|
कम्बल बाँड्दै वडाध्यक्ष प्रकाश पौडेल

पोखरा : उपनिर्वाचनलाई प्रभाव पार्नेगरी वडाध्यक्षले मतदातालाई कम्बल वितरण गरेको आरोप लगाउँदै नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)विरुद्ध निर्वाचन आयोगमा उजुरी हालेको छ। 

कांग्रेस कास्कीले उपनिर्वाचनलाई प्रभाव पार्ने गरी पोखरा महानगरपालिका–१५ का वडाध्यक्षले पट्नेरीको वस्तीमा कम्बल वितरण गरेको आरोप लगाएको छ। कास्की कांग्रेसले मंगलबार विज्ञप्ति जारी गरी पट्नेरीका १२ जनालाई वडाध्यक्ष प्रकाश पौडेलले कम्बल वितरण गर्दै आचार संहिता मिचेको दाबी गरेको हो। यो क्षेत्र उपनिर्वाचन हुने क्षेत्रमा पर्छ। 

वडाध्यक्ष पौडेलले गैरसरकारी संस्था थ्री एन्जेल्सले कम्बल वितरण गर्ने कार्यक्रममा सरिक भएको प्रष्टीकरण दिएका छन्। तत्कालीन एमालेबाट वडाध्यक्ष निर्वाचित पौडेलले निर्वाचन आचारसंहिता विपरीत कम्बल बाँडेको कांग्रेसको आरोप छ।

कांग्रेस कास्कीका सभापति कृष्ण केसीका अनुसार निर्वाचन क्षेत्रभित्र मतदातालाई प्रलोभनमा पार्ने काम वडा कार्यालयबाटै भएको भन्दै वडाध्यक्षलगायत त्यस कार्यमा संलग्नलाई कारबाहीको माग गर्दै उजुरी दिइएको छ। वडाध्यक्ष पौडेलको उक्त कार्य निर्वाचन आचारसंहिता २०७२ को दफा ३ को उपदफा १ (ख) विरुद्ध हुने कांग्रेसको दाबी छ। 

विज्ञप्तिमा उल्लेख छ, ‘निर्वाचनको मुखमा निर्वाचन क्षेत्रका मतदातालाई प्रलोभनमा पारी प्रभावित पार्ने मनसायले गरिएको यस प्रकारको कार्यको घोर निन्दा र भर्त्सना गर्दै यस्ता कार्य तत्काल बन्द गर्न सम्बन्धित निकायलाई सचेत गराउँदछौं।’ 

निर्वाचन आयोग कास्कीले पनि आचारसंहित उल्लंघनको उजुरी परेको जानकारी दिएको छ। जिल्ला निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीका अनुुसार घटनाको मुख्यनिर्वाचन अधिकृतले छानबिन गर्ने र आचरसंहिता उल्लंघन भए कारबाही हुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.