|
फाइल तस्विर

विश्वभर चिनीको खपत निरन्तर बढिरहेको छ। इन्टरनेस्‍नल सुगर अर्गनाइजेशनको तथ्यांकअनुसार सन् २००१ मा विश्वभर १२३.४ मिलियन मेट्रिकटन चिनी खपत भएकोमा २०१८ मा बढेर १७२.४ मिलियन मेट्रिक टन पुगेको छ। यसअनुसार विश्वभर हरेक वर्ष प्रतिव्यक्ति २२.६ किलोग्रामको हाराहारीमा चिनी खपत हुने गरेको छ। 

सबैभन्दा धेरै चिनीको प्रयोग इजरालयलमा हुने गरेको अध्ययनले देखाएको छ। सन् २०१८ मा इजरायलमा प्रतिव्यक्ति चिनीको खपत ६० किलोग्रामभन्दा धेरै देखिएको छ। औषतमा हरेक दिन एक व्यक्तिले १६५ ग्रामभन्दा धेरै चिनी खाएको इन्टरनेस्‍नल सुगर अर्गनाइजेसनको तथ्यांकमा उल्लेख छ। 

इजरायली नेसनल काउन्सिल अफ डायबेटिजका प्रमुख एवं डायबेटिजका एक्सपर्टका रूपमा परिचित प्रोफेसर इटामा राजका अनुसार इजरायलमा औषत वयस्क मानिसले हरेक दिन ३० चम्चा बढी चिनी खान्छन्।

यद्यपि नामचिन मेडिकल जर्नल ल्यासेन्टमा ग्लोबल बर्डन अफ डिजिज २०१९ को एउटा अध्ययनले विश्वका १ सय ९५ वटा देशका स्वास्थ्य आंकडाको विश्लेषण गर्दा इजरायलमा खानपानका कारण हुने मृत्युदर सबैभन्दा कम देखिएको थियो। सबैभन्दा धेरै चिनी खाने पाँच देशमा इजरायलपछि मलेशिया, बारबाडोस, फिजी र ब्राजिल रहेको  छ।

यस्तैगरी, सबैभन्दा कम चिनीको खपत उत्तर कोरियामा हुन्छ। उत्तर कोरियामा सन् २०१८ मा प्रतिव्यक्ति ३.५ किलोग्राम चिनी खपत भएको थियो। दक्षिण कोरियामा भने यो खपत प्रतिव्यक्ति ३०.६ किलोग्राम पाइएको थियो। प्रतिव्यक्ति ३१ किलोग्राम बढी चिनीको खपत हुने गरेको अमेरिका सबैभन्दा धेरै चिनी खाने शीर्ष २० देशको सूचीमा पर्दछ। छिमेकी मुलुक भारतमा गत वर्ष २५.३९ मिलियन मेट्रिक टन चिनीको खपत भएको थियो। 

किन बढिरहेको छ चिनीको खपत?

चिनी किन धेरै खाइरहेका छौं भन्ने मुख्य प्रश्न हो। यसको एउटा मुख्य कारण परम्परागत रूपमा हाम्रो शरीरको लागि ऊर्जाको स्रोतका रूपमा चिनी सस्तो र सुलभ उपलब्ध छ। अमेरिकी फुड एन्ड एग्रिकल्चरल अर्गनाइजेशन एफएओका अनुसार भारतमा चिनी आम मानिसको प्रयोगको अत्यावश्यक अवयव र गरिवहरूका लागि ऊर्जाको सबैभन्दा सस्तो स्रोत हो। 

हालैका दशकमा भारतमा चिनीको खपत बढिरहेको छ। ६० को दशकतिर भारतमा एक वर्षमा २.६ मिलियन मेट्रिकटन चिनीको खपत हुन्थ्यो। ९० को दशकको मध्यतिर १३ मिलियन मेट्रिकटनसम्म बढ्यो। 

विश्वभरका स्वास्थ्य अधिकारीहरूका अनुसार विश्वव्यापी मोटोपनको महामारीको सबैभन्दा ठूलो जड नै चिनीको प्रयोग हो। विश्व स्वास्थ्य संगठनले सन् २०१५ मौ मानिसहरूलाई कम चिनी खान भनेको थियो। वयष्कहरू र बालबालिकाले आफ्नो कुल ऊर्जा ग्रहणमा चिनीको मात्रा १० प्रतिशतभन्दा कम गर्नुपर्ने सुझाव दिइएको थियो।

विश्व स्वास्थ्य संगठनले अझ यसमा पनि चिनीको प्रयोग हरेक दिन ५ प्रतिशत अर्थात २५ ग्राम या ६ चम्चा घटाउने हो भने अतिरिक्त फाइदा हुने बताएको थियो। ब्रिटिस हार्ट फाउन्डेशनका वरिष्ठ डाइटिसियन भिक्टोरिया टेलरका अनुसार स्वास्थ्य अधिकारीहरूले चिनी कम खान भनिरहेका तर यथार्थमा सबै उमेर र आयवर्गका मानिसहरूले धेरै चिनी खाइरहेका भन्दै चिन्ता व्यक्त गरेका छन्। 

पछिल्लो केही समय भने कैयौँ देशहरूले कर बढाएर पनि चिनीको प्रयोगलाई नियन्त्रण गर्ने प्रयास गरेका छन्। २० भन्दा धेरै देशहरूले चिनीजन्य उत्पादन विशेषगरी सफ्ट ड्रिंक्समा कर बढाएका छन्। सिंगापुर धेरै चिनीयुक्त ड्रिंक्सलाई प्रोत्साहन गर्ने विज्ञापनमा प्रतिबन्ध लगाउने पहिलो देश बनिसकेको छ। सिंगापुरमा यो प्रतिबन्ध आगामी जनवरीदेखि लागू हुनेछ।

सिंगापुरका वरिष्ठ स्वास्थ्यमन्त्री एडविन टोँगले एक कार्यक्रममा भनेका थिए, 'हाम्रो उमेर बढिरहेको छ, दीर्घकालीन रोगहरू बढिरहेको छन्, यसले स्वास्थ्यमा लाग्ने खर्च पनि बढिरहेको छ, यसलाई सम्हाल्न नसके अवस्था निक्कै बिग्रनेछ।' 

इनर्जी ड्रिंक्समा चिनीको मात्रा धेरै हुन्छ र यसमा पोषक तत्त्व पनि कम हुन्छ तर विश्वभरमा यी ड्रिंक्सको प्रयोग निक्कै भइरहेको छ। हावर्ड स्कुल अफ पब्लिक हेल्थको आंकडाअनुसार ३५५ मिलीलिटरको ओरेन्ज सोडामा ११ चम्चा चिनी हुन्छ। कैयौं अध्ययनले इनर्जी ड्रिंक्सको प्रयागले तौल बढिरहेको, यसले टाइप टू डायबेटिज, हृदयरोग र असामयिक मृत्युको खतरा बढेको देखाएको छ।

चिनीको प्रयोगमा रोकथानका लागि बेलायनमा काम गरिरहेका अनुसन्धानकर्ता र वैज्ञानिकहरूको समूह एक्शन सुगरको न्युट्रिसियानिस्ट होली ग्याबेरिएलले चिनी समस्याको मात्र एक हिस्सामा मात्र भएको बताइन्। मोटोपनको समस्यामा पर्यावरण र हाम्रो खानपानमा गड्बडीहरू मुख्य कारण हो। केही देशमा खाना र पेय पदार्थका कम्पनीहरूले नै पहल गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.