|

काठमाडौं : चाइना इस्टिच्युट अफ फुदान विश्वविद्यालयका निर्देशक तथा अन्तर्राष्ट्रिय मामिला विज्ञ प्राध्यापक झाङ वेइवेइले चीनले नेपालसँग विश्वास र सहयोगको अटुट सम्बन्ध कायम राख्न चाहेको बताए। प्राध्यापक झाङ वेइवेइले आफ्नो नेतृत्वमा आएको ६ सदस्यीय टोलीले आइतबार प्रेस काउन्सिल नेपालको सभाकक्षमा पत्रकारहरूसँग छलफल गरेका क्रममा यस्तो बताएका हुन्।

चीनले उपलब्ध गराउने ऋण र सहायता कमजोर देशहरुका लागि गलपासो हुन्छ भनेर हल्ला गर्नेहरूले यसले दिने उपलब्धि देखेर भविष्यमा आफैँ पश्चाताप गर्नु पर्ने दिन आउने पनि उनले दावी गरे। मूलत चीनले नेपालको पूर्वाधार कृषि पर्यटन र उद्योगमा चाहेको जानकारी दिए।

लिम्पियाधुरा कालापानीमा नेपालको सिमाना भारतले मिचेको सन्दर्भमा पत्रकारले सोधेको एक प्रश्नको जवाफ दिँदै उनले  छिमेकमा रहेका  भुटानबाहेक सबै मुलुकसँग भारतको सीमा समस्या रहेको बताए।

चीनसँग सिमाना जोडिएका १४ छिमेकी राष्ट्र मध्ये कसैसँग समश्या नरहेको दावी गर्दै उनले नेपाली भूभागमात्र होइन लद्दाखको नक्सामा चीन र पाकिस्तानको भूभागसमेत भारतले आफ्नोमा देखाएको बताए। भारतको सो नक्साका बारेमा चीनले आधिकारिक रूपमा अस्वीकार गरिसकेको समेत जानकारी दिए।

प्राध्यापक वेइवेइले दक्षिण एसियाको विकासका लागि चीनले अघि सारेको चीन नेपाल भारत त्रिदेशीय आर्थिक करिडोरको योजनामा भारतले आनाकानी गरेको बताउँदै उनले  यसले आर्थिक साझेदारीमा जोड्ने भएकोले कसैले शंका गर्नु नपर्ने अवस्था रहेको दावी गरे।

 ‘भारतको सबै छिमेकीसँग समस्या देखियो । हामीले चीन नेपाल भारत आर्थिक कोरिडोरको प्रस्ताव ल्यायौँ तर ऊ त्यसबाट हच्कियो,' उनले भने, 'बिआरआइमा पनि ऊ हच्किएको छ। सीमा समस्याहरू शान्तिपूर्ण ढंगले समाधान हुनुपर्छ, यसमा चीनको फरक अडान हुँदैन’

नेपाल भारत सीमा समस्याबारे चीनको विदेश मन्त्रालयले आफ्नो धारणा राखिसकेको भन्दै उनीहरूले लिपुलेकको बारेमा पनि चीन आवश्यकता परेमा छलफल गर्न तयार रहेको बताए। उनले नेपालको सार्वभौमिकतालाई भारतले सम्मान गर्नुपर्ने बताए।

चाइनिज एकेडेमी अफ इन्टरनेशन ट्रेड एण्ड इकोनोमिक ओअपरेशनका उपनिर्देशक झु काइहुवाले नेपाली भूमि भारतले मिचेको बारेमा चीन जानकार रहेको बताए। उनले यो समस्या दुई देशबीच वार्ताबाट समाधान होस् भन्नेमा चीन रहेको र यसबारेमा चीनको कुनै छुट्टै भनाइ नरहेको बताए। उनले नेपाल भारत र चीनले साझेदारीमा काम गर्न चीन सदातत्पर रहेको बताए।

आर्थिक मामिला तथा अन्तराष्ट्रिय व्यापार अध्ययन इन्ष्टिच्युटकि नायव निर्देशक प्राध्यापक जु चाइहुवाले राष्ट्रपति सी जिनपिङको भ्रमणले नेपाल चीन सम्बन्धमा नयाँ आयाम थपिएको र चिनियाँ पर्यटकहरू नेपालमा बढ्दै जाने बताइन्।

एक प्रश्नको उत्तर दिँदै उनले नेपालको चीनसँगको व्यापार घाटा कम गर्नका लागि कृषि र पर्यटन उद्योगको विकास हुनुपर्ने धारणा व्यक्त गरिन् र त्यसका लागि लगानीमा सहभागि हुनु परे चीन तयार हुने पनि जनाउ दिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.