनेछ।
बैंकमा ३ हजार २५० भन्दा बढी कर्मचारीहरु रहने छन्। यी दुई बैंकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमति गरेका थिए भने कार्तिक ८ गते मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
मर्जरपछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बैंक, अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति गरिएको छ। बैंकको कार्यकारी प्रमुख अधिकृत परशुरामकुँवर क्षेत्री र वरिष्ठ नायव कार्यकारी प्रमुख अधिकृत महेश शर्मा ढकाल हुने सहमति भएको छ।
बैंकको साधारणसभाले अधिकृत पुँजी १६ अर्बलाई वृद्धि गरी २५ अर्ब रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव पारित गरेको छ।बैंकको प्रस्तावित २५.५ प्रतिशत लाभांश पारित भएको छ।
यस बैंकको आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीले १२.७५ प्रतिशत बोनस सेयर र १२.७५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने संचालक समितिको प्रस्तावलाई पारित गरेको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।