नयाँ सभामुख छान्‍न नेकपालाई सजिलो

|

काठमाडौं : संघीय संसद अन्तर्गत प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे मन्त्री बन्‍न तयार भएकी छन्। 

तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार प्रकरणमा मुछिएपछि सभामुखमा दाबी गरिरहेकी उनी मन्त्री बन्‍न तयार भएकी हुन्। 

उपसभामुख भएकाले पहिलो दाबी गर्दै आएकी उनलाई सत्तारुढ नेकपाको नेतृत्व सभामुख बनाउन तयार नभएपछि मन्त्री बन्न तयार भएकी हुन्। सभामुख महराको दोष आफुले बोकेर उपसभामुख नछाड्ने अडान लिएकी उनलाई नेकपा नेतृत्वले अन्ततः मन्त्रीका लागि मनाएको हो। 

उपसभामुख तुम्बाहाम्फेले संघीय संसददेखि प्रदेश संसदसम्ममा महिलालाई उपसभामुखमा सीमित गरिएकाले आफूले सभामुख हुन पाउनुपर्ने बताएकी थिइन्।

बुधबार बिहानै सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पुगेकी उनी मध्यान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेकी छन्। स्रोतका अनुसार उनले यसबारेमा नेकपामा उच्च नेता र राष्ट्रपतिसँग पनि परामर्श गरिसकेकी छन्।

‘नेकपाले सभामुखका लागि अन्य विकल्प खोजेपछि उहाँलाई मन्त्रीमा व्यवस्थापन गर्ने भएको हो’, स्रोतले भन्यो, ‘आजै उपसभामुखबाट राजीनामा दिएर उहाँले मन्त्र    ी पदको जिम्मेवारी लिने सम्भावना छ।’

सभामुखका लागि नेकपबाट संविधासभाका अध्यक्ष सुवास नेम्बाङले पनि दाबी गरेका छन्। त्यसैगरी तत्कालीन एमाले र तत्कालीन माओवादीबाट पनि आधा दर्जन नेताले सभामुखमा दाबी गरेका छन्। 

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार अभियोग लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महरा काठमाडौं जिल्ला अदालतको आदेशमा हाल डिल्ली बजार जेलमा छन्। 

नेकपाले सभामुख आफुले राखेर राष्ट्रिय जनमोर्चालाई उपसभामुख दिने तयारी गरेको छ। मंसिर १४ गते हुने उपनिर्वाचनपछि बस्ने संसदको हिउँदे अधिवेशनले नयाँ सभामुख चयन गर्नेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.