|
प्रतीकात्मक फोटो

डडेल्धुरा : डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिकाका २ वडामा मलेरिया रोगका बिरामी भेटिएका छन्। नपरपालिको वडा नम्बर ६ र ७ बाट बिरामी भएर जचाँउन आएका व्यक्तिहरूको रगत परिक्षण गर्दा औलो भएको पुष्टि भएको साँदनी स्वास्थ्य चौकीका प्रमुख हेल्थ असिस्टेन्ट जयबहादुर धामीले जानकारी दिए।

२ हप्ताअगाडि साँदनी स्वास्थ्य चौकीमा पुगेका बिरामीहरूमा मलेरियाका लक्षण देखा परेका उनको भनाइ छ। दुई हप्ता अघिदेखि फैलिएको मलेरिया रोगबाट हालसम्म १० जना बिरामीहरू संक्रमित भइ निःशुल्क औषधि सेवन गरिसकेका छन्।

विशेष गरेर गत २ हप्ताअघि पहिलोपल्ट वडा नम्बर–६ स्थित रामपुर गाउँका एकजना स्थानीय संक्रमित भएका थिए। मलेरिया रोगको प्रकोप वडा तहमा दिनानुदिन बढ्दै गएकाले सोबारे जोगबुडा अस्पताल र जिल्लास्थित स्वास्थ्य कार्यालयमा समेत खबर गरिसकेको स्वास्थ्य चौकी प्रमुख धामीले जानकारी दिए।

पछिल्लो समयमा स्वास्थ्यकर्मीको टोलीले संक्रमण रहेको सम्भावित रामपुर, भोरकुण्डा, थालिगडा, ठूलागडालगायतका क्षेत्रमा खोजी (सर्च) गरिरहेको छ। सर्चका साथसाथै हाल स्थानीयलाई जनचेतना फैलाइरहेको स्वास्थ्य प्रमुख धामीको भनाइ छ।

औलो प्रभावित वडाहरूमा झुल वितरण र लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्कने काम केही दिनमै सुरु गरिने स्वास्थ्य कार्यालय, डडेल्धुराका भेक्टरकन्ट्रोलर सुपरभाइजर हरिप्रसाद भट्टले जानकारी दिए।

सामान्यतया औलो रोगका परजिवि भएको लामखुट्टेल टोकेको १०–१५ दिन भित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नीहरू दुख्ने, असजिलो महसुस हुनेजस्ता सामान्य लक्षणहरु देखा पर्दछन्।

निरन्तर वा दिन विराएर ज्वरो आउने, शरीरका महत्वपूर्ण भित्री अङ्गहरू फियो, कलेजो सुनिने, शरीरमा रगतको मात्रा कमी हुने तथा परजीवीको प्रकृतिअनुसार विभिन्न लक्षण तथा समस्याहरू देखिने गर्दछन्। पोथी एनोफेलेस जातिको लामखुट्टेले टोकेपछि सर्ने भएकोले लामखुट्टेको टोकाइबाट बच्न स्वास्थ्यकर्मीको सुझाव छ।

औलोबाट बच्ने उपाय

औलोको जोखिम कम गर्न झुल तथा लामखुट्टे भगाउने रसायनहरूको प्रयोग गर्नुपर्ने हुन्छ। लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्कने तथा घर वरपर पानी जमेका खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ।

राति सुत्दा सधैँ झुल प्रयोग गर्नु औलोबाट बच्ने प्रमुख उपाय हो। शरीरका खुला अंगमा लामखुट्टेबाट बच्न सकिने मलम प्रयोग गर्न सकिन्छ। स्प्रे, लिक्वड, म्याट जस्ता लामखुट्टे भगाउने औषधि प्रयोग गर्न सकिन्छ। जोखिम युक्त ठाउँको भ्रमणमा जानुअघि रोकथामका उपाय तथा औषधि प्रयोग गर्ने गरेमा औलो रोग हुनबाट जोगिन सकिन्छ।

घर–घर तथा समुदायमा औलोसम्बन्धी जनचेतना फैलाउने, औलो रोगका लक्षणबारे जानकारी दिने, शंकास्पद बिरामीले तुरुन्त परीक्षण गर्ने गरेमा औलो रोगबाट बच्न तथा अरूलाई बचाउन सकिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.