'विवादितलाई बिदा नगरे हेरफेर अर्थहीन'

|

काठमाडौं  : मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गर्न लागेको भन्दै सबै मन्त्रीलाई बुधबार औपचारिक कार्यक्रममा नजान निर्देशन दिए। 

सरकार बनेको ६ महिनादेखि मन्त्री हेरफेरबारे चलेको चर्चालाई पूर्णविराम दिँदै ओलीले बुधबार यसबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि जानकारी दिइसकेका छन्। 

आफ्नो ‘स्पिरिट’ अनुसार मन्त्रीहरुले काम गर्न नसकेको भन्दै असन्तुष्ट रहेका ओलीले मन्त्री हेरफेरका लागि करिब एक महिनादेखिको कोशिशलाई टुंगोमा पुर्या‍उन लागेका हुन्। 

दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि अमेरिका जानुअघि ओलीले पार्टी एकताको काम टुंगोमा पुर्याइसकेका छन्। अब करिब २ वर्षसम्म मन्त्री सम्हालेका ५ देखि १० जनालाई बिदाइ गरेर अरुलाई पालो दिने गरी उनी हेरफेरमा लागेका हुन्। 

मन्त्रीलाई तनाव 

एक वर्ष अघिदेखि चर्चामा रहेको मन्त्री हेरफेरले सबैभन्दा समस्या सिंहदरबारमै ल्याएको थियो। केही मन्त्रीहरुलाई प्रधानमन्त्रीले हटाउने चर्चा मिडियामा लामो समयदेखि चलेपछि कर्मचारीले पनि मन्त्रीहरुलाई टेर्न छाडेका थिए। 

सुरुदेखि नै प्रम ओलीले उद्योगमन्त्री मात्रिका यादव र कृषि मन्त्री चक्रपाणि खनालको काममा असन्तुष्टि जनाएको भन्दै हटाउने चर्चा चलेको थियो। ओली मन्त्रिपरिषद्का सबैभन्दा विवादित पात्र भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ यो पटक सुरक्षित रहेको दाबी स्रोतले गरेको छ ।

कृषिमन्त्री खनाल र उद्योगमन्त्री यादवको काममा पटक प्रधानमन्त्रीले पटक पटक हस्तक्षेप गरेको गुनासो गरेका थिए। मातृका यादवले त आफ्नो मन्त्रालयको काममा प्रधानमन्त्रीले हस्तक्षेप गरेकाले पदमा बस्नु र नबस्नुको कुनै अर्थ नरहेको बताउँदै आएका छन्। 

हेरफेरको चर्चा

मन्त्री हेरफेरको चर्चा चलिरहँदा खनाल र यादवले प्रधानमन्त्रीसँग बोलचाल नै हुन छाडेको बताइरहेका छन्। समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवसँग त प्रधानमन्त्रीको बोलचाल नै छैन। 

यस्तोमा मन्त्रीहरुले कार्यसम्पादनमै असर गरेको, कर्मचारीले टेर्नै छाडेको गुनासो गरेका थिए। बुधबार मन्त्री हेरफेर हुने चर्चा चले पनि श्रम मन्त्री गोकर्ण विष्ट र महिला तथा बालबालिका मन्त्री थममाया थापा बिहानै मन्त्रालय पुगेका छन्। 

मन्त्री हटाउने र नयाँ ल्याउने विषयमा नेकपाका दुई अध्यक्षबीचको लेनदेनले पनि धेरैलाई तनाव दिएको छ। एकजना अध्यक्ष प्रचण्डमाथि बुहारीसमेत रहेकी खानेपानी मन्त्री बीना मगरको कार्यसम्पादन कमजोर हुँदा पनि जोगाउन लागेको आरोप लागेको छ। 

मेलम्ची प्रकरणमा पटक पटक विवादमा मुछिएकी बीनालाई बचाउन लागेको भन्दै समाचार नै आएपछि प्रचण्डको सचिवालयले मंगलबार विज्ञप्ति नै निकालेर त्यस्तो नभएको जिकिर गरेको छ। 

अर्कातिर ओली सरकारकालाई सबैभन्दा विवादमा ल्याउने एक मन्त्री रघुवीर महासेठलाई प्रम ओलीले यो पटक पनि नहटाउने सम्भावना रहेको स्रोत बताउँछ। त्यस्तै अर्बौं लगानी रहेको सेयर बजार निरन्तर ओरालो लागेको दोष खेपिरहेका अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि ओलीले यो पटक विदाइ नगर्ने भएका छन्। 

मन्त्रालय हेरफेर

ओलीले खानेपानी मन्त्री बीना मगरको जिम्मेवारी हेरफेर तयारी गरेका छन्। त्यस्तै श्रममन्त्री गोकर्ण विष्टको पनि मन्त्रालय परिवर्तन हुन सक्ने दाबी स्रोतको छ। नहटाउने भएपछि भौतिक मन्त्री रघुवीर महासेठलाई ओलीले अर्को मन्त्रालय दिनसक्ने छन्। 

को को हट्लान् ? 

स्रोतका अनुसार यो पटक उद्योगमन्त्री मातृका यादव, महिला तथा बालबालिका मन्त्री थममाया थापा, कृषिमन्त्री चक्रपाणि खनाल तथा राज्यमन्त्रीहरु रामकुमारी चौधरी र धनबहादुर बुढा हट्ने पक्का भएको छ। 

को को आउलान् ?

लामो समयदेखि नयाँ मन्त्रीको चर्चा भइरहँदा तत्कालीन एमालेबाट लीला श्रेष्ठ र वसन्त नेम्वाङ मन्त्री हुने करिब पक्का भएको छ। त्यसैगरि गणेश ठगुन्ना र प्रेम आलेमध्ये एक मन्त्री हुन सक्नेछन्। पार्वत गुरुङ, कृष्णगोपाल श्रेष्ठ, यज्ञराज सुनुवार  र जीवनराम श्रेष्ठमध्ये एक मन्त्री हुने सम्भावना छ। 

अर्कातिर तत्कालीन माओवादीको तर्फबाट जनार्दन शर्मा, पम्फा भुसाल, प्रभु साह र रेखा शर्माको नाम नयाँ मन्त्रीका रुपमा चर्चामा छ। नेकपाले शीर्ष तहबाट कसैलाई पनि मन्त्री नबनाउने भएको छ। दोस्रो र तेस्रो तहका नेताहरुलाई नै यो पटक मन्त्री बनाउने तयारी ओलीले गरेका छन्। 

उत्साहित छैनौँ

ओलीले केही विवादित अनुहारलाई यथावत राख्ने चर्चासँगै नेकपाभित्रै असन्तुष्टि सुनिन थालेको छ। ओलीनिकट नेकपाका एकजना नेताले प्रधानमन्त्रीले आँट गरेर विवादित सबैलाई विदा गर्नुपर्ने बताए।

'अहिलेसम्मको अवस्था हेर्दा विवादित केही अनुहारप्रति प्रम कठोर हुने सम्भावना कम देखिएको छ', उनले भने, 'यदि त्यसो भयो भने मन्त्री हेरफेर अर्थहीन हुनेछ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.