|

दोहा : १४ वर्षदेखि इराकमा अलपत्र परेकी एक नेपाली महिलाको उद्धार गरिएको छ। रूपन्देहीकी ५१ वर्षीया टीका सेनलाई एनआरएनए कुवेतले उद्धार गरेर नेपाल फर्काएको हो।

एजेन्ट मार्फत भारतको दिल्ली, दुबई हुँदै इराकको बग्दाद पुगेकी थिइन्। टीकालाई त्यहाँ हाउसमेडको रूपमा पठाइएको थियो। सुरुको २ वर्ष राम्रैसँग बिताएकी उनी त्यसपछि भने समस्यामा परेकी थिइन्।

युद्ध चलिरहेका बेला उनी बस्ने पुरै बस्ती नै युद्धरत पक्षले बमले ध्वस्त पारेको थियो। उक्त हमलामा उनी भाग्न त सफल भइन तर बस्ने मालिकका परिवार जिउँदा रहेकी रहेनन् भन्ने केही अत्तोपत्तो भएन। घर ध्वस्त हुँदा उनको राहदानी पनि गुम्यो।

त्यसपछि अर्को घरमा काम गर्न थालेकी उनी राहदानी नभएका कारण नेपाल फर्कन सकेकी थिइनन्। नेपाल फर्कन अनेकौँ कोसिस गरिरहेकी उनी एकजना कुवेतमा कार्यरत इराकी नागरिकको सम्पर्कमा आएकी थिइन्।

ती व्यक्तिले उनको समस्याबारे एनआरएनए कुवेतलाई जानकारी गराएका थिए। एनआरएनए कुवेतको लामो प्रयास पछि पिडित महिलालाई नेपाल फर्काउन सफल भएको एनआरएनए कुवेतका अध्यक्ष सुजन केसीले जानकारी दिए।

आफू कार्यरत मुलुकभन्दा पर रहेको एक अशान्त मुलुकमा १४ वर्षदेखि अलपत्र नेपाली महिलाको उद्धार गर्न सकेकोमा अध्यक्ष केसीले पनि खुसी व्यक्त गर्दै उद्धार कार्यमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.