|

भद्रपुर : गाई–गोरु भारतहुँदै बंगलादेश तस्करी गर्ने झापा जिल्ला प्रमुख नाकामा पर्छ। भारतको उत्तर प्रदेशबाट सिराहा जिल्लाका नाकाहरूबाट नेपाल भित्राइने गाई–गोरु त्यहाँबाट झापा जिल्ला ल्याइन्छ। अनि झापाबाट गाई–गोरु भारततर्फ तस्करी हुन्छ। गाई–गोरु तस्करी नियन्त्रणमा झापा प्रहरी आक्रमण बनेपछि सिराहाका एक गाई–गोरु व्यापारीले प्रहरीविरुद्ध अदालतमा रिट हालेका छन्।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनिलाई विपक्षी बनाएर सिराहा बरफहवा नगरपालिका–६ बस्ने २८ वर्षीय नीरजकुमार सिंहले उच्च अदालत इलाममा रिट निवेदन दर्ता गराएका छन्। सोही रिटको आधारमा उच्च अदालतले १५ दिनभित्र अदालतमा हाजिर हुन झापाका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली र इलाका प्रहरी कार्यालय अनारमनिका प्रहरी नायव उपरीक्षक (डिएसपी) मोहन थापालाई जानकारी गराएको छ।

अदालतमा रिट निवेदन दर्ता गर्ने नीरजकुमार सिंहका बुबा शम्भु सिंह सिराहा ठुला गाईगोरु व्यापारी हुन्। छोरा नीरजलाई अगाडि बढाएर व्यापारी शम्भुले झापाका गाई–गोरु व्यापारी जीवन कार्की र जय चुडालसँग मिलेर अदालतमा रिट हालेको प्रहरी स्रोतको दाबी छ। एसपी र डिएसपी साबविरुद्ध अदालतमा रिट हालेका उनीहरूको मनसाय झापाबाट खुलेआम गाई–गोरु तस्करी गर्न पाउन भन्ने रहेको एक प्रहरी अधिकृतले थाहाकर्मीलाई बताए।

‘एसपी साबले झापामा गाई–गोरु नियन्त्रण तथा रोकथाम अभियानमा आक्रमण बनेपछि उनीहरूको व्यवसायी चौपट हुन बनेको छ,' प्रहरी अधिकृत भन्छन्– ‘झापाका ठुला गाईगोरु व्यवसायीले फेरि पहिला जस्तै तस्करी गर्न पाउन भनी प्रहरी कर्मचारीलाई नै विपक्ष बनाएर उनीहरूले योजना तरिकाले अदालतमा रिट हालेको हो।’ 

वैधानिक रूपमा देशभर पशु चौपायाको व्यापार गर्दै आएको दाबी गर्दै व्यापारी सिंहले गैरकानुनी रूपमा प्रहरीले चौपायामा रोक लगाएको उल्लेख छ। झापा प्रहरीले तस्करी पूर्ण रूपमा अन्त्य गर्ने अडान लिएपछि सिराहाबाट झापा भित्रिने गाई–गोरु फाटफुट मात्र आयात हुँदैछ।

यता, प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले तस्करी रोक्नु गैरकानुनी नभएको स्पष्ट पारेका छन्। झापाको भूमिबाट गाई–गोरु तस्करी रोक्न कसैसँग सम्झौता नहुने उनले प्रस्टाए। ‘धेरै कुरा जान्दैनौँ, यत्ति हो, झापामा गाई–गोरु तस्करी रोकिन्छ,' उनले भने।

व्यापारी सिंहले झापाका व्यापारी चुडाल र कार्कीसँग मिलेर दमक, दामुना, कुञ्जीवारि, सूरुङा, खुदुनाबारी, चकचकी, घैलाडुब्बा, भद्रपुर, ज्यामिरगढी, काँकडभिट्टा, नकलबन्दा लगायतका नाकाबाट गाई-गोरु गैरकानुनी रूपमा भारत निकासी गर्दै आइरहेको छ। झापामा प्रहरीले १५ दिनअघि सिराहाबाट ५० वटा गोरु लोड गरिएको ना. ६ख ३८४१ र ना ५ ख ५९४६ नम्बरको फुलबडी ट्रक सुरुङगाबाट झापा गाउँपालिकाको टाघनडुब्बा नाका हुँदै भारतको डिगलबैक नाकातर्फ लैजाने प्रहरीले नियन्त्रणमा लिएर भन्सार बुझाएको थियो।

त्यसैगरी, प्रहरीले झापा गाउँपालिका ४ र २ पर्ने सीमा नाकाबाट मे. १ज १७६१ र प्र. १–०१–००१ ज–३३८५ नम्बरको पिकअप भ्यानमा लोड गरिएको १२ वटा गाई–बाछी सोही गाउँपालिकाका हुँदै भारतको डिगलबैक नाकातर्फ लैजाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएको ट्रक र पिकअपसहित गाई–गोरु छुट्टाउने व्यापारी सिंह, चुडाल र कार्कीले जिल्लादेखि केन्द्रसम्म शक्ति लगाएपनि नछुटेपछि उनीहरू अदालतको ढोकासम्म पुगेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.